News Portal

छेडागाडमा ३८१ जनाको स्वास्थ्य परीक्षण गरी ८१ जनालाई अपाङ्गता परिचय–पत्र वितरण

१८३ पटक

छेडागाड नगरपालिकामा अपाङ्गता परिचय–पत्र वितरण गरिएको छ । अपाङ्गता पहिचान गर्न संचालन गरिएको शिवीरबाटै ८१ जनालाई नगरपालिकाले अपाङ्गता परिचय–पत्र वितरण गरेको हो ।

नगरपालिकाले अपाङ्गता पहिचान तथा परिचय–पत्र वितरणका लागि दुई दिने विशेष शिवीर संचालन गरेको थियो । नगरपालिकाको आयोजनामा संचालित उक्त दुई दिने शिवीरमा सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले सहयोग गरेका थिए ।

दुई दिने उक्त शिवीरबाट ३८१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने, ८१ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको थियो । अपाङ्गता परिचय–पत्र वितरण गरिएका ८१ जना मध्ये ४ जनालाई रातो रंगको परिचय–पत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले दिएको जानकारी अनुसार ५७ जनालाई नीलो रंगको परिचय–पत्र वितरण गरिएको छ भने, २० जनालाई पहिलो र सेतो रंगको परिचय–पत्र वितरण गरिएको छ ।

उक्त शिवीरबाट रातो र नीलो रंगका परिचय–पत्र पाउने ६१ जनाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । शिवीरबाट आँखाको सम्बन्धिको सेवा लिनेमा ९६ जना रहेका थिए । अधिकांशमा न्यून दृष्टी र केहीमा मोतिबिन्दुको समस्या भएका व्यक्तिहरु फेला परेका थिए । त्यसैगरी कानको सेवा लिनेमा ९९ जना रहेका थिए भने सुस्त श्रवण भएका ७ जना रहेका थिए । सुस्त श्रवण भएका ७ जनालाई सहायता सामग्री वितरण गर्ने नगरपालिकाले जनाएको छ । त्यसैगरी ९३ जनाले हाडजोर्नी सम्बन्धिको सेवा लिएका थिए । हाडजोर्नीको सेवा लिएकामध्ये १७ जनालाई २७ वटा सहायता सामग्री वितरण गरिने भएको छ ।

छेडागाडको नगरअस्पताल र दशेरा स्वास्थ्य चौकीमा संचालन गरिएको शिवीरलाई अपाङ्गता भएका बालबालिका केन्द्रित गरिएको थियो । शिवीरमा बालबालिका र वयस्कहरूको फिजियोथेरापी, आँखा तथा कान सम्बन्धिको समस्यामा एकीकृत रुपमा सम्बोधन गर्ने प्रयास गरिएको थियो । पहिचान भएका अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाले सहायता सामग्री उपलब्ध गराउने छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापाले शिवीरमा भनाई राखेका थिए ।

अपाङ्गता पहिचान तथा परिचय–पत्र वितरण शिवीरमा प्राविधिक सहयोग कोहलपूर मेडिकल कलेज, स्वास्थ्य सेवा कार्यालय जाजरकोट, नेपाल रेडक्रस सोसाइटी जाजरकोटले गरेको थियो । शिवीर सफलतापूर्वक सम्पन्न भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटमा कार्यरत डाक्टर भुपेन्द्र बजगाईले भनाई राखेका थिए । शिवीरको समिक्षा कार्यक्रममा आफ्नो भनाई राख्दै डाक्टर बजगाईले शिवीरले सेवाग्राहीलाई सहजता पैदा गरेको बताएका थिए । अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री प्रदान गर्नुले मत्रै समस्या समाधान हुदैन डा. बजगाईले भने–“ स्वास्थ्य समस्या आउनुको पछाडिको कारण पहिचानगरी समस्या समाधान गर्ने खालको नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम बनाउन आबश्यक छ ।”

नगरपालिकाले पहिचान गरिएका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री प्रदान गर्ने र उनीहरुको जीवन सहज बनाउन विभिन्न प्रकारका कार्यक्रमहरुको योजना बनाई कार्यान्वयन गर्ने नगर उप–प्रमुख थापाले भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्