News Portal

अपाङ्गता भएका छोरा समाल्नमै भट्टराई परिवारलाई ठिक्क

७६७ पटक

अपाङ्गता भएका छोराहरु समाल्नु छेडागाड नगरपालिका–३ चोत्रासैनाका बिशाखर भट्टराई परिवारको दैनिकी हो । अपाङ्गता भएका छोराहरु समाल्नमै दिनहरु विताई रहेका भट्टराई परिवारले अर्थोपार्जन गर्न घरमा नत राम्रोसंग कृषि पेशा गर्न पाएका छन् । नत कुनै व्यापार विजनेश संचालन गर्न सकेका छन् । विहान विस्तराबाट उठेदेखि राति बिस्तरामा सुत्ने वेलासम्म अपाङ्गता भएका छोराहरुको स्यार सुसार गर्नमै केन्द्रित भट्टराई परिवारले गाउँमा राम्रोसंग भाईशैली गर्न पाएको छैन । मनले सोचे जस्तोगरी सामाजिक कार्यमा संलग्न हुन नपाएकोमा भट्टराई परिवारलाई खल्लो लाग्ने गरेको छ ।

बिशाखरले देवीसरासंग २०५० सालमा मागि बिबाह गरेका थिए । बिबाह गर्नेवेला बिशाखर २३ बर्षका थिए भने, देवीसरा २२ बर्षकी थिईन् । देवीसरा निरिक्षर भएतापनि बिशाखरले गाउँकै जनप्रिय माध्यामिक विद्यालय दशेराबाट कक्षा १० को पढाई पुरा गरेका छन । बिशाखर र देवीसराले बिबाह गरेपछि गाउँकै खेतबारीमा अन्नबाली र पशुपालन जस्ता कृषि पेशामा रहेर काम गर्ने, छोरा–छोरीलाई राम्रो शिक्षा दिने उनीहरुको साँझा सम्झौता थियो । दुई छोरा र एक छोरीको बाबा–आमा बन्ने उनीहरुको साँझा लक्ष्य थियो ।

जेठा छोरा वीरेन्द्र भट्टराई २०५७ सालमा जन्मिएपछि जीवनमा सबैभन्दा बढि भट्टराई परिवार खुशी भएका थिए । बिवाह गरेको ८ बर्षपछि पहिलो सन्तान जन्माउन पाएकोमा निसन्तान बस्नुपर्ने अबस्थाबाट उन्मुक्ती पाएको अनुभुती भट्टराई परिवारले गरेको थियो । बाजागाँजा बजाउनुको साथै ठुलै भोजको आयोजना गरेर वीरेन्द्रको छैटी मनाएका थिए । वीरेन्द्र जन्मिएको दुई बर्षपछि २०५९ सालमा माईला छोरा डिल्ली भट्टराईको जन्म भएको थियो । वीरेन्द्रको जस्तै बाजागाँजा सहितको भोज दिएर डिल्लीको पनि छैटी मनाएका भट्टराई परिवारले एकपछि अर्को खुशी थपिदै गएको अनुभुति गरेको थियो । बीरेन्द्र र डिल्लीको जन्म पश्चात एक छोरी मात्र जन्माउने आशा राखेका भट्टराई जोडीले २०६१ सालमा तेस्रो सन्तान छोरा नै जन्माएका थिए । लोग्ने स्वास्नीको ईच्छा विपरित जन्मिएका तेस्रो छोरा महेन्द्र भट्टाराईको जन्ममा जेठा र माईला छोराको जन्ममा जति खुशी भएका थिए, त्यति खुशी हुन सकेनन् ।

बीरेन्द्र र डिल्ली दुबै भाई जन्मेको १८ महिनासम्म सामान्य अबस्थामा थिए । हिँड्न सक्ने, बोल्न सक्ने, चौरमा खेल्न सक्ने बीरेन्द्र र डिल्ली १८ महिना भन्दा माथि उमेर बढ्दै जादा कमजोर हुन थालेको बुवा बिशाखर भट्टराइको भनाई रहेको छ । १८ महिना भन्दा माथिका हुदा दुवै छोराको एउटा हात र एउटा खुट्टा कमजोर भयो बिशाखरले भने–‘बर्षै पिच्छे शरिरका अन्य अंगहरु कमजोर हुदै गए, दुवै छोरा १२ बर्षको पुगेपछि कम्मरमुनिको भाग नचल्ने भयो, उभिन नसक्ने भए, १८ बर्ष भन्दा माथिको उमेर भएपछि दुवै भाई विस्तराबाट उठ्न नसक्ने अबस्थामा पुगेका छन् ।’ हाल बीरेन्द्र २२ बर्षका भए भने, डिल्ली २० बर्षका भए । २४ घण्टा विस्तरामै पल्टिरहेका बीरेन्द्र र डिल्लीलाई आमा बाबाले दैनिक विस्तरामै खाना खुवाउने, विस्तरामै गरेको दिसा पिसाव सफा गर्ने गरेका छन् ।

जेठा र माईला छोराको स्वास्थ्य अबस्था त्यस्तो भएपछि साईलो छोरा महेन्द्र पनि त्यस्तै त हुने होला ? भन्ने आशंका गरेका भट्टाराई दम्पती बिबाह पश्चातको साँझा सम्झौता र लक्ष्य पुरा नहुनेमा ढुक्क बन्न थाले । साँझा सम्झौता र लक्ष्यबाट धेरै टाढा पुगिसकेका भट्टराई दम्पती एकपछि अर्को सन्तान जन्माउन थाले । जन्माएका धेरै मध्ये कोही न कोही राम्रै होलान भन्ने आशै आशामा भट्टराई दम्पतीले ५ छोरा र एक छोरी जन्माउन पुगे् । साईलो छोरा महेन्द्र १८ बर्षका भए भने, काईला छोरा नरेन्द्र १२ बर्षका भए । कान्छा छोरा ललित ८ बर्षका भए भने,् छोरी ममता ७ बर्षकी भईन् ।

१८ बर्षका साईला छोरा महेन्द्र जनप्रिय माध्यामिक विद्यालय दशेरामा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन भने, छोरी ममता चोत्रासैनाकै जनता आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययन गरीरहेकी छन् । ५० बर्षका बिशाखर र ४९ बर्षकी देवीसराले बाँकी जीवनको आशा र भरोसा नै छोरा महेन्द्र र छोरी ममतामा गर्न थालेका छन् ।

काईला नरेन्द्र र कान्छा ललितको स्वास्थ्य अबस्था भने, बीरेन्द्र र डिल्लीको जस्तै हुन थालेको छ । नरेन्द्र उभिन नसक्ने भएका छन् । १२ वर्षको हुँदा ललित पनि त्यस्तै हुन्छन् भन्ने भट्टराई दम्पतीलाई लागेको छ । नरेन्द्र र ललित नजिकैको जनता आधारभुत विद्यालयमा भर्ना भएका छन् तर, उनीहरु घरमै पढ्छन् । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र सेभ द चिल्ड्रेनद्धारा छेडागाड नगरपालिकामा संचालित सहयात्रा–२ परियोजनाले संचालन गरेको ‘स्कुल एट होम’ कार्यक्रम अन्तरगत नरेन्द्र र ललितलाई घरमै पढाउने गरिएको छ । अपाङ्गता भएर स्कुल जान नसक्ने बालबालिकाहरुलाई यस कार्यक्रमले स्कुल भर्ना गराएर घरमै पढाउनको लागि शिक्षक पठाउने गरेको छ । नरेन्द्र र ललितको होम शिक्षिका गंगा कुमारी थापा हुन् । उनले घरमै गएर नरेन्द्र र ललितलाई दैनिक ४ घण्टा पढाउने गरेकी छन् । नेपाली र अंग्रेजी पढाउदै आएकी शिक्षिका थापाले गणित तर्फको जोड, घटाउ र गुनान जस्ता हिसाव गराउने गरेकी छन् । शिक्षिका थापाले दैनिक चित्र कोर्ने, नाच्न लगाएर नरेन्द्र र ललितलाई मनोरञ्जन दिदै आएकी छन् । ‘स्कुल एट होम’ कार्यक्रमले शिक्षिकाको मासिक तलब दिनुको साथै नरेन्द्र र ललितको पढाईका लागि चाहिने किताव, कापी, कलम, सेतो पाटी, पोष्टर, मेटाकार्ड, ब्राउन पेपर, मार्कर पेन, पेन्सिल, ईलिजर लगाएतका शैक्षिक सामाग्री उपलब्ध गराएको छ भने, कोठा व्यवस्थापनको लागि कार्पेट, पी फम लगाएतका सामानहरु उपलब्ध गराएको छ । शिक्षिका थापाले नरेन्द्र र ललितलाइ घरमै पढाउन थालेको ५ महिना भएको छ । थापा भन्दा पहिला ‘स्कुल एट होम’ कार्यक्रम अन्तरगत अर्की शिक्षिकाले नरेन्द्र र ललितलाई एक बर्ष घरमै पढाएकी थिईन ।

नरेन्द्र र ललितको घरमै पढाई हुने भएको हुदा उनीहरुको पढाईको अबस्था आफैँ पनि हेर्न पाएको बिशाखरले बताए । स्कुल गएर पढ्ने आफ्नै छोरा महेन्द्र र छोरी ममताले भन्दा राम्रा अक्षर लेख्छन् विशाखरले भने–‘कहिलेकाहीँ स्कुल जान्छु, सरहरूले तपाईंका छोराको क्षमता राम्रो छ भन्नुहुन्छ, मन खुशी हुन्छ ।’

नरेन्द्र र ललितले किताब पढेर सुनाउन सक्दैनन् । शिक्षकले सोधेका प्रश्नको जवाफ लेखेर देखाउँछन् । चित्र बनाउन लगाउँदा खुब खुसी हुन्छन् । भर्ना भएको विद्यालयले नरेन्द्र र ललितलाई पाठ्यपुस्तक दिएको छ । उनीहरूले परीक्षामा लेखेको उत्तरपुस्तिका विद्यालयले नै परीक्षण गर्ने गरेको छ । विद्यालयमै अध्ययन गरीरहेका विद्यार्थीहरु भन्दा नरेन्द्र र ललितले राम्रो नम्बर ल्याउने गरेका छन् ।

शारीरिक, मानसिक, वौद्धिकता सम्बन्धि दीर्घकालीन अशक्तता, कार्यगत सीमितता तथा अन्य व्यक्ति सरह समान रुपमा अर्थपूर्ण सहभागी हुन बाधा भएको व्यक्तिलाई अपाङ्गता भएको व्यक्तिका रुपमा चित्रण गर्ने गरिएको छ । शारीरिक अपाङ्गता, दृष्टी सम्बन्धि अपाङ्गता, सुनाई सम्बन्धि अपाङ्गता, श्रवण दृष्टीविहिन, स्वर तथा बोलाई सम्बन्धि अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अनुबंशिय रक्तश्राव सम्बन्धि अपाङ्गता, अटिज्म सम्बन्धि अपाङ्गता र बहुँ अपाङ्गता गरी १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको समुह विभाजन गर्ने गरिएको छ । अपाङ्गतालाई पूर्णअशक्त, अतिअशक्त, मध्यम र सामान्य गरी ४ भागमा वर्गिकरण गर्ने गरिएको छ ।

बिशाखरका जेठा छोरा बिरेन्द्र र माईला डिल्ली पूर्णअशक्त अपाङ्गता हुन् । सेभ द चिल्ड्रेनको सहयोगमा गतबर्ष बीरेन्द्र र डिल्लीलाई जिल्ला सदरमुकाम खलंगा पुर्याएर जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरिएको थियो भने, छेडागाड नगरपालिकाबाट अपाङ्गता परिचय–पत्र प्रदान गरिएको थियो । अपाङ्गता परिचय पत्र पाएपछि बीरेन्द्र र डिल्लीले सामाजिक सुरक्षा भत्ता पाउन थालेका छन् । बर्षभरी गरिएको कृषि कर्मबाट ६ महिना पनि राम्रोसंग खाना नपुग्ने बिशाखरको परिवारलाई बीरेन्द्र र डिल्लीको नाममा आएको सामाजिक सुरक्षा भत्ताले कुनै ठाउँ ठेगान लाग्दैन । नरेन्द्र र ललित हाल अतिअशक्त आपाङ्गता भएता पनि कालान्तरमा पूर्णअशक्त अपाङ्गता हुनसक्ने पक्का भएको बिशाखरको बुझाई रहेको छ ।

बाल अधिकार महासन्धि–१९८९ को धारा–२८ र २९ ले बालबालिकाहरुको प्राथमिक शिक्षालाई निशुल्क गर्नुपर्ने, शिक्षाले बालबालिकाहरुको व्यक्तित्व र बौद्धिकताको विकास गर्नुपर्ने उल्लेख गरेको छ । दीगो विकासका लक्ष्य–२०३० को लक्ष्य–४ ले समावेशी तथा गुणस्तरीय शिक्षा सुनिश्चित र आजीवन सिकाई प्रवद्र्धनमा जोड दिएको छ । नेपालको संविधान–२०७२ को धारा–३१ ले शिक्षा सम्बन्धिको हक, बालबालिका सम्बन्धिको हक, स्थानीय सरकार संचालन ऐन–२०७४, राष्ट्रिय शिक्षा नीति–२०७६, अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन–२०७५, शिक्षा ऐन–२०२८ र प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम–२०७७ ले बालबालिकाको शिक्षा सम्बन्धिको अधिकार सुनिश्चितताका लागि विभिन्न संवैधानिक तथा कानुनी व्यवस्था गरेको छ ।

नेपालको संविधान–२०७२ को धारा–३१, उपधारा–३ ले अपाङ्गता भएका, आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हकलाई सुनिश्चित गरेको छ भने, उपधारा–४ ले दृष्टीविहीन नागरिकलाई ब्रेललिपी, बहिरा–स्वर वा बोलाई सम्बन्धी अपाङ्गता भएका नागरिकलाई साँकेतिक भाषाबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हकको सुनिश्चितता गरेको छ । बाल अधिकार र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि बनेका विभिन्न ऐन तथा कानुनहरुले उनीहरुको शिक्षा र स्वास्थ्य सम्बन्धिको अधिकारको ग्यारेण्टी गरेका छन् । तर, अपाङ्गता भएकै कारण बिशाखरका जेठा छोरा बीरेन्द्र र माईला छोरा डिल्लीले प्रारम्भिक शिक्षासम्म पाउन सकेका छैनन् । २१, २२ बर्षका लक्का जवान बीरेन्द्र र डिल्ली ओछ्यानबाट उठेर बस्न सक्ने अबस्थामा छैनन् । महेन्द्र भन्दा पछाडीका नरेन्द्र र ललितको शारीरिक अबस्था हाललाई बीरेन्द्र र डिल्लीको जस्तै नभएपनि उनीहरु अतिअशक्त आपाङ्गता हुन् । हाललाई सहयात्रा–२ परियोजनाको सहयोगमा घरमै प्राथमिक शिक्षा हासिल गरीरहेका नरेन्द्र र ललितले परियोजनाको कार्यवधि समाप्ती पछि कसरी शिक्षा हासिल गर्ने हुन ? भन्ने बिषयको उत्तर कसैसंग छैन ।

एउटै घरका बीरेन्द्र, डिल्ली, नरेन्द्र र ललित जन्मजात अपाङ्ग नभएर उमेर बढेसंगै बन्दै गएका अपाङ्ग हुन् । उनीहरु के कारणले यसरी अपाङ्ग हुदै गएका हुन भन्ने बिषयमा आमा बाबालाई कुनै जानकारी हुन सकेको छैन् । उपचारका लागि बिशाखरले बिरेन्द्र र डिल्लीलाई नेपालगञ्जको भेरी अञ्चल अस्पताल पु¥याएका थिए । नेपालगञ्जमा उपचार हुन नसकेपछि भारतको रुपैडिया स्थित अपाङ्गता विशेष अस्पतालमा पु¥याए थिए । त्यहाँ पनि उपचार हुन सकेन । रोगको पत्तो लागेन । डाक्टहरूले नै ‘हामी सक्दैनौँ’ भनेर बिरेन्द्र र डिल्लीलाई घर फर्काएका थिए । विशाखरले छोराहरुलाई धामीझाँक्री कहाँ पु¥याए । एक धामीले घरमा ‘देउता’ लागेको बताए । घर अशुभ भएको हुदा नफापेको राय दिए । भट्टराई दम्पतीलाई पनि तै हो कि भन्ने लाग्यो । घर छाड्दा राम्रो हुन्छ कि भन्ने लागेर उनीहरूले अहिले एक जना आफन्तको खाली घर मागेर बसेका छन् । उनीहरुले आफ्नो घर खाली बनाएर छोडि सकेका छन् ।

एकै घरका चार भाई छोरा शारीरिक रुपमा पूर्णअशक्त र अतिअशक्त आपाङ्ग भएपछि पृथ्वीलाई भन्दा ठुलो भार आफ्नो टाउकोमा आई परेको बिशाखर र देवीसराको बुझाई छ । अपाङ्ग छोराहरुको स्यार सुसार गर्नमै ठिक्क भएका भट्टराई दम्पतीले समयमै गोरुलाई पानी खुवाएको र घाँस हालेको कुनै दिन छैन् । विहान उठेदेखि वेलुका सुत्ने वेलासम्म छोराहरुकै धुनी पानी गर्नमै समय खर्चिदै आएका दम्पतीलाई अरु कुनै काम गर्ने फुर्सद हुदैन । भट्टराईको घर मध्यपहाडी राजमार्गको छेउमै पर्दछ । कालोपत्रे भईसकेको चौत्रासैनाको सडकमा अझै गाडी संचालनमा आएका छैनन् । भट्टराईको घरमा पुग्नलाई नीजि तथा सरकारी गाडीलाई रिर्जव गरेर जान सकिन्छ ।

प्रतिकृया दिनुहोस्