News Portal

स्मृतीमा सहिद सप्ताह फागुण १४ र नलगाड

८४२ पटक

२०५२ साल फाल्गुन १ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा घोषणा गरिएको महान् जनयुद्ध नेपाली कम्युनिष्ट आन्दोलनमा मात्र नभै नेपाली राजनीतिकमै बदलाभ ल्याउन सक्ने एक ऐतिहासिक पहल कदमी थियो, भन्ने कुरा आज प्रमाणित भई सकेको छ । त्यसैको जगमा उभिएर रगतको धारा बगाउन थालेको फागुण १४ को छोटो चर्चासंगै आफ्ना केही प्रतिबद्धताहरु जाहेर गर्न आवश्यक ठानेको छु ।

“प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गरी नयाँ जनवादी राज्य सत्ता स्थापन गर्न जनयुद्धको बाटोमा अघि बढौं ।” भन्ने मुल नाराका साथ थालनी गरिएको जनयुद्धमा बाल गोठालो हाइवाले युद्धमा खेलेको भुमिकाबाट युद्ध मोर्चामा समेल हुने मेरो ब्यक्तिगत चहाना कसैले रोक्न सकेको थिएन । म त्यही पंक्तिमा लामबद्ध भएको थिए । युद्धको आफ्नै बिशिष्ट चरित्र हुने गर्दछ । त्यहि विशिष्ट चरित्रका कारण यसले एउटा संगठनात्मक ढाँचा, एउटा विशिष्ट बिधीको सृङखला तथा एउटा बिशिष्ट प्रक्रियाको बिकास गराउदो रहेछ । त्यसैले युद्धको अनुभव आफैमा एउटा बिशिष्ट प्रकारको अनुभव हो । युद्धमा भाग लिने सवैले बिजय यात्रा पुरा नहुदासम्म आफ्ना परम्परागत आनिबानी र चालचलनलाई फेरेर युद्ध अनुकुल बनाउनै पर्ने बाध्यता हुदो रहेछ । मेरो अपरिपक्क दिमाग र चन्चलतालाई युद्ध अनुकुल बनाउने कोशिस गरिरहेको थिए ।

२०५२ साल फागुण १ गते र त्यसपछि देशैभरी भएका फौजी हमलाबाट रन्थनियको र जनताको शक्तिलाइ कमजोर ठानेको निरंकुश राजतन्त्र र त्यसको पहरेदार प्रतिक्रियावादी राज्यसत्ताका नरपिपासु, हिंसक जनवार रुपी जस्ता सिपाहीहरु मानव बस्तीमा पसेर आम नागरिकलाई पशुवत ब्यवहार गर्न थाले । नरपिपासुहरुको प्रहारको पहिलो निसाना नलगाड नगरपालिकाको त्यही खण्टाकुरासंगै जोडिएको महाँदेउ बस्ती बनेको थियो । २०५२ सालको फागुण १३ गते दिउँसो अन्दाजी ३ बजे म पनि मुलबाटोमा नरभक्षीहरु आउने बाटो देखिनेसम्म हेरेर बसेको थिए । किनकी त्यतिवेला मसंग अग्रज व्यक्तिहरु हुनुहुन्थ्यो । नरभक्षीहरु नजिकै पुगीसकेपछि सुचना दिनको लागी हामी आ–आफ्नो स्थान तिर लागेका थियौं । सवैलाई खवर भयो र उहाँहरुले स्थान परिवर्तन गरिसक्नु भएको थियो । उहाँहरु र हिंसक जथ्या अर्को स्थानमा संगै पुग्दा तत्कालिन लहँ गाबिस वडा नं. ३ का वडा अध्यक्ष मन बहादुर रावल, लडाकु दल सदस्य मन बहादुर वली, वृद्ध बुवा हिरे वली सुचना पुर्याउन पुग्नु भएका पुर्ण बहादुर बुढालाई गिरफ्तार गरेर पशुवत ब्यवहार गरिएको थियो । फागुण १४ गते अन्दाजी दिउसो १२–१ बजेको समयमा मन बहादुर रावल र मन बहादुर वलीलाई एउटै डोरीले संगै बाँधेर नलगाड नदीमा फालेर हत्या गरिएको थियो भने, हिरे वली र पुर्ण बहादुर बुढालाई अमानवीय यातना दिएपछि हिरे वलीको चरम यातनाबाट मृत्यु भएको थियो । पुर्ण बहादुर वुढा अहिलेसम्म अपाङ्ग भएर जिउदो सहिदको हकदार हुनुहुन्छ ।

तत्कालिन अबस्थामा पार्टी केन्द्रसंगको सुचना, संचार तथा कमिनिकेशनको अभाबमा हामीले मन बहादुर रावल र मन बहादुर वलीलाई जनयुद्धको प्रथम शहिदमा दर्ज गर्न सकेनौं । गोर्खा जिल्लाका ११ बर्षिय नाबालक तथा जनयुद्धका प्रथम शहिद दील बहादुर रम्तेलले बलिदान गरेको दिन हो फागुण १४ गते । फागुण १४ गते भएको बलिदान अत्यन्तै त्रासदी र दुखान्तपूर्ण थियो । फागुण १४ भन्दापछि देशैभरी दैनिक बढ्दै गएका हत्या, आतंकका श्रृङखलाले पैदा भएको आक्रोश तथा दन्किएको आगोको मुस्लोले प्रतिरोधको आह्वान गर्न क्रान्तिकारी पंक्तिमा रक्तसन्चारको भुमिका खेल्यो । केही मुठ्ठीभर ब्यक्तिहरु जिल्ला सदरमुकाम, देशका ठुला शहर र राजधानीमा बसेर राज्यकोषको दोहन गर्नुको साथै फुटाउ र राज गर, हलो अड्काउ र गोरु चुट, पानी धमिल्यायर मछा मार, भन्ने नीति लिएर गाउँका सोझा, सिधा जनतालाई उचालेर जनता–जनता बीच केही असामानजस्यता बढाउदै थिए । मुठ्ठीभर तत्वहरुको उक्त कार्यक्रमले गाउँका जनताले दुखान्तपूर्ण घटना ब्यहोर्नु परेको थियो । काहाली लाग्दो अवस्थाले जनतामा उकुसमुकुस छाएको थियो ।

२०५५ साल जेष्ठ २२ गते लबिसाको बिद्यालयमा बार्षिकोत्सव मनाई रहेका निहत्था जनतामाथी गोली बर्षाएर ९ जनाको हत्यागरी एकै चिहान बनाइएको थियो । त्यो पल सम्झिदा अहिले पनि त्यो बस्तीले आक्रोश पोखी रहन्छ । चौखा नजिकै घाँस काट्न हिडेका ३ जना गोठालाई गोलीको निशाना बनाईएको थियो । उक्त घटना यतिसम्मको कायरता ब्यक्त भयो कि ? कान नसुन्ने, मुख बोल्न नसक्ने गोरे खड्का, गोठमा बसी रहेकका वृद्ध बुवा लोता घर्ती, स्कुले नाबालक राम बहादुर चन्द, शिक्षक कर्मचारी, गर्भवती महिला लगायतको हत्यालाई हेर्दा तत्कालिन साशक कसरी प्रस्तुत थियो भन्ने कुरा स्पष्ट हुन्थ्यो ।

गाउँका निरह आमा, दिदी–बहिनीहरुका छातीमा बर्षाएका बुटको चोट, क्रुर व्यवहार र बलत्कारको पिडा भोग्न बाध्य भएका थिए । त्यतिवेला लुटपाट गर्नु, यातना, जेलनेलले सिमा नागेको थियो । गाउँका नागरिकहरुलाई बाँच्ने आशा हराएको थियो । काहाली लाग्दो यस्तो अबस्थालाई तोड्न एउटा संकल्प जरुरी बनेको थियो । तत्कालिन व्यवस्थाका बिरुद्ध व्यापक प्रतिरोध गर्न वीर योद्धाहरुले शिरमा रातो कफन बाँधेर मुक्ति या मृत्युको कसम खानै पर्ने अबस्था अनिवार्य आफै बनेको थियो । खुनी जत्थाका विरुद्ध खुनी क्याम्पमा धावा बोल्न मानव बम बनेर पट्किने अभियान रोल्पा, रुकुम लगायत देशका केही ठाउँमा शुरु भैसकेको थियो । त्यही अभियानमा सामेल बनेको थियो यो लाल बस्ती पनि । प्रतिरोधात्मक युद्धमा केही अकल्पनीय घटना हामीबाट हुनु पनि दुःखद नै थिए । नलगाडबासी वीर सपूत कमरेड जीत, राजेन्द्र, कमल रेशम, छलाङ्ग, राजन लगात ४९ जना योद्धाहरुले देशका बिभिन्न भागका युद्ध मोर्चामा मानव बम बनेर बिष्फोट हुनुको साथै खुनी जत्थाका खुनी क्याम्पलाई कब्जा गर्ने क्रममा मृत्युवरण गर्नु भएको छ । अहिलेको ब्यवस्था प्राप्त गर्न नलगाडका २८ जना वीर सपुतले दुश्मनको बर्बरताको सामना गर्दै हाँसी हाँसी बलिदान गर्नु भएको छ । पुरानो व्यवस्था परिवर्तनका लागि नलगाडबाट ७७ जना बीर शहिदहरुको रगतले रगताम्य भएको बस्तीका सयौं घाइते अपाङ्गहरुले अनेकौं पिडा भोगी रहेका छन् । कयौंको जेलनेल, यातना र बलात्कारबाट घायल भएको यस बस्ती ब्यवस्था परिवर्तनको मुख्य हिंस्सेदार हो । जिल्लाका प्रथम सहिद मन बहादुर रावल र मन बहादुर वली, तत्कालिन जनमुक्ति सेनाको उच्च पदस्त कमरेड जीत (महान् जनयुद्धका चर्चित कमाण्डर) लगायत ७७ जना र ब्यवस्था परिवर्तनका क्रममा देशै भरीबाट जीवन कुर्बानी गर्नु हुने महान् अग्रज शहिदहरु हाम्रो लागि अनन्त कालसम्म प्रेरणाका श्रोत हुनु भएको छ ।

कतिपयले अतितका घटनाक्रमलाई केवल यउटा स्मृतीको पाना ठान्दछन र हृदयमा सजाउछन् । त्यतिमात्र होइन इतिहास कोरिनु पर्छ, नयाँ उदयको लागि, सत्य र न्यायीक परिवर्तनका लागि जो नयाँ पुस्तामा हस्तान्तरण हुनु पर्छ । किन कि ? नयाँ उर्जा र परिवर्तनका लागि एउटा नयाँ थेउरी बन्न सकोस । हामीले जिउदो इतिहासलाई पछ्याउँदै हजारौ शहिदहरुको अधुरा सपना पूरा गर्ने लक्ष्यसंगै वर्तमानको क्रान्तिमय यात्रा निरन्तर अगाडी बढाउन जरुरी छ । महासमरको यात्रा जहिले पनि एक ईतिहास बन्छ । त्यसमा हाम फाल्न हामी तयार हुनु पर्छ । यतिबेला देशको अस्तित्व, स्वाभीमान, सर्वभौमिक्ता, भौगोलिक अखण्डता र जनआकाँक्षा माथी ठूलो घात हुन खोजी रहेको छ । जब उपलब्धी गुम्न थाल्छ्न त्यति बेला ब्यवस्था परिवर्तनमा महत्त्वपूर्ण योग्दान गरेका हरेक बस्ती र योद्धाहरुले परिवर्तनको नेतृत्व गर्नुको साथै मुल नेतृत्वसंगै लामबद्ध भएर हामी लाल योद्धाहरु अगाडी बढ्न जरुरी छ । यतिबेला देश घाती र जनघातीहरुलाई एकल्याउन जरुरी भईसकेको छ । आज आएर मेरो स्मृतीमा प्रेरणादायिक ती क्षण र हाँसी हाँसी मृत्युवरण गर्नु हुने अग्रज शहिदहरुले देखाएको पदमार्गहरु घुमी रहेका छन् । देश विकास, समाज रुपान्तरण र अधिकार सम्पन्न नागरिकको पक्षमा मेरो यात्रा निरन्तर जारी रहनेछ ।

(लेखकः– शर्मा नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।)

प्रतिकृया दिनुहोस्