Hamro Sanchar

राष्ट्रिय जनगणना–२०७८ दुई चरणमा पुरा हुने

बैसाख २६ देखि जेठ १४ सम्म पहिलो चरणमा घर तथा परिवार सुचीकरण गरिने

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/१४ गते
जाजरकोट

दोस्रो चरणको कोभिड–१९ को संक्रमणले यतिवेला नेपाल भयवित भएको छ । कोरोनाको बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशका ठुला शहर तथा कोरोना प्रभावित जिल्लाहरुमा निशेधाज्ञा जारी गरेको छ । तर, सरकारले नै संचालन गरेको राष्ट्रिय जनगणना–२०७८ को राष्ट्रिय अभियानलाई भने, सरकारले निरन्तरता दिने देखिएको छ ।

आजका मितिसम्म राष्ट्रिय जनगणना–२०७८ लाई रोक्ने भन्ने बिषयमा नेपाल सरकार तथा राष्ट्रिय योजना आयोगले कुनै परिपत्र नगरेको जाजरकोट जिल्ला जनगणना अधिकारी जनकराज बोहराले जानकारी दिएका छन् । हालसम्म आफुलाई भएको जानकारी अनुसार स्वास्थ्य सुरक्षा सम्बन्धी साबधानि अपनाएर राष्ट्रिय जनगणना–२०७८ लाई निरन्तरता दिने नेपाल सरकार तथा राष्ट्रिय योजना आयोगको निर्देशन छ जिल्ला जनगणना अधिकारी बोहराले भने–‘जाजरकोट जिल्लामा पनि कोरोना संक्रमितहरुको संख्या दैनिक बढ्दै गएको कुरा थाहा छ तर, हामीले नै जनगणनाको कामलाई रोक्न मिल्दैन, नेपाल सरकार तथा राष्ट्रिय योजना आयोगको निर्देशन नआउदासम्म हामीले राष्ट्रिय जनगणनाको कामलाई निरन्तरता दिई राख्ने छौं ।’

जिल्ला जनगणना अधिकारी बोहराले दिएको जानकारी अनुसार राष्ट्रिय जनगणना–२०७८ को कामलाई दुई चरणमा पुरा गरिने भएको छ । पहिलो चरणमा प्रत्येक घरमा पुगेर सुपरिवेक्षकद्धारा घर तथा घरपरिवारको सुचीकरण गर्नुको साथै फराम मार्फत घर सम्बन्धिीको बिवरण, परिवारमा बसोबास गरेका महिला, परुष तथा अन्य लिङ्गी र परिवारको कृषि सम्बन्धीको बिबरण संकलन गरिने कार्यक्रम रहेको छ । राष्ट्रिय जनगणना–२०७८ को पहिलो चरण यहि बैसाख २६ गतेदेखि आगामी जेठ १४ गतेसम्म संचालन गरिने जिल्ला जनगणना कार्यालय, जाजरकोटले जनाएको छ । त्यसैगरी दोस्रो चरणमा प्रत्येक घरमा पुगेर गणकहरुद्धारा मुख्य प्रश्नावली मार्फत पारिवारिक बिबरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाईसराई लगाएत अन्य जनसांख्यिक बिबरणहरु संकलन गरिने भएको छ । जिल्ला जनगणना कार्यालय, जाजरकोटले दिएको जानकारी अनुसार दोस्रो चरणको राष्ट्रिय जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म संचालन हुने भएको छ ।

जिल्लाका सात वटा स्थानीय तहका ७७ वटा वडाको जनगणनालाई सहज र सरल बनाउन जिल्ला जनगणना कार्यालयले तीन वटा सहायक कार्यालय स्थापना गरेको छ । जनगणनाका सहायक कार्यालय मध्ये खलंगामा रहेको कार्यालयले भेरी नगरपालिका र कुशे गाउँपालिकालाई हेर्ने छ भने, दल्लीमा रहेको कार्यालयले नलगाड नगरपालिका र बारेकोट गाउँपालिकालाई हेर्ने भएको छ । त्यसैगरी मनघाटमा रहेको कार्यालयले छेडागाड नगरपालिका, जुनीचाँदे र शिवालय गाउँपालिकालाई हेर्ने भएको छ ।

राष्ट्रिय जनगणना–२०७८ लाई सफल बनाउन जिल्ला जनगणना कार्यालय, जाजरकोटले जिल्ला र स्थानीय जनगणना समितिको बैठक, कार्यालय स्थापना गरिसकेको छ भने, पहिलो चरणमा प्रत्येक घरमा पुग्ने सुपरिवेक्षकहरुको तालिम सम्पन्न गरीसकेको छ । त्यसैगरी दोस्रो चरणमा प्रत्येक घरमा पुगेर विवरण संकलन गर्ने गणकहरुलाई तालिम दिने तयारीमा जिल्ला जनगणना कार्यालय रहेको बुभिएको छ ।

सबैभन्दा सानो प्रशासकीय एकाई वडा तहसम्मको लैङ्गिक तथा समाबेशी तथ्याङ्कलाई राष्ट्रिय जनगणनामा समाबेश गरिने भएको हुदा उक्त तथ्याङ्क विकास निर्माण तथा लक्षित योजना तर्जुमा गर्दा मद्दत पुग्ने बिश्वास गरिएको छ । बाटोघाटो, पुल, विद्यालय, स्वास्थ्य सेवा, उद्योगधन्दा, खानेपानी, बिजुली, सिंचाई योजना निर्माण तथा बजेट बाँडफाँट गर्न, खाद्यन्न आपूर्ती गर्न, बसोबास व्यवस्थापन गर्न, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गर्न, मानव विकास प्रक्रियामा पछाडी परेका समुदायको उत्थानका कार्यक्रमहरु संचालन गर्न र नेपालको संविधानले व्यवस्था गरेका मौलिक हकहरु कार्यान्वयन गर्न तथा मुल्याङ्कण गर्न जनगणनाका तथ्याङ्क उपयोगी हुने भएको हुदा सत्य तथ्य बिबरण दिएर जनगणना राष्ट्रिय अभियानलाई सफल बनाउन आम नागरिकहरुलाई अपिल गरिएको छ ।

प्रतिकृया दिनुहोस्