News Portal

नलगाडमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र उद्घाटन

४७४ पटक

नलगाड नगरपालिकाको दल्लीमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र उद्घाटन भएको छ । बुधबार नगरपालिकाले एक बिशेष कार्यक्रमको आयोजना गरेर प्राथमिक आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरेको थियो ।

नगर प्रमुख डम्बर बहादुर रावतले रिभन काटेर उद्घाटन गरिएको प्राथमिक आँखा तथा कान उपचार केन्द्रलाई अष्ट्रलियन एड सिबीएमको आर्थिक सहयोगमा नेत्र ज्योति संघ सुर्खेतले १० लाख भन्दा बढिको सामाग्री र औषधि हस्तान्तरण गरेको छ । नेपाल नेत्र ज्योति संघद्धारा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको कर्णाली प्रदेश व्यवस्थापक मान बहादुर कुँवरले नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावतलाई सामाग्री र औषधि हस्तान्तरण गरेका थिए । आँखा तथा कान परीक्षण गर्न कार्यक्रमले नगरपालिकालाई १० लाख भन्दा बढिको ११ प्रकारका उपकरणहरु हस्तान्तरण गरिएको व्यवस्थापक कुँवरले जानकारी दिएका थिए ।

नगरपालिकामा स्थापना भएको प्राथमिक आँखा तथा कान उपचार केन्द्रको संचालन तथा व्यवस्थापन गर्न नगरपालिकाले कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याई सकेको नगर प्रमुख रावतले जानकारी दिएका थिए । आँखा र कान मानव जीवनको सबै भन्दा महत्वपूर्ण अंग भएको बताउदै नगर प्रमुख रावतले स्थापना भएको प्राथमिक उपचार केन्द्रलाई व्यवस्थित गर्नुको साथै स्तरउन्नती गर्न नगरपालिका लागि पर्ने प्रमुख रावतले भनाई राखेका थिए ।

प्राय आँखा तथा कानका विरामीहरु जीवनको उर्जाशिल समय विताईसकेका बयबृद्धहरु हुने गरेको जानकारी दिदै प्रर्व नगरप्रमुख टेक बहादुर रावलले बयबृद्धहरुको लागि घरमै स्वास्थ्य सेवा दिनसक्ने नीति तथा कार्यक्रम संचालन गर्नुपर्ने भनाई राखेका थिए । बयबृद्धलाई सम्मान गर्नुपर्ने धारना राख्दै पूर्व नगरप्रमुख रावलले आज आफु निर्णय गर्न मिल्ने तहमा नभएता पनि नलगाडको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सिंचाई, उर्जा, सडक, पुल, भवन लगाएतको समग्र विकासमा आफुले सदैव साथ दिईराख्ने भनाई राखेका थिए ।

प्राथमिक आँखा तथा कान उपचार केन्द्रले नलगाड नगरपालिकाका आँखा तथा कानका विरामीहरुको उपचारलाई सुलभ बनाउने प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले भनाई राखेका थिए । प्राथमिक उपचार केन्द्रले आधारभुत तहको उपचार गरेतापनि जटिल प्रकारका आँखा तथा कानका विरामीहरुलाई उपचारको लागि बाटो देखाउने काममा सहजता पैदा गर्ने अधिकृत गिरीले भनाई राखेका थिए । प्राथमिक उपचार केन्द्रमा आँखा तथा कानको परीक्षण तथा उपचार गर्नका लागि नलगाड नगरपालिकाले करार सेवामा नेत्र सहायकमा टंक हमाललाई नियुक्ति गरेको अधिकृत गिरीले बताएका छन् ।

उपचार केन्द्र उद्घाटन तथा संचालन गरिएको पहिलो दिनमै ३१ जना आँखाका विरामीहरुको परीक्षण तथा उपचार गरिएको नेत्र सहायक हमालले जाननकारी दिएका छन् । स्थापना भएको पहिलो दिनमा उपचार केन्द्रमा परीक्षण तथा उपचार गराउनेहरुमा ४५ देखि ७५ बर्ष उम्मेर समुहका नागरिकहरु रहेको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको सामुदायिक संयोजक निर्मला सुनारले जानकारी दिएकी छन् ।

प्रतिकृया दिनुहोस्