News Portal

१० जनालाई कोरोना पुष्टी, जिल्लामा संक्रमितको संख्या ६६ पुग्यो

१८ गतेदेखि २५ गतेसम्म निशेधाज्ञा जारी

६७२ पटक

जाजरकोटमा बुधबार १० जनालाई कोरोना पुष्टी भएको छ । जिल्लामा कोरोना संक्रमित बिरामीहरुको संख्या ६६ जना पुगेको छ । बुधबार शिवालयको छेडाबजार र जिल्ला अस्पतालमा गरिएको एन्टीजेन परिक्षणबाट १० जनालाई कोराना पुष्टी भएको हो ।

जिल्ला अस्पताल, जाजरकोटमा २१ जनालाई गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका महामारी फोकलपर्सन कृष्ण खत्रीले जानकारी दिएका छन् । खत्रीले दिएको जानकारी अनुसार शिवालय गाउँपालिकाको छेडा बजारमा १५ जनालाई गरिएको परिक्षणबाट ३ जनालाई कोरोना पुष्टी भएको छ । बुधबार दुई ठाउँमा गरिएको परिक्षणबाट १० जनालाई कोरोना पुष्टी भएको हो भने, जिल्लामा कोरोना संक्रमित विरामीहरुको संख्या ६६ जना पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय, जाजरकोटले यहि बैसाख १८ गतेदेखि २५ गतेसम्म जिल्लामा निशेधाज्ञा जारी गरेको छ । कोभिड–१९ को नयाँ भेरिएन्ट सहितको संक्रमणले जिल्लामा तिब्र रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले एक हप्ताको लागि निशेधाज्ञा जारी गरेको हो ।

बुधबार जिल्ला सदरमुकाम खलंगामा बसेको कोभिड–१९ संकट व्यबस्थापन केन्द्र (DCCMC), सर्वदलिय तथा सर्वपक्षिय समन्वयात्मक बैठक र जिल्ला सुरक्षा समितिको बैठकले गरेका निर्णयहरुलाई ध्यान दिदै कोभिड–१९ को संक्रमणको माँखे साङलोलाई तोड्न, संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारलाई सहज बनाउन निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले आदेश गरेको पत्रमा उल्लेख गरिएको छ । संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जिल्लाभर बैसाख १८ गते राती १२ बजेदेखि २५ गते राती १२ बजेसम्म सबै प्रकारका सेवाहरु बन्द गर्नुको साथै आबश्यक काम बाहेक हिड्डुलमा समेत निषेध गर्ने आदेश जारी गरिएको छ । एक हप्ताको लागि बैंक तथा बित्तिय संस्था, सवारी साधन, पसल, संचालनमा रहेका सबै व्यवसायहरु बन्द गर्ने आदेश गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाद्धारा जारी गरिएको आदेशमा संचालन गर्न पाईने सेवा, साधन र कामलाई वर्गीकरण गरिएको छ । संचालन गर्न पाईने वर्गीकरण गरिएका सेवा, साधन र कामहरुमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, सूचना तथा संचार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दग्ध पदार्थ, औषधी पसल, बैंकको एटीएम सेवा, जस्ता अति आबश्यक सेवाहरु एवं राष्ट्रिय गौरबका आयोजना लगाएत सार्बजनिक निर्माणका कार्य संचालन गर्न पाउने रहेका छन् । त्यसैगरी संचालन गर्न पाउने साधनहरुमा एम्बुलेन्स, शवबहान, दमकल, झण्डावाल सरकारी र निलो (कुटनीतिक) प्लेटका सवारी साधनहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरु रहेका छन् । आत्यावश्यक सेवामा खटिएका कर्मचारी तथा जनशक्तिले परिचय पत्र र तोकिएको पोषक अनिवार्य लगाएको हुनुपर्ने जारी आदेशमा उल्लेख गरिएको छ ।

मास्क, भौतिक दुरी लगाएत जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी दैनिक उपभोग्य बस्तु तरकारी, खाद्य, दुध, ग्याँसका पसलहरु विहान ६ बजेदेखि ९ बजेसम्म मात्र संचालन गर्न पाईने जारी आदेशमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्