News Portal

कुशेका पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान

७६८ जना छात्रालाई स्मार्ट कार्ड हस्तान्तरण

६४३ पटक

कुशे गाउँपालिकाका पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गरिएको छ । किशोरीसंग उपाध्यक्ष कार्यक्रम अन्तरगत पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गरिएको हो । भेन्डिङ्ग मेसिनबाट छात्राहरुलाई स्यानीटरी प्याड प्रयोगमा सरलता पैदा गर्न पाँच वटा माध्यामिक विद्यालयका ७६८ जना छात्रालाई स्मार्ट कार्ड वितरण गरिएको छ ।

महिनावारीको समस्याले किशोरीहरुको शैक्षिक सफलतालाई नछेकोस भन्ने उदेश्य राखेर हाल पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गरिएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका सिंहले बताएकी छन् । उपाध्यक्ष सिंहले दिएको जानकारी अनुसार जनता माध्यामिक विद्यालय पैंक, लक्ष्मी माध्यामिक द्यिालय खुर्पा, मान्ने ढुङ्गा माध्यामिक विद्यालय टालेगाउँ, भगवति माध्यामिक बिद्यालय अर्छानी र दुर्गादेवी माध्यामिक विद्यालय थर्पुभार्मामा भेन्डिङ्ग मेसिन जडान गरिएको छ । उक्त पाँच वटा विद्यालयका ७ कक्षा देखि १२ कक्षासम्म अध्ययनरत ७६८ जना छात्राहरुले महिनावारी हुदा स्मार्ट कार्डको प्रयोगगरी भेन्डिङ्ग मेसिनबाट स्यानीटरी प्याड प्रयोग गर्न सक्ने छन् उपाध्यक्ष सिंहले भनिन्–‘कुशे गाउँपालिकामा बाँकी रहेका सबै माध्यामिक विद्यालयहरुममा भेन्डिङ्ग मेसिन जडान गर्ने कार्यक्रम रहेको छ ।’

‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी ।’ भएको बताउदै उपाध्यक्ष सिंहले विद्यालयमा अध्ययनरत छात्राहरुको महिनावारी व्यवस्थापन गर्न भेन्डिङ्ग मेसिन जडान गर्नुको साथै स्मार्ट कार्ड वितरण गरिएको भनाई राखेकी छन् । माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गर्नेमा जिल्लाका सात वटै स्थानीय तहहरु मध्ये कुशे गाउँपालिकाका पहिलो भएको उपाध्यक्ष सिंहले दावी गरेकी छन् ।

विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गर्नुको साथै स्मार्ट कार्ड वितरण गर्नुले महिनावारी भएको समयमा विद्यालय छोड्नु पर्ने अबस्थाको अन्त्य भएको जनता माध्यामिक विद्यालय पैंकमा अध्ययनरत छात्रा समिक्षा सिंहको भनाई रहेको छ । विद्यालयको कक्षा कोठामा महिनावारी हुदा महिनावारीको व्यवस्थापन गर्न नसकेर साथीहरुको अगाडी श्रमिन्दो बन्नुपर्ने, कलास छोडेर घर जानुपर्ने अबस्थाको अन्त्यले छात्राहरुको पढाईमा सुधार ल्याउने पैंककै छात्रा सनिमा आरसीले बताएकी छन् । एक पटक स्मार्ट कार्ड प्रयोग गरेर भेन्डिङ्ग मेसिनबाट १८ वटा स्यानीटरी प्याड निकाल्न सकिने पैंककै अर्कि छात्रा सुजाता आरसीले जानकारी दिएकी छन् । भेन्डिङ्ग मेसिनबाट एक पटक निकालेका १८ वटा स्यानीटरी प्याडले एक पटकको महिनावारी व्यवस्थापन गर्न पुग्ने आरसीको भनाई रहेको छ । १८ वटा स्यानीटरी प्याडले एक पटकको महिनावारी व्यवस्थापन गर्न अपुग भएमा दोस्रो पटक स्मार्ट कार्ड प्रयोग गरी भेन्डिङ्ग मेसिनबाट स्थानीटरी प्याड लिन सकिने व्यवस्था गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्