Hamro Sanchar

जाजरकोटमा कोरोना संक्रमितको संख्या ९६, एक जना डिस्चार्ज

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/१/१७ गते
जाजरकोट

जाजरकोट जिल्लामा नयाँ भेरिएन्ट सहितको कोराना भाइरस संक्रमितको संख्या ९६ जना पुगेको छ भने, एक जना सन्चो भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले सुक्रबार बिहान ६ बजे तयार पारेको रिपोर्ट अनुसार जाजरकेटमा कोरोना संक्रमितहरुको संख्या ९६ जना पुगेको हो भने, एक जना डिस्चार्ज भएका हुन् ।

बिहिबार गरिएको एन्टीजेन परिक्षणबाट २९ जनालाई कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका महामारी फोकलपर्सन कृष्ण खत्रीले जानकारी दिएका छन् ।

नयाँ भेरिएन्ट सहितको कोभिड–१९ को दोस्रो लहर चलेपछि जाजरकोट जिल्लामा गरिएको एन्टीजेन परिक्षणबाट कोरोना पुष्टी भएका ९६ जना बिरामी मध्ये जुनीचाँदे गाउँपालिकाका एक जना संक्रमित विरामी सन्चो भएर डिस्चार्ज भएको कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयलाई स्वास्थ्य सेवा कार्यालयले पठाईएको दैनिक रिपोर्टमा उल्लेख गरिएको छ । उक्त रिपोर्टमा जिल्लामा अब सक्रिय संक्रमित बिरामीहरुको संख्या ९५ जना रहेको उल्लेख गरिएको छ ।

सक्रिय संक्रमित ९५ जना विरामी मध्ये ८ जना बिरामी जिल्ला अस्पतालको आईशोलेसनमा राखेर उपचार भईरहेको छ भने, भेरी नगरपालिकाका ७९ जना संक्रमित बिरामीहरुलाई स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आईशोलेसनमै राखेर उपचार भईरहेको छ । त्यसैगरी शिवालय गाउँपालिकाका ८ जना संक्रमित विरामीहरुलाई पनि स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आइशोलेसन मै राखेर उपचार भईरहेको छ ।

अस्पताल र होम आइशोलेसनमा राखेर उपचार भई रहेका ९५ जना संक्रमित बिरामीहरु मध्ये ६० जना पुरुष र ३५ जना महिला रहेको महामारी फोकलपर्सन खत्रीले जानकारी दिएका छन् । यो समाचार प्रकाशन गर्दासम्म जिल्लामा शुक्रबार गरिएको परिक्षणको रिपोर्ट आउन सकेको छैन् ।

प्रतिकृया दिनुहोस्