Hamro Sanchar

पाठकको चासोः प्रतिनीधि सभा निर्वाचनमा नेकपा एमालेबाट सिंह र आचार्यको दाबी

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/५/९ गते
जाजरकोट

आगामी मंसिर ४ गते प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचन मिति घोषणा भएको छ । घोषणा भएको मितिमै निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग लागि परेको छ । प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाताहरुले मतदान गर्न ८६ दिन मात्र बाँकी रहेका छन् ।

८६ दिनपछि समग्र विकास र सामाजिक न्याय प्रवद्र्धनका सन्दर्भमा जाजरकोट जिल्लाबाट प्रतिनीधि सभा र प्रदेश सभाको रोष्टमा उभिएर बोल्ने सम्भावित पात्रहरुको नाम बजारमा आउन थालेका छन् । आगामी मंसिर–४ गतेको निर्वाचनमा मतदाता तथा जिल्लाका नागरिकहरुले विवेकपूर्ण तरिकाले प्रतिनीधि सभा र प्रदेश सभामा कसलाई पठाउछन भन्ने विषयमा विभिन्न अट्कलबाजी हुन थालेका छन् ।

सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी लगाएतका पार्टीहरु आगामी मंसिर–४ को निर्वाचन गठबन्धनको तयारीमा जुटिरहेको बुभिएको छ भने, नेकपा एमाले पार्टी चुनावी रणनीति निर्माणमा जुटिरहेको बुभिएको छ । चुनावी रणनीति निर्माण गर्न आज (९ गते) नेकपा एमालेको पोलिट व्युरो बैठक बसिरहेको बुभिएको छ भने, भोली र पर्सी (१० र ११ गते) केन्द्रिय समितिको बैठक बस्ने नेकपा एमालेले तयारी गरिरहेको छ । निकुर्सी (१२ गते) नेकपा एमालेको निर्वाचन परिचालन समितिको बैठक बस्ने तयारी भएको केन्द्रिय सदस्य निरज आचार्यले जानकारी दिएका छन् । केन्द्रिय सदस्य आचार्यले दिएको जानकारी अनुसार चुनाव केन्द्रित यस पटकको केन्द्रिय समितिको बैठकले निर्वाचन रणनीति निर्माण गर्नुको साथै उमेरदवार छनौटका मापदण्डहरु निर्माण गर्नमा केन्द्रित रहने भएको छ ।

केन्द्रिय समितिको बैठक सम्पन्न भएपछि जिल्लाको निर्वाचन क्षेत्रीय कमिटिका बैठकहरुले निर्वाचन लड्ने उमे।दवारहरुको नाम सिफारिस गर्ने केन्द्रिय सदस्य आचार्यले जानकारी दिएका छन् । निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरुले गरेको सिफारिसका आधारमा केन्द्रले निर्वाचन लड्ने उमेरदवारलाई टिकट वितरण गर्ने पार्टी विधानले व्यवस्था गरेको आचार्यले जानकारी दिएका छन् ।

आगामी मंसिर–४ गतेको निर्वाचनमा आफुले नेकपा एमालेको तर्फबाट प्रतिनीधि सभा सदस्य पदमा निर्वाचन लड्ने सोच बनाएको नेता आचार्यले जानकारी दिएका छन् । बाल्यकालदेखि हालसम्म नेकपा एमालेको राजनीति गर्दै आएको लामो योगदानसंगै अहिलेको युवा जमातलाई आफुले आकर्षित गर्न सक्ने नेता आचार्यले दावी गरेका छन् । नेकपा एमालेको विरुद्धमा पाँचदलिय गठबन्धन गरेर चुनावमा भाग लिने तयारी गरिरहेको बेला नेकपा एमाले भित्र चुनावी टिकटका लागि धेरै हानथाप गर्नुपर्ने अबस्था नरहेको नेता आचार्यको भनाई रहेको छ । बर्तमान राष्ट्रिय राजनीतिको मुलधारलाई सही तरिकाले बुझ्न सक्नुको साथै सही तरिकाले उपयोग गर्न सक्ने भएको हुदा यसपटकको निर्वाचनमा आफुले प्रतिनीधि सभा सदस्य पदमा दावी गरेको उनले बताएका छन् । प्रतिनीधि सभा सदस्य पदको टिकट नपाए आफु प्रदेश सभा सदस्यको पदमा चुनाव नलड्ने नेता आचार्यले टेलीफोन मार्फत भनाई राखेका छन् । टिकट दावी गर्ने र चुनाव लड्ने भनेको कुनै व्यक्तिलाई बजारीकरण गर्न गरिएको विज्ञापन मात्र नभएर सत्यतामा आधारित हुनुपर्ने आचार्यले धारणा राखेका छन् । चुनावका लागि अहिले नै हतार गरि हाल्नुपर्ने अबस्था नभएको बताउदै नेता आचार्यले चुनावको टिकटमा दावी गर्ने छलफल चलाउने समय भक्खरै आएको बताए । टिकटका लागि नेकपा एमाले भित्र त्यति ठुलो रस्साकस्सी नहुने बताउदै नेता आचार्यले टिकटका बिषयमा पार्टी भित्रको बसाईले नै टुङ्गो लगाउने विश्वास व्यक्त गरेका छन् ।

नेता आचार्य जस्तै नेता डम्बर बहादुर सिंहले पनि आगामी मंसिर–४ गतेको निर्वाचनमा आफुले प्रतिनीधि सभा सदस्य पदमा निर्वाचन लड्ने दावी गरेका छन् । निस्वार्थ भावले राजनीतिक मुल्य मान्यतामा रहेर लामो समय राजनीतिक सेवामा काम गरेको बताउदै नेकपा एमालेका केन्द्रिय सदस्य सिंहले यसपटकको निर्वाचनमा प्रतिनीधि सभा सदस्य पदको टिकटमा आफ्नो दावी रहेको बताएका छन् । दुई कार्यकाल प्रमुख भएर जिल्ला पार्टी संचालन गरेको, जिल्लाका सबै पार्टी कार्यकर्ताको मनोभावनालाई राम्रोसंग बुझेको, जिल्लाको समग्र भुगोल, मानव बस्ती, यहाँको आर्थिक, राजनीतिक र सामाजिक अबस्थालाई आफुले नजिकबाट अध्ययन गरेको दावी गर्दै नेता सिंहले जिल्लाबाट आफु निर्वाचित भएर प्रतिनीधि सभामा जान सकेमा जिल्लाको लागि ठुलो योगदान गर्न सकिने दावी गरेका छन् ।

नेकपा एमाले पार्टीको पक्षमा रहेको जनमत तथा बिश्वासलाई जोगाउन यतिवेला आफु नै बलियो उमेरदवार रहेको बताउदै नेता सिंहले पार्टीलाई जनतामा स्थापित गर्न, सशक्त पार्टी निर्माण गर्न, जिल्लाका सवै स्थानीय तहहरुमा जनपक्षीय निर्णय गर्न गराउनमा आफ्नो महत्वपूर्ण भुमिका रहने बताउदै नेता सिंहले यसपटकको निर्वाचनमा नेकपा एमालेको सवैभन्दा बलियो उमेरदवार आफु रहेको दावी गरेका छन् । साथै २०७० सालको निर्वाचनमा ५२० मतले मात्र आफु नेकपा (माओवादी केन्द्र) का शक्ति बहादर बस्नेत भन्दा पछि परेको चर्चा गर्दै चुनाव कसरी लड्ने भन्ने विषयमा पनि आफुसंग प्रयाप्त अनुभव रहेको नेता सिंहले बताएका छन् ।

२०५६ सालदेखि नेकपा एमालेको जिल्ला कमिटीमा रहेर काम गर्दै आएका नेता सिंह २०५७ सालमा जिल्ला कमिटी उप–सचिवको जिम्मेवारी समालेका थिए । २०६२ सालमा जिल्ला कमिटी सचिव भएका नेता सिंह २०६६ सालमा जिल्ला समिति अध्यक्ष भएका थिए । पार्टीको आठौं, नवौं र दशौं महाधिवेशन प्रतिनिधि भएका सिंह कर्णाली प्रदेश कमिटी सदस्य हुदै हाल पार्टी केन्द्रिय सदस्यको जिम्मेवारी समालेका छन् । नेता सिंह संस्थापन पक्ष पार्टी अध्यक्ष केपी शर्मा वली लाईनका मानिन्छन भने, नेता आचार्य संस्थापन ईतर योगेश भट्टराई लाईनका मानिन्छन् ।

युुवा आन्दोलनमा आचार्य जिल्ला सचिवदेखि केन्द्रीय महासचिवसम्म
नेता आचार्यलाई सानैदेखि राजनितिक चेतनाको विकास हुने अवसर प्राप्त भएको थियो । सानैदेखि राजनितिमा संलग्न भएका थिए । कक्षा पाँचमा अध्ययन गरिरहेका बेला (२०४६ सालमा) देशमा आन्दोलनको रापताप बढ्दै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश त्यतिबेला जाजरकोटसम्म पुगिसकेको थियो ।

२०४६ सालमा देशमा प्रजातन्त्र आयो । बहुदल स्थापना भएसँगै विद्यालयहरुमा विभिन्न विद्यार्थी संघ संगठनहरुले संगठन बनाउन शुरु गरे । नेविसंघ, अखिल छैटौँ, अलिख पाँचौ लगायतका विद्यार्थी संघसंगठनहरुले विद्यालयमा संगठन बनाउने क्रममा आचार्य केही समयपछि अखिल पाँचौको प्रा.क. अध्यक्ष बन्न पुगे । यसमा उनका दाई रामलाल आचार्यको ठूलो भूमिका छ । २०५० सालमा अनेरास्ववियु पाँचौको जिल्ला कमिटी सदस्य र ०५१ सालमा उपसंयोजकको जिम्मेवारी कुशलतापूर्वक समालेका थिए । २०५१ साउनमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (अहिलेको युवा संघ) को संस्थापक सचिव भएर युवा राजनीतिमा होमिएका आचार्यले २०५२ चैत ११ मा भएको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । जसलाई उनले कुशलतापूर्वक पूरा गरेका थिए । २०५४ सालमा भएको स्थानीय निर्वाचनमा जिविस सदस्यमा निर्वाचन भएका निरज देशकै कान्छा जननिर्वाचित हुन् । जतिबेला उनी १९ वर्षका मात्र थिए ।

२०५४ चैतमा भएको तेस्रो राष्ट्रिय सम्मेलनबाट आचार्य केन्द्रीय सदस्य तथा भेरी अञ्चल संयोजक÷ईन्चार्जको जिम्मेवारी पाएका थिए । १९ वर्षको उम्मेरमा प्ररायुुसंघको केन्द्रीय सदस्य बनेका आचार्य लामो समयसम्म कान्छो केन्द्रीय सदस्य भनेर चिनिन्थे । त्यतिखेर आचार्य भेरी अञ्चलका पाँचवटै जिल्लामा संगठन निर्माण र विस्तारमा क्रियाशिल भएका थिए । २०५८ सालदेखि भूगोलको जिम्मेवारी छोडेर काठमाण्डौँ पुगेका आचार्यले संगठनको कार्यालय सचिवको जिम्मेवारी बहन गर्ने अवसर प्राप्त गरेका थिए । काठमाण्डौँ हुँदा पनि जाजरकोटसँगको सामीप्य र जाजरकोटी जनतासँगको सम्बन्धलाई भने आचार्यले टुट्न दिएका थिएनन ।

२०६३ सालमा विराटनगरमा भएको छैटौँ राष्ट्रिय सम्मेलनबाट संगठन विभाग प्रमुख, लहानमा भएको सातौँ राष्ट्रिय सम्मेलनबाट महासचिव जस्तो गरिमामय पदमा निर्वाचित भएका आचार्य बुटवलमा भएको आठौँ राष्ट्रिय सम्मेलनमा अध्यक्षका प्रत्यासी बनेका थिए । झिनो मतले अध्यक्षमा पराजित भएका आचार्य युवा र पार्टी राजनितिमै क्रियाशील रहिरहे । २०५४ सालदेखी लगातार ९ वर्ष नेकपा (एमाले) जाजरकोट जिल्ला कमिटी सदस्य, पार्टीको भेरी अंचल कमिटी सदस्य, राष्ट्रिय परिषद सदस्य, केन्द्रीय श्रम तथा रोजगार विभागका सचिव र २०७५ जेठ ३ मा एमाले माओवादी मिलेर बनेको नेकपाको केन्द्रीय कमिटी सदस्य भएर जाजरकोट जिल्लाको सह ईन्चार्जको मुमिका निर्वाह गरेका थिए । पुनः नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय कमिटीमा निर्वाचित भएर निर्वाचन विभाग उप–प्रमुखकोरुपमा काम गरीरहेका छन ।

नेता आचार्य र सिंहले दिएको जानकारी अनुसार नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य पदमा निर्वाचन क्षेत्र (क) बाट हेरम्ब बहादुर शाह, नवराज सिंह, धर्म बहादुर सिंह, सुनिता बोहोरा लगाएतका नेताहरु आकाँक्षी रहेका छन् भने, निर्वाचन क्षेत्र (ख) बाट खिम बहादुर शाही, करवीर शाही, लाल बहादुर महतारा, नरेन्द्र शाही, नर बहादुर खत्री, कौशिलावती खत्री लगाएतका नेताहरु आकाँक्षी रहेका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्