Hamro Sanchar

परिवर्तनको रथीलाई यतिछिट्टै जनताले भुल्न सक्दैनन्

गणेश सिंह (प्रवेश) प्रकाशित : २०७८/११/२२ गते
जाजरकोट

बिगतका अनुभवहरु र बर्तमानका भोगाइहरुले भबिश्यको गोरेटो कोरिरहेको छ । हामीले धेरै परिवर्तन र विकासका कुरा नगरौं किनभने, त्यो हवाई कल्पना मात्र हुन जान्छ । यथार्त र बास्तबीकताको ज्युदो किताब स्वयं हामी हाँजिर छौं ।

सिमी, भट्ट, घ्यु आदीसंग दुने साटेर नुन बोकेको छाउलीको घरको ढोकामै आज गाडीको हर्न बज्न थालेको छ । हिजो सल्लाको चोइलो, माटोको पाला, टुक्की र लाल्टिन बाल्नेको घरमात्र होईन आज गाउँनै झकमक्क हुनेगरी बिजुली बल्न थालेको छ । हिजो उदो–उभो (झाँडापखाला) तथा सामान्य हैजाबाट गाउँलेको ज्यान जान्थ्यो, बच्चा–बच्ची, दुई जीऊ भएकी महिलाको अकालमै मृत्यु हुन्थ्यो । विभिन्न रोग बिरुद्धको खोप लगाउन पाउने अबस्था थिएन । प्राथमिक स्वाथ्य उपचारको परामर्श पाउन स्वास्थ चौकी पुग्न ३÷४ घण्टाको पैदल यात्रा गर्नै पर्दथ्यो । स्वास्थ्य चौकीमा सिटामोल नपाएर खाली हात घर फर्कनु पर्ने अबस्था थियो । आफन्त तथा प्रियजनहरुलाई कुनै रैबार (संदेश, खबर) पठाउनु परेमा कित चिठी लेख्नु पर्दथ्यो, कित मान्छे नै दौडाउनु पर्दथ्यो । ६ कक्षा देखि माथी मावि स्तरको शिक्षा पाउनलाई पिठो, गाँभा, लत्ताकपडा लगाएतका बन्दोबस्तीका सामानहरु भारेडोकोमा बोकेर खलंगामा डेरा गरी बस्नु पर्दथ्यो । क्याम्पस स्तरको शिक्षा पाउने कुरा त सम्झिने मात्रै थियो । गाउँमा १० कक्षा पास गर्नेहरुको संख्या गन्नलाई औला भाँच्नै पर्दन्थ्यो । उच्च र प्राबिधिक शिक्षा पाउने कुरा त जीउदै स्वर्गमा पुग्नु सरह थियो । एकाध गाउँमा, एकाध ब्यक्तिहरुले, त्यो पनि हुनेखाने परिवारबाट मात्रै उच्च र प्राविधिक शिक्षा पाउन सम्भब थियो ।

हिजोका दिनहरुमा भात, मासु र चिल्ला रोटी खानालाई दशै–तिहार कुर्नु पर्ने अबस्था थियो । घरको छानोको बुँद्द्यो तानेर चुलोमा आगो बाल्नुपर्ने दिनहरु विताउने तपाई हामी नै हैनौ र ? गरिबी, अशिक्षा र अविकसका यस्तै–यस्तै तमाम चुनौतीहरु पार गर्दै हामी अगाडी बढिरहेका छौं र यही बिगतको अपवाद थिएन नलगाड ।

नगरपालिका स्थापनापछि बनेको नलगाड नगरपालिकाको पहिलो स्थानीय सरकारको नेतृत्व गर्ने अबसर हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) लाई नगरबासीले प्रदान गरे । त्यो अबसरलाई विभिन्न खाले चुनौतीहरुको समाना गर्दै समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधानको मुल मर्म र भावनालाई आत्मसाथ गरी हाम्रो पार्टीको नेतृत्वको स्थानीय सरकारले यतिबेला कुशलतापूर्वक पाँच बर्षको कार्यकाल पूरा गर्दै छ । सुन्य अबस्थाबाट अगाडी बढेको पालिका सरकारको कार्यकालका पाँच बर्षहरु मध्ये केही शुरुका बर्षहरु स्थानीय तहको सरकारलाई आबश्यक पर्ने ऐन, कार्यबिधी, नियमावली, मापदण्ड र निर्देशिकाहरु निर्माण गरी लागू गर्नुलाई मुख्य उपलब्धीका रुपमा लिन सकिन्छ ।

पूर्वाधार बिकास निर्माणका दृष्टीले सारमा माथी चर्चा गरिको बिगतको अबस्थाबाट बर्तमानसम्म आइपुग्दा नलगाडले आफ्नो नयाँ रुप दिन सफल भएको छ । हिजो सहज रुपमा प्राथमिक स्वास्थ्य परामर्श पाउन नसकिने अबस्थाबाट आज सहज रुपमा प्रथामिक उपचार पाउन सक्ने अबस्थामा पुगेको छ । आज कुनै नागरिकले प्राथमिक उपचार नपाएर हिजोको जस्तै ज्यान गुमाउनुपर्ने अबस्थाको अन्त्य भएको छ । नलगाडका सबै वडाहरुमा (भौगोलिक रुपमा ठुला र बिकट कतिपय वडाहरुमा दुई वटा सम्म) आबश्यक भवन, जनशक्ति, औषधि र उपकरण सहित सामुदायिक स्वास्थ्य इकाईहरु स्थापना गरी संचालनमा ल्याईएको छ । पहिलेका पुराना स्वास्थ्य चौकीहरुलाई आबश्यक भवन, उपकरण, जनशक्ति र औषधिहरुको व्यवस्थापन गरी स्तर वृद्धी गर्नुको साथै स्वास्थ्य सेवालाई सुलभ बनाईएको छ । नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा नगरपालिकाबाट एमडीको दरबन्दी सृजना गरी बिशेषज्ञ स्वास्थ्य सेवा संचालन गरिएको छ । दल्लीमा १५ शैयाको नगर अस्पतालको भवन निर्माण कार्य अगाडी बढिरहेको छ । सूचना सञ्चारको क्षेत्रमा यहाँका नागरिकहरुले स्मार्ट फोनको प्रयोगद्धारा कमाई गर्न तेस्रो मुलुकमा पुगेको छोरासंग भिडियो कलमा कुरा गर्न सक्ने स्तरमा पुगेका छन् । यद्यपी नेट, ईन्टरनेट र टेलिफोन सेवालाई सुलभ बनाउन अझै केहि मेहनत गर्नु पर्ने अबस्था भने, बाँकी नै छ ।

शैक्षिक क्षेत्रमा पनि यस नगरपालिकाले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । आन्तरिक श्रोतबाट बाल बिकासका २० वटा, शून्य दरबन्दी भएका ५ वटा बिद्यालयमा नगरपालिकाको अनुदान शिक्षक नियुक्ति गर्नुको साथै पक्की बिद्यालय भबन निर्माण, भबन मर्मत, घेराबार, फिल्ड निर्माणका थुप्रै काम भएका छन् । क्याम्पस स्तरको शिक्षा र कृषि प्राविधिक धारको पढाई पुरा गर्न नलगाडका विद्यार्थीहरु नगरपालिका भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य भएको छ । नगरपालिकाका सबै वडा कार्यालय भबन निर्माण, खाने पानी, सिंचाई, सडक, ढल निकास जस्ता थुप्रै भौतिकपूर्वाधार निर्माणका महत्त्वपूर्ण कामहरु सम्पन्न भएका छन् । क्षमता विकास, समाजिक न्याय, सुशासनका क्षेत्रमा नगरपालिकाले महत्त्वपूर्ण उपलब्धी हासिल गरेको छ । जनजीविकाका क्षेत्रमा नगरपालिकाले सबै वडाहरुमा त्यहाँको हावा, पानी र माटो सुहाउदो कृषि उत्पादनका विभिन्न पकेट, बल्क, र जोनमा वर्गीकरण गरी टुक्रे उत्पादनलाई चक्लाबन्दी तथा व्यावसायिक कृषि उत्पादनमा जोड दिएको छ । कृषिमा आधारित हाम्रो पालिका सरकारको पहिलो प्राथमिकतामा कृषि उत्पादन नै रहेको छ । निर्वाहमुखी पुरातन कृषि प्रणालीलाई बैज्ञानिककरण तथा व्यवसायिककरणको सुरुवात गर्नुलाई पनि महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ । महिला, बालबालिका, जेष्ठनागरिक, अपाङ्ग नागरिकहरुको सामाजिक सुरक्षा र शिक्षा, स्वास्थ्यमा जोड दिदै आएको नगरपालिकाले सामाजिक बिकासका क्षेत्रमा थुप्रै सामाजिक न्यायका कामहरु सम्पन्न गरेको छ ।

पाँच बर्षे कार्यकालमा जनताको जीवनशैली सुधारमा उल्लेखनीय प्रयत्नहरु भएका छन । गाउँमा असीमित नागरिक अपेक्षाहरु छन । असिमित अपेक्षाहरुलाई चमत्कारपूर्ण तरीकाबाट फु मन्त्रको बाँचा जस्तैगरी पूरा हुन सक्दैनन्, त्यसैलाई सिढी बनाएर जनतामा विभन्न खाले भ्रम सिर्जना गर्न केही मित्रहरू लागिपरेको देखिन्छ । प्राप्त उपलब्धिहरुलाई बिर्सेर जनतामा भ्रम सृजना गर्नु नै सबैभन्दा ठूलो दुखद पक्ष हो । कति सही छ ? वा कति गलत छ ? त्यसलाई राम्रोसंग छुट्याउने, सहीलाई सही र गलतलाई गलत भन्न सक्ने हामीसंग अझै पनि राजनीतिक संस्कारको विकास हुन सकि रहेको छैन । आग्रह पुर्बाग्रहको राजनीतिबाट माथी उठ्न नसक्नु नै हाम्रो मुख्य कमजोरी हो । सत्य कुरालाई स्वीकार गर्ने बानीको विकास अझै हुन सकेको छैन । नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा बनेको एकल बहुमतको स्थानीय सरकारका यी पाँच बर्षका उपलब्धिहरुलाई मिनिमाइज (कम) गर्दै जनतामा भ्रम छरेर निकट भबिश्यमा हुने स्थानीय तहको निर्वाचनमा जनमत बटुल्ने अन्य राजनीतिक पार्टीहरुको जालझेलको खेतीको पुनः मौषम आउन थालेको देखिन्छ । यस्ता खराब प्रवृत्तिका विरुद्ध लड्नु आजको मुख्य आबश्यकता र चुनौती हामी सामु खडा भएको छ । प्राप्त उपलब्धिहरुको आधार (बेस) मा टेकेर आगामी बर्षहरुमा यी सफलताहरुलाई थप बिकसित र परिस्कृत गर्दै हामीले गरेको समाजवादको परिकल्पनालाई साकार रुप दिन सक्छौ । यहाँको हावापानी, वनजङल, जडिबुटी, खोलानाल, खेतीयोग्य जमिनका अतिरिक्त भेरी कोरिडोर र नलगाड हाइड्रोपावर आदिले समृद्धिको बाटोलाई अझै फराकिलो बनाएको छ । दावाका साथ भन्न सकिन्छ नलगाडको विकास र समृद्धि अन्य कुनै पनि राजनीतिक दलको नेतृत्वमा बनेको स्थानीय सरकारबाट सम्भव छैन । किनकी इतिहासले के भन्छ भने, अरु राजनीतिक पार्टीहरु त केवल पद र कुर्सीका लागी मात्र राजनीति गर्दछन, शक्तिको दुरुपयोग गरी यथास्थितिमा मात्रै रमाउछन । तसर्थ अझै केही दशक नलगाड नगर सरकारको नेतृत्व नगरबासीहरुले माओवादी पार्टीलाई नै सुम्पिने छन् भन्ने हामीले बिश्वास गरेका छौं ।

(लेखकः सिंह नेकपा (माओवादी केन्द्र) नलगाड नगर कमिटीका अध्यक्ष हुन्)

प्रतिकृया दिनुहोस्