News Portal

छेडागाडमा नगर स्तरीय प्रारम्भिक बालबिकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न

सम्मेलनबाट १५ बुँदे घोषण–पत्र जारी

६६४ पटक

छेडागाड नगरपालिकामा नगरस्तरीय प्रारम्भिक बाल विकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको सहयोगमा छेडागाड नगरपालिकाको आयोजनामा नगरस्तरीय प्रारम्भिक बाल विकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न भएको थियो ।

छेडागाडको प्रशासनिक केन्द्र मनघाटमा विहिबारदेखि सुरु भएको प्रारम्भिक बाल विकास शिक्षकहरुको प्रथम सम्मेलन शुक्रबार सम्पन्न भएको थियो । दुई दिनसम्म चलेको सम्मेलनबाट १५ बुँदे छेडागाड घोषणा–पत्र जारी गरिएको छ भने, सुनिता शाहीको संयोजकत्वमा १३ सदस्य नगरस्तरीय बालविकास शिक्षकहरुको संजाल गठन गरेको छ ।

१६५ जनाको सहभागीतामा सम्पन्न प्रथम सम्मेलनले बाल बिकास केन्द्रमा सतप्रतिशत बालबालिकाहरुको भर्ना र निरन्तरता, बर्षमा २२० दिन बालविकास केन्द्र खोल्नुको साथै १९२ दिन पठनपाठनको सुनिश्चिता, ९० प्रतिशत दैनिक उपस्थितिको सुनिश्चितता, क्षमता विकास तथा सिकाई आदानपदान गर्न घुम्ती बैठक, नमूना बालविकास केन्द्र बनाउन भौतिक, व्यवस्थापकीय तथा न्यूनतम ६ कुना सिकाइ सामग्रीहरूको व्यवस्थापन, एक वडा एक नमुना बाल विकास केन्द्र, गृह विद्यालय, गृह शिक्षक, घरमै प्रारम्भिक साक्षरता र गणित तथा घरमै विद्यालय कक्षाहरूको विस्तार गर्नुपर्ने जारी घोषणा–पत्रमा उल्लेख गरिएको छ ।

बालबालिकाहरुलाई ६–६ महिनाको एक पटक जुकाको औषधी खुवाउनुपर्ने, स्वास्थ्य परीक्षण, भिटामिन ए, आईरन चक्की खुवाउनुको साथै दिवा खाजाको सुनिश्चितता गर्ने, बालविकास केन्द्रहरूको अनुगमन, प्रारम्भिक बालविकास केन्द्रको न्यूनतम मापदण्डहरूको सुनिश्चितता, अभिभावक शिक्षाको विस्तार, नयाँ पाठ्यक्रम–२०७७ अनुसार दैनिक पाठ्योजनाको आधारमा कक्षालाई बालमैत्री बनाउने, बालविकास केन्द्रहरूको गुणस्तर सुधार गर्न नगरपालिकाको एकिकृत रणनैतिक योजना र बालविकास केन्द्रका न्यूनतम मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, प्रथम नगरस्तरीय प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूको सम्मेलनबाट गठन भएको नगरस्तरीय बालविकास केन्द्रका शिक्षकहरूको संजालको क्षमता अभिवृद्धि, शिक्षकहरुले राखेका मागहरूको सम्वोधन जस्ता विषयलाई जारी गरिएको घोषणा–पत्रमा उल्लेख गरिएको छ । छेगाड नगरपालिकामा सम्पन्न भएको नगर स्तरीय प्रारम्भिक बालबिकास शिक्षकहरुको प्रथम सम्मेलन जिल्लाकै पहिलो सम्मेलन हो ।

प्रदेश सरकार नेपालको संविधान–२०७२ तथा संघियता कार्यान्वयनको पहिलो अभ्यास भएको बताउदै प्रारम्भिक बालविकासका लागि प्रदेश सांसदहरूको समन्वय सहकार्य समूहका संयोजक तथा पूर्वमन्त्री सिता नेपालीले प्रदेश सरकारको नीति निर्माणमा बालबालिकाहरुको अधिकारलाई सुनिश्चित गर्न कर्णाली प्रदेशमा प्रारम्भिक बालविकासका लागि प्रदेश सांसदहरूको समन्वय सहकार्य समूह गठन गरिएको जानकारी दिईन् । “घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले” भन्ने नाराले नै स्पष्ट पारेको बताउदै नगर स्तरीय प्रारम्भिक बाल बिकास शिक्षकहरुको प्रथम सम्मेलनको प्रमुख अथिति प्रदेश साँसद नेपालीले गर्भावस्थादेखि ८ वर्ष उमेरसमुहका बालबालिकाहरुको सर्वाङगीण विकासलाई प्रारम्भिक बाल विकासका रुपमा बुझ्नुपर्ने भनाई राखेकि थिईन् । प्रारम्भिक बालविकासको लागि एक डलर बराबरको लगानीबाट १७ डलरसम्मको प्रतिफल प्राप्त हुने भनाई राख्दै प्रमुख अथिति नेपालीले सम्मेलन सफलताको शुभ–कामना दिएकी थिईन् ।

शैक्षिक विकास बिना भौतिकपूर्वाधार, आर्थिक तथा अन्य सामाजिक विकासको कल्पना समेत गर्न नसकिने भनाई राख्दै कार्यक्रमका विशेष अतिथि पूर्वशिक्षा निर्देशक जित बहादुर शाहले शैक्षिक विकासमा संघ, प्रदेश र स्थानीय तहहरुले लगानी बढाउनुपर्ने भनाई राखेका थिए । कुल बजेटको ३ प्रतिशत बजेट मात्र प्रदेश सरकारले शिक्षा क्षेत्रमा लगानी गरेको चर्चा गर्दै पूर्वशिक्षा निर्देशक शाहले कुल बजेटको न्युनतम २० प्रतिशत भन्दा बढि बजेट शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने भनाई राखेका थिए ।

बालबालिकाहरु बीचमा भएको असमानतालाई हटाउन प्रारम्भिक बालविकासले महत्वपूर्ण भुमिका खेल्ने बताउदै सेभ द चिल्डे«नका शिक्षा प्रवन्धक आत्माराम भट्टराईले प्रारम्भिक बालविकासमा गरिने खर्च दायित्व नभएर लगानी भएको बताएका थिए । प्रारम्भिक बालविकास कार्यव्रmमले कक्षा दुई सम्मको पढाईमा कूल विद्यालय खर्चमा ११ प्रतिशत खर्च कटौती हुने प्रवन्धक भट्टराईले दावी गरेका थिए । प्रारम्भिक बाल विकास कार्यक्रमले दीर्घकालिन, आर्थिक तथा थुप्रै सामाजिक फाईदाहरु हुने बताउदै प्रवन्धक भट्टराईले प्रारम्भिक बाल बिकासको लागि बाल अधिकार महासन्धि– १९८९, दीगो विकास लक्ष्य–२०३० को लक्ष्य ४, नेपालको संविधान–२०७२ को धारा–३१ ले शिक्षा सम्बन्धिको हक, धारा–३९ ले बालबालिकाको हक, स्थानीय सरकार संचालन ऐन–२०७४ ले प्रारम्भिक बाल विकासका लागि नगर तथा गाउँपालिका र वडा समितिले गर्नुपर्ने काम, कर्तव्य र अधिकार विषयमा संबैधानिक तथा थुप्रै कानुनी व्यवस्था गरेको चर्चा गरेका थिए । प्रारम्भिक बाल विकासका लागि राष्ट्रिय शिक्षा नीति–२०७६ र शिक्षा ऐन–२०२८ ले पनि थुप्रै व्यवस्था गरेको चर्चागर्दै प्रवन्धक भट्टराईले अनौपचारिक शिक्षा कार्यक्रम अन्तरगत प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन नगर्ने जनप्रतिनीधिलाई मुद्धा हाल्न मिल्ने कानुनी व्यवस्था भएको भनाई राखेका थिए ।

छेडागाड नगरपालिकामा विद्यालयमा आधारित ९२ र समुदायमा आधारित ३८ वटा गरी जम्मा १३० वटा बालविकास केन्द्र संचालनमा रहेको जानकारी दिदै नगर शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख खड्क बहादुर केसीले संघीय सरकारका ६८ वटा र नगरपालिकाका ६२ वटा बालविकास शिक्षक दरबन्दी रहेको जानकारी दिएका थिए । अहिलेको विश्वमा सवैभन्दा शक्तिशाली पूँजी र टेक्नोलोजिको विकासलाई मान्ने गरिएको चर्चा गर्दै शाखा प्रमुख केसीले पूँजी र टेक्नोलोजिलाई पनि नियन्त्रणमा लिन सक्ने मानव क्षमता विकास झनै महत्वपूर्ण रहेको भनाई राखेका थिए । मानव क्षमता विकासको पहिलो आधार नै प्रारम्भिक बाल विकास भएको शाखा प्रमुख केसीले भनाई राखेका थिए ।

नगर प्रमुख रत्न बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको नगरस्तरीय प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरुको प्रथम सम्मेलन सफलताको शुभ कामना मन्तव्य नगर उपप्रमुख चन्द्र बहादुर थापा, छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर आरसी, सेतो गुराँस सूर्खेत जिल्ला संयोजक जानकी देवकोटा, पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवी पन्त, नगरपालिकाका सामाजिक विकास समितिका संयोजक मोतिलाल खत्री लगाएतका व्यक्तिहरुले राखेका थिए ।

 

जारी छेडागाड घोषणा—पत्रको पूर्णपाठ

प्रतिकृया दिनुहोस्