News Portal

श्रीमतिले श्रीमान हत्या गरेको घटना पाँच बर्षपछि बाहिर आयो

शौचालयको खाडलबाट पाँच बर्षपछि प्रहरीले निकाल्यो मानव कङ्गाल

४९५ पटक

जाजरकोटमा श्रीमतीले श्रीमानको हत्या गरेको घटना पाँच बर्षपछि बाहिर आएको छ । हत्यागरी शौचालयको खाल्डोमा राखेर पुरेको लासको मानव कङ्गाल पाँच बर्षपछि नेपाल प्रहरीले निकालेको छ । गोप्य सुचनाको आधारमा नेपाल प्रहरीले पाँच बर्षपछि हत्याको घटनालाई पत्ता लगाएको हो ।

भेरी नगरपालिका–६ सिस्नेरीका श्रीमति भद्रकला कामीले लाठी प्रहारगरी श्रीमान काले कामीको हत्या गरेको खुलेको छ । ३० पुस २०७४ को राति लोग्ने स्वास्नी बीचको बिवादमा श्रीमति भद्रकलाले लोग्ने काले कामीको टाउकोमा लाठी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिएका थिए । पत्रकार सम्मेलनको आयोजना गरेर डिएसपी निरौलाले घटना सम्बन्धि पत्रकारहरुलाई जानकारी दिएका हुन् ।

छोरा तुल्सीराम र गोविन्दको सहयोगमा भद्रकलाले लोग्ने काले कामीको हत्या गरेको खुल्न आएको डिएसपी निरौलाले बताएका थिए । काले कामीको मृत्यु पश्चात श्रीमती भद्रकला र छोरा तुल्सीराम र गोविन्दको सल्लाहमा रातिको समयमा घर नजिकै रहेको शौचालयको खाडलमा लास पुरेका थिए ।

उक्त घटना सम्बन्धि गोप्य सूचना प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक सहित गएको प्रहरी टोलीले घटनास्थल पुगेर लास उत्खनन् गरेको थियो । शौचालयको खाडलबाट प्रहरी टोलीले दाँत सहितको खप्पर, प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट, कपडाभित्र मानव हड्डी भेटिएको थियो ।

घटनाबारे आवश्यक अनुसन्धान गर्न श्रीमती भद्रकला र छोरा तुल्सीरामलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकी भद्रकला र तुल्सीरामलाई ५ दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत, जाजरकोटले म्याद दिएको डिएसपी निरौलाले जानकारी दिएका छन् । घटनासंग सम्बन्धित थुप्रै अनुसन्धान गर्न बाँकी रहेको जानकारी दिदै डिएसपी निरौलाले थप अनुसन्धानलाई प्रभावित पार्ने खालका अनुसन्धानबाट खुलिसकेका कयौं बिषयहरु सार्वजनिक गर्न नमिल्ने बताएका थिए ।

हत्या हुदाको समयमा काले कामी ४७ बर्षका थिए भने, हाल उनको श्रीमति भद्रकली ५० बर्षको भएको प्रहरीले जनाएको छ । भद्रकलीसंगै पक्राउ परेका छोरा तुल्सीरामको उम्मेर १८ बर्ष पुगेको प्रहरीले जनाएको छ । घटना हुदाको समयमा १३ बर्षका तुल्सीरामलाई हाल जिल्ला अदालतले दिएको आदेश अनुसार आमा भद्रकलीसंगै हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । १८ बर्षिय छोरा तुल्सीराम घटनाको समयमा १३ बर्षको भएको हुदा उनलाई अपराधिका रुपमा भन्दा पनि बिजाइँका रुपमा लिनुपर्ने अधिकारकर्मीहरुको भनाई रहेको छ । बिजइँकर्ताका रुपमा रहेका तुल्सीरामको अनुसन्धानमा बाल न्यायको अबधारणा र सिद्धान्तलाई लागु गर्नुपर्ने अधिकारकर्मी निर्मला थापाको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्