News Portal

प्रहरी कुटपिटका विरुद्धमा खलंगामा प्रदर्शन

जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र हस्तान्तरण

३२० पटक

नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य तथा एमाले जाजरकोट सचिवालय सदस्य विश्वविक्रम शाहलाई प्रहरीले सोमवार बेलुका गरेको कुटपिट तथा अभद्र ब्यवहारको विरोधमा जिल्ला सदरमुकाम खलंगामा प्रर्दशन गरिएको छ ।

कुटपिटको विरोधमा निकालिएको स्थानियको जुलुशले बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी सम्बोधन गरिएको ध्यानाकर्षण पत्र प्रजिअ अन्जन न्यौपानेलाई नागरिक समाज जाजरकोट संयोजक राजेन्द्र विक्रम शाहले हस्तान्तरण गरेका थिए ।

यही फाल्गुन २२ गते बेलुका ६ः३० बजे तिरको समयमा भेरी नगरपालिका वडा नं.३ ठाँटी बजारमा सुरक्षाकर्मीद्धारा स्थानीय समाजसेवी विश्व विक्रम शाह समेतका व्यक्तिलाई कुटपीट, अभद्र व्यवहार तथा गाली गलौज गरी कब्जामा लिएको, जवरजस्ती ठाँटी बजारका औषधी पसल समेत बन्द गर्न लगाएको, स्थानीय व्यापारी नीम बहादुर डाँगी र कोठा जाँदै गरेको बारेकोट निवासी विद्यार्थी माल बहादुर समेतलाई अभद्र व्यवहार गरेको घटना प्रति ध्यानाकर्षण भएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । प्रजिअ न्यौपानेलाई हस्तान्तरण गरिएको ध्यानाकर्षण पत्रमा आज मिति २०७९ फाल्गुन २३ गते बसेको सर्वपक्षीय बैठकले प्रहरीद्धारा गरिएको उक्त हर्कतको निन्दा गरेको जानकारी गराउंदछौं भनिएको छ । बैठकले घटनाको नेपाल सरकारको तर्फवाट छानवीन गर्न, पीडितलाई न्याय दिलाउन र पीडकमाथी कारवाही गर्न जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा ध्यानाकर्षण पत्र हस्तान्तरण गर्ने निर्णय भए वमोजिम २०७९ साल फाल्गुन २२ गते बेलुका भेरी नगरपालिका वडा नं. ३ ठाँटी बजारको घटनाको छानवीन तथा कारवाहीका लागि माग गर्दछौं, प्रजिअ न्यौपानेलाई बुझाईएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

दिउसो एक बजे खलंगाको ठाँटी बजारदेखि सुरु गरिएको नागरिक प्रदर्शन, गैरीखाली हुदै जिल्ला प्रशासन कार्यालयको गेटसम्म पुगेको थियो । नागरिक प्रदर्शनमा प्रहरी दमन मुर्दावाद, नागरिक कुटन पाइदैन, नागरिक सर्वोच्चता कायम गर लगायतका नारा लगाएको थियो ।

होलीको दिन भाई मीनकृष्ण शाहको उपचारका लागि रोयल फार्मेसी ठाँटीमा उपचार गर्ने क्रममा प्रहरी आएर सिठी फुक्दै एक्कासी मेडिकल बन्द गर्न आदेश दिएका थिए । घाइतेको उपचार गर्न दिनुहोस । अपराधी नै भएपनि उपचार पहिलो प्राथमिकता हो भनेर विश्वविक्रमले भनेपछि बढी बोल्छस भनेर प्रहरीले उनलाई निर्घात कुटपिट गरेको थियो ।

विश्व विक्रमका भाई मीनकृष्णले चौधरी केटाहरुलाई कुटपिट गरि भाग्दै गर्दा प्रहरीले पक्राउ गरि प्रहरी चौकीमा ल्याएको थियो । भाग्ने क्रममा उनी सामान्य घाइते भएको प्रहरीको भनाई छ । मीनकृष्ण घाइते भएको जानकारी पाएपछि प्रहरी चौकी पुगेका विश्वविक्रम र प्रहरी विच विवाद र भनाभन भएको बताईएको छ । उपचार गर्ने भन्दै भाईलाई मेडिकलमा लिएर आएका विश्वविक्रम माथि प्रहरीहरु जाईलागेको प्रत्यक्षदर्शीले बताएका छन् । दर्जनौको संख्यामा आएका प्रहरीले विश्वविक्रमलाई कुटपिट गर्न थालेपछि कुटपिट नगर्न अनुरोध गर्ने सर्वसाधारणलाई समेत कुटेका थिए । कुटपिट गरेपछि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पुरयाईएका शाहलाई सामान्य सोधपुछ पछि राती नै छोडिएको थियो ।

यता जिल्ला प्रहरी प्रमुख सन्तोष रोकामगरले प्रहरी इकाइ तोडफोड गर्न खोजेको र प्रहरी चौकीमै प्रहरीलाई धम्की दिएपछि नियन्त्रणमा लिएर सामान्य सोधपुछ गरिएको तर कुटपिट नगरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्