Hamro Sanchar

पार्टी सदस्यलाई भोट नहाल्ने छुट भएता पनि अन्तरघात गर्ने छुट छैन्ः– सभापति सिंह

अहिले एमसिसीलाई राष्ट्रघात भन्ने कम्युनिष्टहरुले पहिले बुढीगण्डगीलाई भनिरहेका थिएः–सभापति शाही

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/११/२४ गते
जाजरकोट

आगामी बैसाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा कुनै पनि पार्टी सदस्यलाई अन्तरघात गर्ने छुट नभएको नेपाली काँग्रेस जाजरकोट सभापति बेदराज सिंहले बताएका छन् । चुनाव लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको चौथो दिन भेरी नगर कार्यसमितिको आयोजनामा गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा सभापति सिंहले यस्तो बताएका हुन् ।

नगर स्तरीय अगुवा कार्यकता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललित जंग शाहीले अहिले एमसिसी सम्झौतालाई राष्ट्रघात भनिरहेका कम्युनिष्टहरुले पहिले बुढीगण्डगी सम्झौतालाई राष्ट्रघात भन्ने गरेको आरोप लगाएका थिए । जलस्रोतको धनी देश भएता पनि नेपाल हाईड्रोपावरको विकासमा पछि रहेको बताउदै प्रदेश सभापति शाहीले कम्युनिष्टहरुले बुढीगण्डगी सम्झौतालाई राष्ट्रघात नभनेको भए यतिवेला बुढीगण्डगी परियोजनाको निर्माण कार्य सम्पन्न भएर उर्जा व्यापारबाटै देश धनी बनि सकेको हुन्थ्यो भने । वुढीगण्डगी परियोजनाको महत्वलाई हाल आएर कम्युनिष्टहरुले बुझेको बताउदै सभापति शाहीले बुढीगण्डगी परियोजना सम्पन्न हुन केही समय लाग्ने बताए । कम्युनिष्टहरुको बैज्ञानिक साम्यवाद र नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवादको भिन्नतालाई राम्रोसंग जनतालाई बुझाउनुपर्ने बताउदै प्रदेश सभापति शाहीले पूर्वी जर्मन र पश्चिम जर्मनको उदाहरण पेश गरेका थिए । विश्वको २०० मुलुकहरु मध्ये १० वटा मुलुकमा मात्र कम्युनिष्ट व्यवस्था संचालन भएको बताउदै प्रदेश सभापति शाहीले कम्युनिष्ट व्यवस्था बिश्वबाट असफल भएको जिकिर गरेका थिए । नेपाली काँग्रेस पार्टीले आगामी निर्वाचनमा चुनाव लड्नका लागि कोही कसैलाई गोजीबाट तानेर टिकट नदिने बताउदै सभापनि शाहीले एउटा नीति र विधिमा रहेर संस्थागत निर्णयबाट टिकट बितरण गर्ने भनाई राखेका थिए ।

नेपाली काँगेस पार्टीको कुनै पनि पार्टी सदस्यलाई पार्टीको उमेरदवारप्रति चित्त नबुझे भोट नहाल्ने अधिकार भएतापनि पार्टी भित्रै अन्तरघात गरेर अर्को पार्टीको उमेरदवारलाई चुनाव जिताउने अधिकार नभएको नेपाली काँग्रेस जाजरकोट सभापति बेदराज सिंहले भनाई राखेका थिए । अन्तरघात गरेर अर्को पार्टीको उमेरदावारलाई चुनाव जिताउने पार्टी सदस्यलाई नेपाली काँग्रेस पार्टीमा बसेर मोटा कुरा गर्ने अधिकार नहुने बताउदै सभापति सिंहले चुनावमा अन्तरघात गर्ने जुनसुकैलाई स्पटमै कारवाही गरेर देखाउने चेतावनी दिएका थिए ।

२०५१ सालको मध्यावधि निर्वाचन पश्चात नेपाली काँग्रेसले जाजरकोटको निर्वाचन क्षेत्र नम्बर १ मा हालसम्म एक पटक पनि निर्वाचन जित्न नसकेको बताउदै सभापति सिंहले नेपाली काँग्रेस पार्टीप्रति आस्था राख्ने कुनै पनि जनताको घर आँगनलाई छुनेगरी मोटरबाट पुग्न नसकेको, पिउने पानीका धारा निर्माण नभएको बताए । नेपाली काँग्रेसका शुभेक्षुक तथा मतदाताहरुको घरआँगनलाई छुनेगरी मोटरबाटो पुर्याउन, धारामा सफा–सुद्ध पिउने पानी झार्न, घर–घरमा विजुली बत्ति बाल्न यसपटकको तीनै तहको निर्वाचनमा नेपाली काँग्रेस पार्टीले चुनाव जित्नुपर्ने सभापति सिंहले भनाई राखेका थिए । सिधा नजरमा आँखा जुधाएर हेर्न नसक्नेगरी कम्युनिष्टलाई चुनाव हराउन नेता कार्यकर्तालाई चुनावी मैदानमा जुट्न सभापति सिंहले सुजाएका थिए ।

२०६२÷०६३ सालको ऐतिहासिक १९ दिने जनआन्दोलनको नेतृत्व नेपाली काँग्रेसले नगरेको भए देशमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणगन्त्रको स्थापना सम्भव नभएको वताउदै सभापति सिंहले युद्धको राजनीति गरिरहेको नेकपा (माओवादी) संग सहकार्य गर्न नेपाली काँग्रेस तयार नभएको भए देशमा शान्ति सम्भव नभएको बताए । नेपाली काँग्रेस नेतृत्वको सरकार नभएको भए देशले संविधान पाउन सक्दैन्थ्यो सभापति सिंहले भने–“देशको विकास समृद्धिको लागि यतिवेला बहुमत प्राप्त नेपाली काँग्रेसको एकलौटी सरकारको आबश्यक रहेको छ, त्यसका लागि कार्यकर्ताले पार्टीको उमेरदवारलाई चुनाव जिताउनै पर्ने वेला आएको छ ।”

हिजो गरीबका नाममा, दलितका नाममा, बेरोजगार युवाका नाममा, महिलाका नाममा राजनीति गर्दै आएका कम्युनिष्ट पार्टीसंग आज राजनीतिक एजेण्डा समाप्त भएको बताउदै सभापति सिंहले बताए । हिजोको जस्तै घरेलु हिंसा, महिला विभेदमा आजका महिलाहरु रहेका छैनन सभापति सिंहले भने–“हिजोको जस्तै जातिय विभेद र असमानतामा आजका दलितहरुले रहनु परेको छैन, गरिबीले हिजोका जनता जस्तै कयौं छाँक भोकै बस्नुपर्ने अबस्थामा आजका जनता छैनन्, बेरोजगार युवाहरुलाई रोजगारी दिन्छौं भनेर भ्रम सृजना गरीरहेका कम्युनिष्टका कुरालाई आजका युवाले पत्याउने अबस्था छैन, त्यसकारण जनतामा लैजाने राजनीतिक ऐजेण्डाको खोजीमा रहेका कम्युनिष्ट पार्टीले यतिवेला एमसिसीलाई राष्ट्रघाटी सम्झौता भनिरहेका छन् ।”

एमसिसी भनेको अमेरिकाको सहयोगमा नेपालमा संचालन गरिने विकास परियोजना भएको बताउदै सभापति सिंहले कम्युनिष्ट पार्टीले नेतृत्व गरेका सरकारले नभएर गाउँका बयवृद्धहरुलाई दातृ निकायबाट संचालित परियोजनाहरुले पौढ शिक्षा संचालन गरेर साक्षर बनाएको बताए । कयौं दातृ निकायले गाउँमा खानेपानी, सिंचाई आयोजना निर्माण गर्नुको साथैं आर्थिक हिसावले पछाडी परेका समुदायका घरमा शौचालय निर्माण गर्ने, बाल अधिकार, लैंङ्गिक तथा जातिय समानता तथा समतामुलक कार्यक्रम संचालन गरेर सामाजिक रुपान्तरण तथा विकासमा टेवा पुर्याएको सभापति सिंहले दावी गरेका थिए । आगामी निर्वाचनमा वडा अध्यक्ष र वडा सदस्यमा चुनाव लड्ने आकाँक्षा राखेका व्यक्तिहरुले पार्टीको वडा कमिटीमै बरु सात दिन लगाएर छलफल गरेर टिकटको लागि बहुमत र अल्पमतका आधारमा नभएर सर्वसहमत निर्णय गरेर पठाउन सभापति सिंहले आग्रह गरेका थिए ।

नेपाली काँग्रेस भएकै कारण जाजरकोट जिल्लाबाट तीन दर्जन भन्दा बढिले ज्यान गुमाउनु परेको बताउदै नेपाली काँग्रेस कर्णाली प्रदेश उप–सभापति सनत कुमार कार्कीले जिल्लाका सात वटै पालिकाको निर्वाचन जित्नका लागि सबै प्रकारका चुनावी रणनीतिलाई अबलम्बन गर्नुपर्ने भनाई राखेका थिए । उमेरदवारको अनुहारले मात्र चुनाव जित्न नसकिने बताउदै उप–सभापति कार्कीले चुनाव जित्नका लागि गाउँ टोलमा रहेर पार्टीको काम गर्ने कार्यकर्ताको शैलीमा भरपर्ने तर्क गरेका थिए । विगतको निर्वाचनलाई समिक्षा गर्दै उप–सभापति कार्कीले भेरी नगरपालिकामा नेपाली काँग्रेसको प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) नभएर नेकपा एमाले नै रहेको बताएका थिए । प्रशिक्षणको उद्घाटन सत्रमा नेपाली काँग्रेस कर्णाली प्रदेश महामन्त्री निरन्जन केसी लगाएतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

जिल्ला कार्यसमितिको निर्णय अनुसार जिल्लाका सात वटै पालिकामा अगुवा कार्यकर्ता प्रशिक्षण संचालन गरिरहेको नेपाली काँग्रेस जाजरकोटले जिल्ला कार्यसमिति उप–सभापति खडक बहादुर बुढाको संयोजकत्वमा ७ सदस्य रहेको पशिक्षण विभाग गठन गरेको छ । प्रशिक्षण विभागको सदस्यहरुमा सह–सचिव छवी पन्त, खडक बहादुर वुढा, सदस्य महेन्द्र बहादुर शाह, जनक केसी, मैना कार्की, रिता पुन रहेका छन् ।

अगुवा कार्यकर्तालाई प्रोजेक्टरको प्रयोगबाट पावरपाईन्ट प्रस्तुत गरेर राजनैतिक प्रशिक्षण दिने गरिएको छ । उक्त प्रशिक्षणमा नेपाली काँग्रेस पार्टीको ईतिहास र योगदान, नेपाली काँग्रेसको आगामी चुनावी रणनीति, नेपालको निर्वाचन इतिहास र तहगत संरचना, नेपाली काँग्रेस पार्टीको विधानले गरेको व्यवस्था अनुसार काम, कर्तव्य र अधिकार, पार्टीको झण्डा र चुनाव चिन्ह, जयनेपालको अर्थ र परिभाषा, असल नेतृत्वमा हुनुपर्ने गुणहरु, विगत निर्वाचनको समिक्षा लगाएतका बिषयबस्तुहरु रहेको विभागका संयोजक बुढाले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्