Hamro Sanchar

नेकपा, जाजरकोटको प्रशिक्षण सम्पन्न

बर्तमान राज्य व्यवस्थाप्रति जनता सन्तुष्ट हुन सकेका छैनन्ः–नेकपाका नेता भुसालको भनाई

कर्ण बहादुर रम्तेल प्रकाशित : २०७९/४/५ गते
जाजरकोट

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, जाजरकोटको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगाको ठाँटीमा रहेको सनसाईज कटेजको सभाहलमा बुधबार नेकपा, जाजरकोटको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा, जाजरकोटका सेक्रेटरी पौरख मल्लको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा बर्तमान सरकार र व्यवस्थाप्रति जनता सन्तुष्ट हुन नसकेको केन्द्रिय सदस्य भेषराज भुसालले भनाई राखेका थिए । वित्तिय तथा दलाल पुँजीवादबाट निर्देशित अहिलेको व्यवस्था र सरकारले जनता र राष्ट्रियताको हितमा काम गर्न नसक्ने नेता भुसालले ठोकुवा गरेका थिए । पार्टीको आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरुलाई राजनीतिक, बैचारिक र साँगठनिक प्रशिक्षण दिदै नेता भुसालले जनता र राष्ट्रियताको हितमा काम गर्न नसक्ने व्यवस्थाको विकल्प सरकार परिवर्तन हुन नसक्ने दावी गरेका थिए । जनता र राष्ट्रिय हितमा काम गर्नका लागि सरकार परिवर्तन नभएर व्यवस्था परिवर्तन गर्नुपर्ने धारणा राख्दै नेता भुसालले जनता र राष्ट्रिय हितका पक्षमा रहेको बैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुनुपर्ने भनाई राखेका थिए ।

सुर्यकिरण संचालक रहेको उक्त पार्टी प्रशिक्षण कार्यक्रममा नेता भुसालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र यतिबेला आफ्नो पार्टीले खेल्नुपर्ने भुमिकाको बिषयमा प्रशिक्षण दिएका थिए । दलाल पुँजीवादी संसदीय व्यवस्था पुर्णतः असफल भैसकेको दावी गर्दै नेता भुसालले वैज्ञानिक समाजवाद मात्र अहिलेको व्यवस्थाको उचित विकल्प भएको ठोकुवा गरेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्