Hamro Sanchar

विप्लव नेतृत्वको नेकपा जाजरकोटको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

सेक्रेटरीमा सर्वसहमत पौरख मल्ल चयन

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/५/३१ गते
जाजरकोट

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटको पाँचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय महाधिबेशनको पूर्वसन्धयामा नेकपा जाजरकोटले पाँचौं जिल्ला सम्मेलन सम्पन्न गरेको हो ।

सम्पन्न पाँचौं जिल्ला सम्मेलनले पौरख मल्ललाई पार्टीको जिल्ला सेक्रेटरीमा सर्वसहमत चयन गरेको छ । मल्ल सेक्रेटरी भएको जिल्ला कमिटीमा २ पछि थप्नेगरी गरी ३१ सदस्य जिल्ला कार्यसमिति चयन गरेको नव निर्वाचित सेक्रेटरी मल्लले जानकारी दिएका छन् ।

सेक्रेटरी मल्लले दिएको जानकारी अनुसार यही साउन ३० र ३१ गते दुई दिनसम्म चलेको पाँचौं जिल्ला सम्मेलन भेरी नगरपालिका–७ स्याउली बजारमा सम्पन्न भएको थियो । “दलाल पूजीवादी संसदिय व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाईमा विकास गरौं । –अबसरवादलाई परास्त गर्दै पार्टीलाई एकताबद्ध र सुदृढ गरौं ।” भन्ने मुल नारा सहित आयोजित पाँचौं जिल्ला सम्मेलनले नेपालको विद्यमान व्यवस्थाले राजनीतिक समाधान गर्न नसकेको निस्कर्ष निकालेको सेक्रेटरी मल्लले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । नेपालको विद्यमान राजनीतिक समस्या समाधान गर्न वा नयाँ राजनीतिक निकास निकाल्न जिल्ला सम्मेलनले जनमत संग्रहको राजनीतिक कार्यदिशा पास गरेको सेक्रेटरी मल्लले जानकारी दिएका थिए । एकीकृत जनक्रान्तिको कार्यदिशालाई आन्तरिक र बाह्य पंक्तिमा स्थापित गरेर लैजाने कार्यक्रम सम्मेलनले पास गरेको छ ।

बैचारिक कामलाई व्यवस्थित गर्न पाँचौ जिल्ला सम्मेलनले मालेमावादी सिद्धान्तमा रहेर पार्टी प्रशिक्षण, स्कुलिङ्ग संचालन गर्ने नीति तथा कार्यक्रम पास गरेको मल्लले जानकारी दिएका छन् । त्यसैगरी सम्मेलनले व्यापक जनसहभागितामा विकास निर्माण गर्नुको साथै विभिन्न क्षेत्रमा हुने भ्रष्टाचार, अनिमिततालाई नियन्त्रण गर्ने नीति तथा कार्यक्रम पास गरेको छ ।


Tagged
प्रतिकृया दिनुहोस्