Hamro Sanchar

माधव कुमार नेपाल राष्ट्रपतिको उमेरदवार बनेमा नेकपा एमालेलाई स्वीकार्य हुन्छः–योगेश भट्टराई

डिजिटल संचार संवाददाता प्रकाशित : २०७९/११/१० गते
जाजरकोट

नजिकिदै गरेको राष्ट्रपति निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल उमेरदवार बनेमा नेकपा एमाले पार्टीलाई स्वीकार्य हुने पार्टी सचिव योगेश भट्टराईले बताएका छन् । प्रेस चौतारी नेपाल, जाजरकोटले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा समसामयिक बिषयमा आफ्नो धारणा राख्दै नेकपा एमालेका सचिव भट्टराईले यस्तो बताएका हुन् ।

नेकपा एमाले पार्टीले संचालन गरेको दुई महिने ‘मिसन ग्रास रुट’ अभियानको उद्घाटन गर्न जाजरकोट पुगेका सचिव भट्टराईले पत्रकार भेटघाट कार्यक्रममा सरकार गठनको बेलामा गरिएका सहमतिहरु कार्यान्वयन गर्न नेकपा (माओवादी केन्द्र) ईमान्दार हुनुपर्ने भनाई राखेका थिए । गत पुस १० गते सरकार गठन गर्ने वेलामा नेकपा एमाले, (माओवादी केन्द्र) लगाएतका सात राजनीतिक पार्टी बीच उच्च स्तरीय लिखत सहमति भएको बताउदै पूर्वमन्त्री भट्टराईले सत्ता गठबन्धन दल भित्रका पार्टीलाई उच्च स्तरीय लिखत सहमति भन्दा बाहिर पठाउन विदेशी चलखेल भईरहेको आरोप लगाए । राष्ट्रपतिको निर्वाचनमा माधव कुमार नेपाल उमेरदवार बनेमा नेकपा एमालेलाई स्वीकार्य हुने बताउदै सचिव भट्टराईले सबैको साँझा उमेरदवार बन्नलाई माधव कुमार नेपाल आफैले पहल गर्नुपर्ने भनाई राखेका थिए ।

अहिलेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रति जनता सन्तुष्टि हुन सकेका छैनन नि ? भन्ने पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिदै सचिव भट्टराईले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको विकल्प नभएको बताएका थिए । अहिलेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई अझ बढि उन्नत र जनमैत्री बनाउन सबै लागि पर्नुपर्ने बताउदै सचिव भट्टराईले यो व्यवस्थाको अहिलेनै विकल्प खोजी गरि हाल्नुपर्ने अबस्था नआएको बताएका थिए ।

यतिवेला नेकपा एमाले पार्टीले देशव्यापी रुपमा दुई महिने ‘मिसन ग्रास रुट’ अभियान संचालन गरेको जानकारी दिदै सचिव भट्टराईले देशका ७५३ वटै पालिकामा दुई महिने अभियान संचालन गरेर पार्टी तथा जनवर्गिय संगठनहरु सुदृढिकरण तथा विस्तार गर्न लागेको बताए । पार्टीले संचालन गरेको उक्त दुई महिने अभियानबाट नेकपा एमालेले अगाडी सारेको जनताको बहुदलिय जनवाद बैचारिक श्रेष्ठतालाई नयाँ उचाईमा पुर्याउने बिश्वास व्यक्त गर्दै सचिव भट्टराईले दुई महिने अभियानका माध्यामबाट विगत निर्वाचनको मसिनो समिक्षा गर्ने योजनालाई पार्टीले अघि सारेको बताए । दुई महिने अभियानमा नेकपा एमालेले देशव्यापी रुपमा १० लाख ९२ हजार पार्टी सदस्यहरुलाई परिचालन गर्ने लक्ष्य लिएको सचिव भट्टराईले जानकारी दिएका थिए ।

पार्टीले संचालन गरेको दुई महिने ‘मिसन ग्रास रुट’ अभियानमा जाजरकोट जिल्लाको नेतृत्व पार्टी पोलिट व्युरो सदस्य लक्ष्मी प्रसाद पोखरेलले गर्ने पार्टी जिल्ला अध्यक्ष खिम बहादुर शाहीले जानकारी दिएका छन् । त्यसैगरी पार्टी केन्द्रिय सदस्य राज बहादुर वुढा, तिर्था गौतम, चन्द्र प्रकास घर्तीले पालिकाहरुको नेतृत्व गरेर अभियान संचालन गर्ने कार्यक्रम रहेको अध्यक्ष शाहीले बताएका छन् । ७७ वटा वडा र ७ वटा पालिका रहेको जाजरकोट जिल्लामा ८ हजार ३०७ पार्टी सदस्यहरुलाई परिचालन गर्ने लक्ष्य रहेको अध्यक्ष शाहीले जानकारी दिएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्