Hamro Sanchar

पहिरोले मकै खेतीबाली नष्ट

टुकमाया घर्ती प्रकाशित : २०७९/५/१२ गते
जाजरकोट

जाजरकोटको नलगाड नगरपालिका–४ माँझगाउँमा बाढी पहिरोले मकै बाली नष्ट पारेको छ । ७ गते साँझ फुलचाउँली मायाडाडाँबाट भलपानी गाउँमा पसेर नाउला खोलामा पहिरो गएको हो ।

पहिरोले स्थानीय केशव बहादुर रावल, पलबहादुर रावल, जयबहादुर रावल, लोकेन्द्र रावल र धनबहादुर रावलको ५ रोपनी जग्गामा लगाएको मकैबाली नष्ट पारेको वडा अध्यक्ष बद्री पन्तले बताए । पहिरोले केशव रावलको शौचालय, चल्ला खोर, किबी, अलैची, कागती, सुन्तोला लगाएत फलफुलका विरुवा पनि नष्ट गरेको छ, पन्तले भने । पहिरोले पाक्नै लागेको मकै बाली सखाप पारेपछि त्यहाँका स्थानीय चिन्तित बनेका छन । दुःख गरेर लगाएको मकैबाली पहिरोले नोक्सान पारेपछि के खाएर परिवार पाल्ले पलबहादुर रावलले गुनासो गरे । परिवार पाल्ले यहि एउटा मकै खेती हो, यो नै सखाप भएपछि आफुहरु समस्यामा परेको उनले बताए ।

गाउँमाथि रहेको वन क्षेत्र अतिक्रमणको चपेटामा परेको तथा जथाभावी सडक खन्दा गाउँमै सिधै भलपानी आएको हो । यसबाट पुरैगाउँ जोखिममा परेको छ । देवताथान र मायाडाँडा गरी दुई स्थानबाट भलपानी सिधै गाउँ आएको स्थानीय कालिबहादुर थापाले बताए । गाउँमाथिको हरियाली वन क्षेत्र सबै उजाड भयो, अतिक्रमण गरेर जथाभावी जग्गा बनाउने काम भयो, दुई तिरबाट सडक खन्ने काम भयो त्यही भएर गाउँमाथिको भलपानी सानो पानी पर्दा गाउँ पसिहाल्छ, यसलाई समयमै रोकथाम गरिएन भने भेरीखर्क, माँझगाउँ, सार्कीबारा, नाउलाखोला लगाएत बस्ती जोखिममा पर्ने खतरा छ, थापाले भने । सबै मिलेर वनको संरक्षण गर्ने होइन भने हाम्रो बसाइ हुदैन थापाले भने ।

वडाअध्यक्ष पन्तले अतिक्रमण गरेर जथाभावी जग्गा बनाउने काम रोक्ने र वन क्षेत्र संरक्षण गर्ने काम भएन भने बस्ती जोखिममा पर्ने बताए । यसलाई रोकथाम गर्ने काम हुन्छ, वडा सरकार लागि रहेको छ, अध्यक्ष पन्तले बताए । पहिरोबाट क्षेती भएको मकैबाली पिडित स्थानीयलाई आबश्यक राहतको लागि पहल गर्ने अध्यक्ष पन्तको भनाई छ । प्रहरी मुजुल्का बनाउन भनेर ८ गते नै प्रहरी कार्यालय दल्लीलाई वडाबाट जानकारी गराइ सकिएको छ । मुजुल्का तयार पारेर नगरपालिकामा राहतको लागि पहल गर्ने अध्यक्ष पन्तले बताए ।

प्रतिकृया दिनुहोस्