Hamro Sanchar

नेकपा (एकीकृत समाजवादी) द्धारा प्रतिनीधि र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिस

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/५/१५ गते
जाजरकोट

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जाजरकोटले प्रतिनीधि सभा र प्रदेश सभामा चुनाव लड्ने उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । पार्टीको निर्वाचन क्षेत्रीय समन्वय समिति र जिल्ला समितिको बैठकबाट नेकपा (एस) ले प्रतिनीधि सभा र प्रदेश सभामा चुनाव लड्ने उम्मेदवारहरुको नाम टुङ्गो लगाएको हो ।

नेकपा (एस) जाजरकोटले प्रदेश सभा (ख) को निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठक यही भदौ  ९ गते सम्पन्न गरेको थियो भने, १० गते प्रदेश सभा (क) को निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठक सम्पन्न गरेको थियो । लगतै ११ गते जिल्ला समितिको बैठक सम्पन्न गरेको नेकपा (एस), जाजरकोटले प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचन लड्ने उम्मेदवारहरुको नाम टुङ्गो लगाएको पार्टी अध्यक्ष कमान बहादुर खड्काले जानकारी दिएका छन् । अध्यक्ष खड्काले दिएको जानकारी अनुसार प्रत्यक्ष निर्वाचन तर्फ प्रतिनीधि सभा सदस्य पदको लागि रिता रावलको नाम सिफारिस गरिएको छ । रावल पार्टी केन्द्रिय समिति सदस्य र जाजरकोट जिल्लाको सह–ईन्चार्ज हुन् । नेकपा एमालेबाट दोस्रो संविधान सभा सदस्य तथा सभासद भईसकेकी रावल जाजरकोट जिल्लाको उच्च महिला नेतृमा पर्दछिन् । त्यसैगरी नेकपा (एस), जाजरकोटले बन्द सुचीबाट प्रतिनीधि सभा सदस्यमा जानुका मल्लको नाम सिफारिस गरेको छ । विद्यार्थी राजनीतिबाट नेकपा एमालेको सक्रिय राजनीति सुरु गरेकी मल्ल हाल नेकपा (एस) को जाजरकोट जिल्ला समिति सदस्य र अनेरास्ववियूको केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारी समालेकी छन् । प्राविधिक धार तर्फ सिएमए पढाई पुरा गरेकी मल्लले स्वास्थ्य बिषयबाटै ब्याचुलर गरेकि छन् । लोकसेवा आयोगको परीक्षा तर्फ नलागेर नेकपा (एस) को सक्रिय राजनीतिमा अग्रसर भएकी छन् ।

त्यसैगरी अध्यक्ष खड्काले दिएको जानकारी अनुसार प्रदेश सभा (क) को प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवारमा पार्टी जिल्ला अध्यक्ष कमान बहादुर खड्काको नाम सिफारिस गरिएको छ भने, बन्दसुची तर्फ पार्टीको प्रदेश समिति सदस्य दिप बहादुर थापा, जिल्ला समिति सदस्य अमृता विसी (ओली) को नाम सिफारिस गरिएको छ । प्रदेश सभा (ख) को प्रत्यक्ष निर्वाचन तर्फको उम्मेदवारमा पार्टी केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज कृष्ण विसीको नाम सिफारिस गरिएको छ भने, समानुपातिक तर्फ मिरा अधिकारी, जिल्ला समिति सदस्य गोपाल बहादुर नेपालीको नाम नेकपा (एस), जाजरकोटले सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्रीय समन्वय समितिका बैठकबाट प्रस्तावित उम्मेदवारका नामलाई जिल्ला समिति र प्रदेश समितिको सिफारिसमा केन्द्रिय समितिले टिकट दिने प्रावधान रहेको अध्यक्ष खड्काले जानकारी दिएका छन् । आगामी मंसिर ४ गतेको प्रतिनीधि र प्रदेश सभाको निर्वाचनमा नेकपा (एस) को केन्द्रिय नीति चुनावी गठबन्धनको पक्षमा भएता पनि जिल्लामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को ईमान्दार भोटर भएर मतदान गर्न नसकिने अध्यक्ष खड्काको भनाई रहेको छ । स्थानीय तहको निर्वाचनमा प्रदेश स्तरीय सिट बाँडफाँड समितिले गरेको निर्णयप्रति जिल्लाका काँग्रेस, माओवादी इमान्दार बन्न नसकेको बताउदै अध्यक्ष खड्काले प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा काँग्रेस, माओवादीले सह–अस्तित्वको सिद्धान्तलाई स्वीकार गरेमा चुनावी गठबन्धनमा गर्न आफ्नो पार्टी तयार रहेको बताए । काँग्रेस माओवादीले नेकपा (एस) को सह–अस्तित्वलाई अस्वीकार गरेमा झोले कार्यकर्ता भएर काँग्रेस माओवादीलाई भोट हाल्नु भन्दा आफ्नो पार्टी एक्लै चुनाव लड्न तयार रहेको अध्यक्ष खड्को भनाई रहेको छ ।


Tagged
प्रतिकृया दिनुहोस्