Hamro Sanchar

नेपाल बन्दको प्रभाव जाजरकोटमा

कर्ण बहादुर बस्याल प्रकाशित : २०७९/५/७ गते
जाजरकोट

आज नेपाल बन्दको प्रभाव जाजरकोटमा पनि परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव जाजरकोटमा पनि परेको हो ।

बन्दका कारण जाजरकोट जिल्ला सदरमुका खलगाको सडकमा कुनै पनि सार्वजनिक सवारी सधान चलेका छैनन् । बिहानैदेखि खुल्ने दोकान पसलहरु खुलेका छैनन् । जिल्ला सदरमुकाम खलंगा भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको छ । जिल्ला सदरमुकाम खलंगामा भित्रिने र बाहिरिने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधनहरु चल्न सकेका छैनन् ।

बन्दकर्ता तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु बन्द सफल बनाउन विहानै देखि सडकका चोक र गल्लीहरुमा सरसफाई गर्नुको साथै सवारी साधन संचालनमा अबरोध गर्ने, दोकान, पसलहरुलाई खुल्न नदिने प्रयासलाई जारी राखेका छन् ।

आजको नेपाल बन्दमा अप्रिय घटना हुनबाट बचाउन नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि जिल्ला सदरमुकामको विभिन्न स्थानमा शान्ति सुरक्षा दिई रहेको छ । विशेषगरी बैंक र सरकारी कार्यालयलाई सुरक्षा प्रदान गरेर सेवा प्रवाह गर्ने प्रयास गरिएको छ ।

बर्तमान सरकारका विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त रूपमा आज नेपाल बन्दको घोषणा गरेका हुन् ।

आजको नेपाल बन्दलाई सफल बनाउन हिजो साँझ बन्दकर्ताहरूले राजधानीसहित देशव्यापी मसाल जुलुस निकालेका थिए । जाजरकोट जिल्ला सदरमुकाम खलंगामा मसाल जुलुस निकालिएको थियो । सरकारले ‘राष्ट्रघाती’ एमसीसी सम्झौता पारित गरेको, नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमति उल्लंघन गरेको, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव लगायतका नेता कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा चार कम्युनिस्ट पार्टीले संयुक्त संघर्षका कार्यक्रम गरिरहेका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्