Hamro Sanchar

जाजरकोटमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेर मनाईयो ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/८/१८ गते
जाजरकोट

जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकामा ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । डिसेम्बर ३ तारिखमा अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो कपडा (जकेट) र कापी–कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरेर ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाईएको हो ।

नलगाड नगरपालिका–४ पिपलचौर स्थित जनता प्राथमिक (स्रोत) विद्यालयमा अध्ययनरत १९ जना अपाङ्गता भएका विद्यार्थी तथा बालबालिकाहरुहरुलाई न्यानो कपडा (जकेट) वितरण तथा हस्तान्तरण गरी ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईएको महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख ज्योति रावलले जानकारी दिएकी छन् । नलगाड नगरपालिकाद्धारा जनता प्राविमा स्रोत कक्षा संचालन गरिएको छ । उक्त विद्यालयमा नगरपालिका भित्रका अपाङ्गता भएका बालबालिकाहरुको आधारभुत शिक्षा सुनिश्चित गर्न स्रोत कक्षा संचालन गरिएको छ ।

न्यानो कपडा (जकेट) वितरण तथा हस्तान्तरण कार्यक्रमले स्रोत कक्षामा अध्ययनरत बालबालिकाहरुको लागि जाडो याममा ठुलै राहत पुगेको विद्यालयका प्रअ बल बहादुर रावलको भनाई रहेको छ । ३१ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाउन तथा बालबालिकाहरुलाई न्यानो कपडा (जकेट) वितरण गर्न पिलचौरको जनता प्राविमा पुगेका नगरप्रमुख डम्बर बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, पूर्वजिल्ला समन्वय प्रमुख मन बहादुर रावल, नगरपालिकाको शिक्षा शाखा प्रमुख बलवीर विक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममाया शाही (हमाल), विद्यालय प्रअ बल बहादर रावल लगाएतले आ–आफ्नो भनाई राख्दै स्रोत कक्षामा अध्ययनरत विद्यार्थीको शैक्षिक भविश्यको लागि शुभ–कामना व्यक्त गरेका थिए । दिवस मनाउन तथा न्यानो कपडा वितरण गर्न आयोजित कार्यक्रमको आयोजना नलगाड नगरपालिकाले गरेको थियो भने, नेपाल नेत्र ज्योति संघ, सुर्खेतले सहयोग तथा समन्वय गरेको थियो ।

त्यसैगरी भेरी नगरपालिकामा अपाङ्गता भएका बालबालिकालाई कापी, कलम लगाएतका शैक्षिक सामाग्री हस्तान्तरण गरेर ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाईएको थियो । भेरी नगरपालिकाद्धारा आयोजना गरिएको कार्यक्रममा नेपाल नेत्र ज्योति संघ, सुर्खेत र कारितास अष्ट्रेलियाले सहयोग तथा समन्वय गरेको थियो । अष्ट्रेलियन एड को आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल (यार्सन ) जाजरकोटको साझेदारीमा संचालित नेपाल जीवीकोपार्जन तथा उत्थानशीलता कार्यक्रम अन्तरगतको बालबालिका तथा युवा सशक्तिकरण परियोजनाको सहयोगमा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

नगर उप–प्रमुख सिता जैसीको अध्यक्षतामा आयोजित कार्यक्रममा चन्द्र ज्योति आधारभुत विद्यालय भेनपा–७ दोकानका २ जना र शिव माध्यमिक विद्यालय भेरी नगरपालिका–१ कालेगाउँका १ जना गरी जम्मा ३ जना अपाङ्गता भएका बालबालिकालाई कापी, कलम लगाएतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

“समावेशी विकासका लागि रुपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रावधान !” भन्ने राष्ट्रिय मुल नारा सहित ३१ औं अन्तरराष्ट्रिय अपाङ्कता दिवस मनाईएको थियो ।

प्रतिकृया दिनुहोस्