News Portal

शैक्षिक सुधारका लागि कुशे–९ मा हेलो अध्यक्ष कार्यक्रम संचालन

४१७ पटक

कुशे गाउँपालिकाको वडा नं. ९ ले शैक्षिक सुधारका लागि ‘हेलो अध्यक्ष कार्यक्रम’ संचालनमा ल्याएको छ । गत पुस महिनाको १० गते बसेको वडा समितिको बैठकबाट ‘शैक्षिक सुधार कार्यविधी–२०७९’ पारित गरी ‘हेलो अध्यक्ष कार्यक्रम’ संचालनमा ल्याईएको हो ।

जिल्लाका कतिपय वडाहरुले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेका छन्, कतिपय वडाहरुले भौतिक पूर्वाधार विकास त कतिपय वडाहरुले आर्थिक विकास तथा रोजगारलाई प्राथमिकतामा राखेका छन् भने, कुशे गाउँपालिकाको वडा नं. ९ ले शैक्षिक सुधारलाई पहिलो प्राथमिकतामा राखेको वडा अध्यक्ष शिवराज गिरीले जानकारी दिएका छन् । शैक्षिक विकास बिना अन्य विकासको कल्पना गर्न नसकिने बताउदै अध्यक्ष गिरीले आफ्नो कार्यकालमा वडा नं. ९ को शैक्षिक अबस्थालाई सुधार गरेरै छाड्ने बताएका छन् । एउटा भुगोल तथा स्थानको समृद्धि र विकास गर्नसक्ने दक्ष जनशक्तिको आबश्यक पर्ने बताउदै अध्यक्ष गिरीले आबश्यकता अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक सुधार गर्नुपर्ने भनाई राखेका छन् ।

वडा समितिको बैठकबाट गत पुस १० गते पारित गरिएको ‘शैक्षिक सुधार कार्यविधी–२०७९’ लाई पुस १५ गते प्रकाशन गरी कार्यान्वयनमा ल्याएको अध्यक्ष गिरीले जानकारी दिएका छन् । ‘शैक्षिक सुधार कार्यविधी–२०७९’ ले गरेको व्यवस्था अनुसार ९ नम्बर वडामा संचालन गरिएको ‘हेलो अध्यक्ष कार्यक्रम’ ले शिक्षक, विद्यार्थी, अविभावक, विद्यालय व्यवस्थापन समितिबाट आएका गुनासोहरुको तत्काल सम्बोधन गर्ने काम गरिएको अध्यक्ष गिरीले वताएका छन् ।

उक्त ‘शैक्षिक सुधार कार्यविधी–२०७९’ को परिच्छेद, ३ मा सामुदायिक शिक्षा समिति र सामुदायिक शैक्षिक संघको व्यवस्था गरिएको छ । परिच्छेद, ४ मा शैक्षिक सुधारका लागि प्रत्येक महिनाको एक पटक सवै विद्यालयमा अनिवार्य शिक्षक, विद्यार्थी र अविभावक बिच अन्तरक्रिया कार्यक्रम संचालन गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यविधीको परिच्छेद, ५ मा ‘अविभावक शिक्षा कार्यक्रम’ संचालन गर्नुपर्ने व्यवस्था गरिएको छ । ‘अविभावक शिक्षा कार्यक्रम’ अन्तरगत घरमा अविभावकले करेसाबारी बनाए बाफत उत्तम बनाएमा ५, मध्यम बनाएमा ३ र साधारण बनाएमा २ नम्बर प्राप्त अंक दिन मिल्ने कार्यविधीमा व्यवस्था गरिएको छ । त्यसैगरी विद्यार्थीलाई नियमित विद्यालय पठाए बाफत ८० प्रतिशत भन्दा माथि विद्यालयमा हाजिरी गराएमा ५, ५० देखि ८० प्रतिशत विद्यालय हाजिरी गराएमा ३ र ५० प्रतिशत भन्दा कम विद्यालय हाजिरी गराएमा २ नम्बर प्राप्त अंक दिन सकिने व्यवस्था गरिएको छ । त्यसैगरी बच्चाहरुको रेखदेखको लागि अविभावकहरु ८० प्रतिशत भन्दा माथि विद्यालयमा सहभागी भएमा ५, ५० देखि ८० प्रतिशत विद्यालयमा सहभागी भएमा ३ र ५० प्रतिशत भन्दा कम विद्यालयमा सहभागी भएमा २ नम्बर प्राप्त अंक दिन सकिने कार्यविधीले व्यवस्था गरेको छ । कार्यविधीको परिच्छेद, ६ मा शैक्षिक सुधारका लागि ‘हेलो अध्यक्ष कार्यक्रम’ संचालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कुशे, ९ को शैक्षिक सुधार कार्यविधी, २०७९

प्रतिकृया दिनुहोस्