Hamro Sanchar

आफ्नै भवनमा नेकपा (माओवादी केन्द्र), जाजरकोटको पार्टी कार्यालय संचालनमा

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/४/४ गते
जाजरकोट

आफ्नै भवनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जाजरकोटले पार्टी कार्यालय संचालनमा ल्याएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज काली बहादुर मल्लले रिभन काटेर उद्घाटन गरेको कार्यालय पार्टीले मंगलबारदेखि संचालनमा ल्याएको हो ।

कार्यालयमा उद्घाटन पश्चात नव निर्मित भवनमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति जाजरकोट संयोजक टेक बहादुर रावल (दर्शन) ले आफ्नो कार्यकक्ष समालेका थिए । जिल्ला सदरमुकाम खलंगाको बीच सेन्टर रहेको कार्यालय संचालनले जनसम्पर्क बढाउन सजिलो हुने स्थायी कमिटी सदस्य काली बहादुर मल्लले कार्यालय उद्घाटनको क्रममा भनाई राखेका थिए । पार्टी कार्यालयबाट विकास निर्माणका योजना तथा बजेट विनियोजन हुन नसक्ने बताउदै स्थायी कमिटी सदस्य मल्लले नेपाली नेपाली नागरिकता प्रमाण पत्रको सिफारिस, राहदानी, जग्गा रजिष्टेशन लगाएतका सार्वजनिक सेवा प्रवाहका कार्यसम्पादन पार्टी कार्यालयबाट हुन नसक्ने बताए । पार्टी कार्यालयबाट सार्वजनिक सेवा प्रवाहको कार्यसम्पान नभएता पनि जनसेवाका कार्य सम्पादन गर्नुको साथै आन्तरिक पार्टी संचालन सम्बन्धिका सम्पूर्ण कामहरु सम्पन्न गरिने उनले भनाई राखेका थिए । पार्टी कार्यालयको व्यवस्थापकीय पक्षलाई सुदृढ गर्नुको साथै जनसम्पर्कलाई व्यवस्थित गर्न कार्यालय रहेको टोलका नागरिकहरुको महत्वपूर्ण भुमिका रहने नेता मल्लले भनाई राखेका थिए । राममन्दीर नजिकै रहको पार्टी कार्यालयलाई सहयोग गर्न राममन्दीर टोलबाससीलाई नेता मल्लले अपिल गरेका थिए ।

शहिद स्मृती प्रतिष्ठानद्धारा निर्माण गरिएको पार्टी कार्यालय भवन निर्माणमा महत्वपूर्ण योगदान पुर्याएकोमा हार्दिक आभार सहितको धन्यवाद व्यक्त गर्दै प्रतिष्ठानका सचिव प्रताव जैसी (ज्योतीष) र सदस्य सुनज्वाँरालाई दोसल्ला ओराएर सम्मान गरिएको थियो । कार्यालय उद्घाटन कार्यक्रममा सहभागीहरुलाई मिठाई वितरण गरिएको थियो ।

कार्यालय उद्घाटनको पहिलो दिन मंगलबार नै पार्टी प्रदेश कमिटी सदस्यहरुको बैठक पार्टी कार्यालयमा सम्पन्न गरिएको जिल्ला समन्वय समितिका संयोजक टेक बहादुर रावल (दर्शन) ले जानकारी दिएका छन् । सम्पन्न बैठकले पार्टी संगठनलाई व्यवस्थित गर्न पार्टी सदस्यहरुको क्रियाशिलतालाई नविकरण गर्ने, पार्टी संगठनलाई उत्पादनसंग जोड्न नियमित लेवीलाई व्यवस्थित गर्ने, पार्टी कार्यालयलाई थप व्यवस्थित र सुदृढ गर्न पार्टीको आन्तरिक कमिटीबाट स्वईच्छीक सहयोग संकलन गर्ने लगाएतका महत्वपूर्ण निर्णयहरु भएको संयोजक रावलले जानकारी दिएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्