Hamro Sanchar

आगमी ५ बर्षमा सबै बीऊ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाको लक्ष्य

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/५/९ गते
जाजरकोट

आगामी ५ बर्षमा सबैखाले बीऊ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाले लक्ष्य लिएको छ । बीऊको खोजीमा व्यवसायिक किसानहरुलाई नगरपालिका भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य गर्न भेरी नगरपालिकाले यस्तो लक्ष्य लिएको हो ।

नगरपालिकालाई मकैं, गहुँ, धान, प्याज, मुला, केराउ जस्ता विभिन्न जातको तरकारी, आलुको बीऊ उत्पादनमा आत्मनिर्भर बनाउन लागेको नगर कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिएका छन् । आर्थिक विकासको मुख्य श्रोत कृषि भएको बताउदै शाखा प्रमुख अधिकारीले कृषि पेशाबाटै बेरोजगारी समस्यालाई समाधान गर्न सकिने भएको हुदा नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी दिए ।

शाखा प्रमुख अधिकारीले दिएको जानकारी अनुसार नगर कृषि शाखाले भेरी नगरपालिका–७ को रुपाकोटमा १० हेक्टर जमिनमा मकैको बीऊ उत्पादन भईरहेको छ भने, भेरी नगरपालिका–१ कालेगाउँ, ३ स्याँला र १० को सानीचौरमा ५ हेक्टर जमिनमा गहुँको बीऊ उत्पादन भईरहेको छ । त्यसैगरी भेरी नगरपालिका–३ होलुजिउलामा १५ हेक्टर जमिनमा धानको बीऊ उत्पादन भईरहेको छ । त्यसैगरी भेरी नगरपालिका–२ बाहुनथानामा २ रोपनी र २ कै तिलिङ्गेमा २ रोपनी जग्गामा तरकारीको बीऊ उत्पादन भईरहेको छ । नगर कृषि शाखाले भेरी नगरपालिका–६ भेरे र भेरी नगरपालिका–२ तिमिलेमा २ रोपनी जग्गामा शुरु गरेको बीऊ आलु हाल २० रोपनी जग्गामा फैलिएको छ । जिल्ला सदरमुकाम खलंगा बजारमा रुपैडियादेखि आयातित आलुलाई प्रतिस्थापन गर्न नगर कृषि शाखाबाट उत्पादन गरिएको आलुको बीऊले मद्दत गर्ने विश्वास गरीएको छ ।

धान, मकै र आलुको बीउ उत्पादन गर्न आर्थिक बर्ष २०७७÷०७८ बाटै पकेट विकास कार्यक्रम संचालन गरिएको नगर कृषि शाखाले जानकारी दिएको छ । अन्य बालीको मुल बीउको मुल्यमा ५० प्रतिशत अनुदान दिदै आएको नगर कृषि शाखा प्रमुख अधिकारीले बताएका छन् । नेपाल सरकारबाट मान्यता प्राप्त बीउ उत्पादन फर्म तथा नेपाल सरकारको मापदण्ड पुरा गरेका व्यक्तिगत कृषि फर्म तथा समुह, सहकारीलाई नगर कृषि शाखाले मुल बीऊको श्रोतका रुपमा लिएको छ ।

मकैको बीऊ बर्षेनी ४०–५० क्वीन्टल, गहुँको बीऊ बर्षेनी ६०–७० क्वीन्टल, धानको बीऊ बर्षेनी ६०–७० क्वीन्टल उत्पादन हुने गरेको नगर कृषि शाखा प्रमुख अधिकारीले बताएका छन । यस वर्ष प्याजको बीऊ झण्डै १ क्वीन्टलउत्पादन भएको छ भने, मुलाको बीऊ ५० किलो, केराउको बीऊ १ क्वीन्टल उत्पादन भएको उनले बताएका छन् । त्यस्तैगरी उन्नत जातको आलुको बीऊ किसानले प्रयोग गर्नका लागि ४ वर्षको समय लाग्ने गर्दछ भने, यो बर्ष बीऊ आलु तयार गर्न लागेको समय २ वर्ष पुरा भएको छ । दोस्रो पुस्ताको बीऊ आलु २० क्वीन्टल तयार भएको नगर कृषि शाखाले जनाएको छ । यसलाई अझै २ वर्ष उत्पादन गरेर मात्र किसानहरुलाई वितरण गर्न सकिने नगर कृषि शाखाले जानकारी दिएको छ ।

नगर कृषि शाखाले देउती, मनकामना–३ र अरुण–२ जातको मकैं, धप १२०४ जातको गहुँ, सुख्खा–३ र सुख्खा–६ जातको धान, कार्डिनल र जनकदेव जातको आलु र रेड क्रयोल जातको प्याजको बीउ उत्पादन गरिरहेको जनाईएको छ । नगर कृषि शाखाको सहयोगमा भेरी नगरपालिकाका विभिन्न स्थानमा व्यवसायिक र बेमौषमी गरी ४० हेक्टर जमिनमा तरकारी खेती भईरहेको नगर कृषि शाखाले जनाएको छ । कृषकहरुको मागका आधारमा नगर कृषि शाखाले परेको मुल्यमा ५०– ७५ प्रतिशत छुट मुल्य अनुदान सिजन अनुसार उन्नत जातको बीऊबिज वितरण गर्दै आएको छ । नगर कृषि शाखाको सहुलियत अनुदानबाट प्रत्येक बर्षको सवै सिजनमा किसानहरुले विभिन्न वीऊविजबाट लाभ लिदै आएका छन् ।

प्रतिकृया दिनुहोस्