Hamro Sanchar

जाजरकोट दरवार संग्राहलयका लागि सामाग्री दान गर्न प्रष्ठिानको अपील

महत्वपुर्ण सामाग्री दिनेलाई विशेष सम्मान गरिने

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/९/१४ गते
जाजरकोट

निकट भविष्यमा स्थापना हुन लागेको जाजरकोट दरवार संग्राहलयका लागि आफुसंग भएका ऐतिहासिक तथा पुरातात्वीक सामाग्रीहरु दान गर्न सार्वजनिक रुपमा जाजरकोटवासी तथा अन्य सम्वन्धित व्यक्तिहरुसंग अपील गरिएको छ । नेपाल सरकारले चार वर्ष अघि मुलुकका सय वटा प्रमुख पर्यटकीय गन्तव्यहरु मध्य सुचिकरण गरेको साढे एक सय वर्ष पुरानो जाजरकोट दरवारलाइ संग्राहलयको रुपमा विकास गर्न विशेष अभियान चलाइरहेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले वुधवार यस्तो अपील गरेको हो ।

निकट भविस्यमा स्थापना हुन लागेको संग्राहलयका लागि जाजरकोट राज्यको इतिहास, मौलिक कला सँस्कृति, भेषभुषा, परम्परा, सामाजिक तथा प्राकृतिक सम्पदाको पहिचान झल्काउने विभिन्न सामाग्रीहरु स्वस्फुर्त रुपमा प्रतिष्ठान मार्फत दान गर्न प्रतिष्ठानका अध्यक्ष जनक केसीद्धारा हस्ताक्षर गरिएको सार्वजनिक अपील मार्फत उक्त आग्रह गरिएको हो । संग्राहलयका लागि वाइसे चौविसे राज्यकालमा जाजरकोटी राजाहरुले शासन गर्दा प्रयोग गरेका शासन सन्चालन सम्वन्धी विभिन्न सामाग्रीहरु, दस्तावेजहरु, हातहतियारहरु, भाँडाकुडाहरु, ऐतिहासिक लिखतहरु, भेषभुषाहरु, वाजाहरु, जाजरकोट राज्यले उतिवेला गोरखा र काठमाडौंका राज्यवाट प्राप्त गरेका उपहार सामाग्रीहरु, चिठीपत्रहरु, नेपाल एकिकरणको लडाइका क्रममा गोरखा र काठमाडौंका राजा र सेनालाइ सहयोग गर्ने वेला जाजरकोटी सेनाले विभिन्न स्थानमा प्रयोग गरेका हातहतियार र अन्य सामाग्रीहरु स्वस्फुर्त रुपमा दान गरेर योगदान गर्न आफुहरुले विशेष गरि जाजरकोटी राजाका सन्तानहरु र तत्कालीन समयमा जाजरकोटी राज्यको शासनसंग नजिक रहेका व्यक्तिहरुलाइ आग्रह गरिएको प्रतिष्ठानका अध्यक्ष केसीले जानकारी दिए ।

भेरी नगरपालिका वडा नम्वर ३ पिपलडाँडामा रहेको जाजरकोट दरवारलाइ सुरक्षित, व्यवस्थित एवं मौलिक रुपमा भावी सन्ततिहरुका लागि हस्तान्तरण गर्न आफुहरुले सुरु गरेको जाजरकोट दरवार संग्राहलय वनाउने काममा ऐतिहासिक पुरातात्वीक तथा अन्य सामाग्रीहरु स्वस्फुर्त रुपमा दान गर्ने व्यक्तिहरुलाई विशेष सम्मान गरिने अध्यक्ष केसीले वताए । उनले संग्राहलयमा जिल्लाको इतिहासको मात्र नभइ जिल्लाको सातै स्थानीय तहहरुको कला, सँस्कृति, भाषा, साहित्य, भेषभुषा, सामाजिक तथा परम्परागत पहिचान झल्काउने सामाग्रीहरु पनि राखिने भएकोले यसका लागि सहयोग र योगदान गर्न सवै जाजरकोटवासीलाइ सार्वजनिक अपील गरिएको वताए । जाजरकोट दरवार संग्राहलयका लागि आवश्यक सवै प्रकारका सामाग्रीहरु संकलन तथा विभिन्न व्यक्तिहरुसंग समन्वय गर्न जाजरकोटका लागि प्रतिष्ठानका अध्यक्ष जनक केसी, सहसचिव राजुराजा सिंह, सचिव प्रचन्डजंग शाह र सदस्य अच्युतप्रसाद शर्मा र काठमाडौंका लागि समाजसेवीहरु निरज शाह, राजेश्वर कार्की र इन्दिरा शाहलाइ तोकिएको छ ।

संग्राहलयका लागि आफुसंग भएका सामाग्रीहरु स्वस्फुर्त रुपमा दान गर्ने व्यक्तिहरुको नाम संग्राहलयमा अभिलेखीकरण गरि प्रदर्शनमा राखिने, अति महत्वपुर्ण तथा धेरै सामाग्रीहरु दिने व्यक्ति तथा सँस्थाको पहिचय सहितको विवरण तस्वीर सहित संग्राहलयमा सवैले देख्न सक्ने गरि राखिने, र संग्राहलय स्थापनाका लागि ५० हजार भन्दा वढी नगद तथा जिन्सी सहयोग जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका लागि दिने व्यक्ति वा सस्थालाइ प्रतिष्ठानको मानार्थ ÷विशिष्ट सदस्यता दिएर विशेष सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष केसीद्धारा हस्ताक्षरित सार्वजनिक अपीलमा उल्लेख गरिएको छ ।

यस अघि जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले असोज १२ गते जिल्ला समन्व्य समितिले आयोजना गरेको जिल्ला सभाको ११ औं वैठकमा पेश गरेको जाजरकोट दरवार संग्राहलय सम्वन्धी अवधारणा पत्रलाइ स्वीकार गर्दै दरवार संग्राहलय वनाउने काममा सहयोग गर्न सवैलाइ आग्रह गर्ने निर्णय गरेको छ भने, जिल्ला प्रशासन कार्यालय जाजरकोटले दरवारको तेस्रो तलामा संग्राहलय स्थापनाका लागि स्थान प्रयोग गर्न र सामाग्री संकलन तथा भन्डारण गर्न अनुमति समेत दिइसकेको छ । आगामी तीन महिनामा जाजरकोट दरवार संग्राहलयको स्वरुप तयार हुने र जीर्ण दरवारको पुननिर्माणका लागि सम्वन्धित निकायमा सांसदहरु मार्फत वजेटको व्यवस्था गराउन पहल भइरहेको वताइएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्