News Portal

कुशे गाउँपालिकाको ९ नम्बर वडालाइ बालमैत्री वडा घोषणा

३२८ पटक

कुशे गाउँपालिका–९ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । शनिवार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

बालमैत्री स्थानीय शासनका सवै सुचक पुरा भएपछि बाल अधिकार सुनिश्चित गर्न बालमैत्री वडा घोषणा गरिएको हो । यसअघि कुशेकै १ नम्बर वडालाई १२ चैत्र २०७८ मा बालमैत्री वडा घोषणा गरिएको थियो । घोषणासँगै यो वडा गाँउपालिकाको दोस्रो र जिल्लाकै तेस्रो बालमैत्री वडा बनेको छ । जाजरकोट प्रदेश क का प्रदेश सभा सदस्य वेदराज सिंहले पानसमा बत्तिबालेर बालमैत्री वडा घोषणा गरेका हुन् ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । निर्देशिकाको अनुसूची ३ मा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरू तय गरिएको छ । तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

बालमैत्री स्थानीय शासन स्थानीय तहमा बाल अधिकार सुनिश्चित गर्न ल्याइएको शासकीय अवधारणा हो । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकांश सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष शिवराज गिरीले बताए । बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष गिरीको भनाइ छ । बालबालिका लक्षित बजेट वृद्धि गर्दै चालू आर्थिक वर्षमा गाउँपालिकाले बालबालिका लक्षित योजना तथा कार्यक्रमका लागि २० प्रतिशत बजेट विनियोजन गरेको वडाध्यक्ष गिरीले बताए ।

बाल विवाहको दरलाई शून्यमा झार्न पनि चुनौती रहेको छ । वडालाई बालमैत्री घोषणाका लागि गाउँपालिका, वडा कार्यालय र सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा बालमैत्री भौतिक संरचना निर्माण, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएका थिए । गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बालमैत्री वडा घोषणासँगै कार्यान्वयनको चरणलाई प्राथमिकतामा राखिने बताए । ‘हालसम्म गाउँपालिकाका दुई वटा वडा बालमैत्री बनेका छन्, अब समग्र गाउँपालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने लक्ष्य लिएका छौँ,’ उनले भने । सत प्रतिशत जन्मदर्ता, खोप र विद्यालय भर्ना जस्ता कार्यक्रम सफल भएको र बालबिवाह समेत घटेको अध्यक्ष बस्नेतले बताए । जिल्लाको छेडागाड नगरपालिकाको वडा नं. ११ लाई सबैभन्दा पहिलो बालमैत्री वडाघोषणा गरिएको थियो । कार्यक्रममा बालमैत्री वडा बनाउन सहयोग गर्ने विभिन्न ब्यक्ति तथा संघ संस्थालाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्