News Portal

पूर्णखोपयुक्त जिल्ला घोषणाको प्रमाणिकरण गर्न जिल्ला पूर्णखोप समन्वय समितिको निर्णय

४०६ पटक

जाजरकोट जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणाको प्रमाणिकरण गर्न जिल्ला पूर्णखोप समन्वय समितिले निर्णय गरेको छ । जिल्लाका पत्रकारहरु सहित आईतबार बसेको जिल्ला पूर्णखोप समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले यहि भदौं १५ गते भित्रै जाजरकोट जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय गर्दै प्रदेश स्तरीय खोप समन्वय समितिलाई पूर्णखोपयुक्त जिल्ला घोषणाको प्रमाणिकरण गरिदिन अनुरोध गरेको छ । जिल्ला पूर्णखोप समन्वय समितिको उक्त बैठकले नलगाड र छेडागाड नगरपालिका, जुनीचाँदे र शिवालय गाउँपालिकालाई पूर्णखोपयुक्त पालिका घोषणाको प्रमाणिकरण गरेको छ । यो भन्दा अगाडीको बैठकबाट प्रमाणिकरण भएको भेरी नगरपालिका, बारेकोट र कुशे गाउँपालिका पूर्णखोपयुक्त पालिका घोषणा भईसकेका छन् । पूर्णखोपयुक्त पालिका र जिल्ला घोषणा गर्नका लागि १६ देखि २३ महिनासम्मका सतप्रतिशत बालबालिकाहरुले १२ प्रकारका खोप पाईसकेको हुनुपर्ने खोप कार्यविधिले व्यवस्था गरेको छ ।

बैठकले ५ देखि ११ बर्षसम्मका जिल्लाका ३३ हजार ४१८ बालबालिकालाई कोभिड–१९ विरुद्धको फाईजर–बायोएनटेक खोप लगाउने निर्णय गरेको छ । गत साउन २८ गते जिल्लामा आईपुगेको फाईजर–बायोएनटेक खोपलाई ७० दिनभित्रै दुई डोज खोप पुरा गरी सक्नुपर्ने स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका खोप सुपरभाईजर शान्त बुढाथोकीले जानकारी दिएका छन् । फाईजर–बायोएनटेक खोप पहिलो डोज लगाएको २१ दिनपछि दोस्रो डोज लगाउन सकिने बुढाथोकीले बताए । फाईजर–बायोएनटेक खोप जाजरकोट जिल्लाका सात वटै पालिकाको लागि ६ हजार ९४५ भाईल खोप आईपुगेको जानकारी दिदै खोप सुपरभाईजर बुढाथोकीले एक भाईलमा १० डोज रहेको बताए । फाईजर–बायोएनटेक खोपको ९१ प्रतिशत प्रभावकारिता रहेको जानकारी दिदै सुपरभाईजर बुढाथोकीले फाईजर–बायोएनटेक खोपलाई घोल्नुपर्ने बताए । उक्त खोप ५ बर्षमुनि र ११ बर्षभन्दा माथिका बालबालिकालाई लगाउने अनुमति नभएको बताउदै बुढाथोकीले खोपको पहिलो डोजले गम्भीर असर देखाएमा, एलर्जी भएमा, कोभिड–१९ भएको अबस्थामा फाईजर–बायोएनटेक खोप लगाउन नमिल्ने बताएका थिए । कोभिड–१९ भएको ३० दिनपछि फाईजर–बायोएनटेक खोप लगाउन सकिने सुपरभाईजर बुढाथोकीले बताएका छन् । जिल्लाका सात वटै पालिकाका विद्यालय स्तरमा खोपकेन्द्र स्थापना गरी फाईजर–बायोएनटेक खोप संचालन गर्ने कार्यक्रम रहेको बुढाथोकीले बताएका थिए ।

प्रतिकृया दिनुहोस्