Hamro Sanchar

जाजरकोटमा जीप दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु

गम्भीर ३ जना घाईतेलाई उपचारका लागि हेलिकप्टरमा सुर्खेत लिने तयारी

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/२/२७ गते
जाजरकोट

जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका–५ बलेपुईनामा जीप दुर्घटना भएर ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ३ जना घाईतेको अवस्था गम्भीर रहेको छ । उक्त जीपका सवार अन्य ५ जनाको अवस्था भने, समान्य रहेको प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले जानकारी दिएका छन् ।

सुक्रबार विहान साडी ७ बजेतिर लुहादहबाट शिवपूरीतर्फ जादै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्वरको बोलेरो जीप वेलपुईनामा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय गर्खाकोले जनाएको छ । ब्रेक फेल भएर सडकबाट झण्डै ५० मिटर तल खसेको जीपमा सवार गरिरहेका जुनीचाँदे गाउँपालिका–५ शिवपुरी निवासी ४० बर्षिय पुतला गिरी, वडा नं. ६ निवासी २१ बर्षिय दर्शन शाही र ३४ बर्षिय कालिका शाहीको घटना स्थलमै मृत्यू भएको छ । उक्त दुर्घटनामा परि गम्भीर घाईते हुनेहरुमा गाडी चालक दैलेख जिल्ला गुराँस गाउँपालिका–७ का २५ बर्षिय टोप बहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ निवासी १३ बर्षिय विपना शाही र १३ बर्षिय समिक्षा शाही रहेका छन् । गम्भीर घाईतेहरुको उपचारको लागि हेलिकप्टरबाट सुर्खेत लैजाने तयारी भईरहेको प्रजिअ शाहीले जानकारी दिएका छन् ।

उक्त जीपका सवार जुनीचाँदे गाउँपालिका–६ छिर्कका २० बर्षिय लाल बहादुर वुढा, ३९ बर्षिय बिष्णु बहादुर शाही, १४ बर्षिय सरिता शाही, ८ बर्षिय नमुना सिंह र वडा नं. ५ का ३० बर्षिय नर बहादुर शाहीको अबस्था भने सामान्य रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्