News Portal

न्यायको खोजीमा अदालतको ढोका ढकढक्याउने राधिकाको अठोट

६२८ पटक

भेरी नगरपालिका–६ की राधिका चन्द सरकारबाट पिडीत एक सामान्य महिला हुन् । २०५७ सालको द्धन्दकालिन समयमा चन्दलाई सुर्खेत जिल्लाको घुमखरे गाविस–९ भेराबारीबाट पक्राउ गरी तत्कालिन प्रहरीले मुद्धा चलाएर जेल हालेको थियो । ८ बर्ष भन्दा बढिको समय कारागारमा राखेर चन्दलाई गरिएको प्रहरी अनुसन्धानका आधारमा जाहेरीवालाको मागदावीमा सुर्खेत जिल्ला अदालतले सफाई दिएको थियो । जिल्ला अदालतले दिएको सफाईले जेल जीवनबाट मुक्ति पाएता पनि चन्दको आत्माले अहिलेसम्म मुक्ति पाउन सकेको छैन । अदालतको आदेशले जेलमुक्त भएको १४ बर्ष वित्तिसक्दा पनि राधिकालाई १० दिनसम्म प्रहरी हिरासतमा राखेर दिएको यातनाको पिडाले अहिले पनि सताउने गरेको छ । ८ बर्ष २ महिना ५ दिनसम्म बन्दी भएर कारागारमा भोग्नु परेको कठिनाईको भुतले सताई रहेको छ । हिरासत र कारागार भित्र आफुले भोग्नु परेको पीडालाई सम्झेर राधिका अहिले पनि बेला–बेलामा झस्किने तथा बरबराउने गरेकी छन् । ८ बर्ष लामो जेल जीवनको पीडालाई सम्झेर बेला–बेला होस गुमाउन विवश राधिकाले यतिवेला न्यायको खोजीमा अदालतको ढोका ढकढक्याउने शंकल्प गरेकी छन् ।

जाहेरीवालाको मागदावीलाई अदालतले खारेजी गरेका आधिकारिक प्रमाणमा रहेर राधिकाले बिना कसुर आफुले ८ बर्ष जेल जीवन विताएको क्षेतीपूर्ती सरकारले दिनुपर्ने दावी गरेकी छन् । चन्दले सनिवार पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो मागदावी सार्वजनिक गरेकी छन् । २०५७ सालमा आफु १३ बर्षको नाबालिका भएको जानकारी दिदै राधिकाले १३ बर्षको नाबालिकालाई राज्य विरुद्धको अपराध र सजाय ऐन–२०४६ को दफा ३, २ र ३, ४ ले गरेको व्यवस्था अनुसारको सजायको मागदावी राखी जेल सजाय दिन पाईने कुनैपनि कानुनी सुविधा नभएको जिकिर गरेकी छन् ।

पत्रकार सम्मेलनमा राधिकाले आफुलाई प्रहरीले २०५७ साल बैसाख ३ गते सुर्खेतको घुमखरे गाविस–९ भेरावारीबाट पक्राउ गरी सुर्खेत जिल्ला अदालतको आदेशले २०६५ असार १८ गते रिहा गरेको जानकारी दिएकी छन् । प्रहरीले पक्राउ गर्ने वेलामा आफु १३ बर्षको नाबालिका भएको राधिकाले बताएकी छन् । पक्राउ गरीसकेपछि राधिकालाई प्रहरीले १० दिनसम्म हिरासतमा राखेर यातना दिनुको साथै राज्य विरुद्धको अपराधमा संलग्न रहेको बयान गर्न बाध्य पार्ने गरेको थियो । प्रहरी सहायक निरिक्षक सुरेन्द्र केसीको जाहेरीले राज्य विरुद्धको अपराध मुद्धा लगाईसकेपछि ८ बर्ष २ महिना ५ दिन कारागारमा बन्दी बनाएर अनुसन्धान गरिएको थियो राधिकाले भनिन्–‘जिल्ला कारागारामा ८ बर्ष २ महिना ५ दिनसम्म बन्दी बनाएर प्रहरीले लिएको बयान तथा गरेको अनुसन्धानबाट राज्य विरुद्धको अपराधमा संलग्न भएको आधिकारी प्रमाण जुट्न नसकेपछि जिल्ला अदालतले मलाई २०६५ साल असार १८ गते सफाई दिएको थियो ।’ अदालतले दिएको सफाईबाट राधिका जेल मुक्त भएकी थिईन् ।

राधिका जेल पर्दा १३ बर्षिय नाबालिका भएतापनि जेल मुक्त हुदा २१ बर्षिय लक्का युवती थिईन् । तल्कालिन खलंगा गाविस–४ बोहोराकी राधिकाले जेल मुक्त भए लगतै हालको भेरी नगरपालिका–६ गंगटियाका युद्धवीर सिंहसंग बिवाह गरेकी थिईन् । हाल उनका १ छोरी र १ छोरा रहेका छन् । १३ बर्षिय छोरी अपराजिता सिंहले ५ कक्षामा अध्ययन गरिरहेकी छन् भने, ६ बर्षिय छोरा आयुष्मान सिंह भक्खरै स्कुल जान थालेका छन् । उनको स–परिवार अहिले भेरी नगरपालिका–३ मा अस्थायी बसोबास गर्दै आएको छ । अहिले राधिका ३५ बर्षकी भईन् । उनको उमेर ढल्केसंगै ४ जना परिवारको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत व्यवस्थापन गर्नुपर्ने जिम्मेवारीको भारीले थिचारेको छ ।

१३ बर्षको नाबालिकालाई राज्य विरुद्धको अपराधमा संलग्न रहेको भन्ने आरोपमा मुद्धा लगाएर जेल हाल्नुको साथै लगाईएको कसुरमा जिल्ला अदालतले सफाई दिईसकेपछि ८ बर्ष २ महिना ५ दिन जेल जीवन विताउनु परेको क्षेतिपुर्ती भराई पाउ भनि हाल आफु फेरी अदालतको ढोकामा पुग्न लागेको राधिकाले बताएकी छन् । अब आफुले अदालतबाट पाउने न्यायलाई सुलभ बनाउन अधिकारकर्मी र नागरिक अभियान्ताहरुलाई सहयोग गर्न राधिकाले अपिल गरेकी छन् ।

प्रतिकृया दिनुहोस्