Hamro Sanchar

ठेकी बनाउने परम्परागत सीपलाई उद्योगमा लगाउने चनाराको सोच

नवराज न्यौपाने प्रकाशित : २०७८/१/१६ गते
जाजरकोट

छेडागाड नगरपालिका–९ स्थित आरसीखोलामा एक चनाराले बिगत एक बर्षदेखी ठेकीहरू बनाउदै आएका छन् । आरसीखोलामा काठका ठेकी बनाउदै आएका चनारा बर्दिया बाँसगढी नगरपालिका–८ दाङपुर चोक, भकारीका चन्द्र बहादुर चुनारा हुन् ।

२०३१ सालमा जन्मिएका चनाराले आफ्ना बुवाबाट ठेकी बनाउने सीप सिकेका हुन् । १ छोरा र ३ छोरी सहित ६ जनाको परिवार भएका चनाराले काठको ठेकी कोर्ने पेशाबाट भएको आम्दानीले परिवारको पालन पोषण सहित छोरा–छोरीलाई पढाउदै आएका छन् ।

चन्द्र बहादुरले कोरेको ठेकी स्थानीय गाउँमै बिक्री गर्ने गरेका छन् । कतिपयले नेपालगन्ज, सुर्खेत लगाएतका शहरहरूमा चिनोको रूपमा लिने गरेको चनाराले जानकारी दिए । एक दिनमा ठूला ३–४, साना ५–६ वटासम्म ठेकी कोर्ने गरेका छन् । लोप हुँदै गएको पराम्परागत सीपलाई आफ्ना छोरा भाइले सिकाउने ईच्छा भएको चनाराले बताए । ठेकी कोर्ने परम्परागत सीप लोप हुँदै गएको बताउदै चनाराले पछिल्लो पुस्ताले उक्त पेशाप्रति चासो नलिएकोमा चिन्ता ब्यक्त गरेका छन् ।

बिगत २ वर्षदेखी निरन्तर ठेकी कोर्ने पेशामा रहेका चनारा घर परिवारको खर्च चलाउने पैसा कमाउन भारतको सिम्लामा मजदुरी गर्न जान्थे । आफुसंग भएको सीपमै बाच्नुपर्छ भन्ने सोच जागेपछि कसैको गुलामी बन्नु पर्दैन भन्ने आँट पलाएको बताए ।

पैशा कमाउनका लागि भारत लगाएतका तेस्रो मुलुकमा गएर पसिना बगाउनुको साट्टा आफ्नै देशमा उद्यम गर्न युवाहरूलाई चनाराले सुझाव दिएका छन् । ठेकी कोर्ने पेशालाई दर्ता गरेर उद्योगमा बिकास गर्ने सोच रहेको बताउदै चनाराले उद्योग दर्ता पक्रियामा सहयोग गर्न स्थानीय सरकारसंग माग राखेका छन् । उद्योग संचालन गर्नका लागि सरकारी अनुदानसंगै बजार ब्यवस्थापनको आबश्यकता पर्ने चनाराको भनाई रहेको छ । चनाराले गीठाको ठेकी, थाल, कचौरा, गिलास, कप, अम्खोरा, गाबु लगाएतका काठका सामग्री बनाउने गरेका छन् ।

प्रतिकृया दिनुहोस्