Hamro Sanchar

״महिला सशक्तिकरणमा शिक्षा क्षेत्रको भूमिका”

–नागरिक समाज अगुवा राजेन्द्र विक्रम शाह प्रकाशित : २०७९/११/२४ गते
जाजरकोट

“Digit All: Innovation and Technology for Gender Equality״ भन्ने अन्तरराष्ट्रिय नारा र “लैंगिक समानताको वलियो आधार ः सिर्जनात्मक प्रविधिमा महिलाको पहुंच विस्तार” भन्ने राष्ट्रिय नारा सहित मनाईंदै गरेको ११३ औं अन्तरराष्ट्रिय महिला दिवश, २०७९ का अवसरमा विश्वभरका सवै श्रमजीवि महिलाहरु र समावेशी समाज निर्माणका हिमायतीहरुमा हार्दिक अभिवादन ।

अर्थपूर्ण लैंगिक समानताका लागि श्रृजना र प्रविधिमा महिलाहरुलाई जोड्न अनिवार्य भएको विषयमा विश्वव्यापी वहस चल्दै गर्दा “महिला सशक्तिकरणमा शिक्षा क्षेत्रको भूमिका” विषयमा चर्चा गर्नु अति समसामयिक रहेको अनुभूति भएको छ । कार्यक्रमका अध्यक्ष र अतिथिज्यूहरु,

समाजको गतिशील र परिवर्तनशील यात्रालाई विभिन्न पक्षहरुले प्रभावित पारिरहेका हुन्छन् । परिवर्तन तर्फ उन्मुख मानव चाहनालाई मुर्त रुप दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्षेत्रहरुमा शिक्षा क्षेत्र अत्यन्त महत्वपूर्ण पक्ष हो । नयाँ नयाँ सत्यको खोजी तथा निरुपण गर्न र जीवन उपयोगी प्रणालीहरुको विकास गर्न शिक्षाले निर्णायक भूमिका खेलिरहेको हुन्छ । शिक्षाको विकास र विस्तार मानवको समृद्धि र समग्र विकासका साथै चुनौतीहरुलाई पार गर्ने औजार वा साधन हो । शिक्षाले नागरिकहरुलाई अवसर र विकल्पको पहिचान गर्न, स्वास्थ््य तथा पोषण मैत्री व्यवहारहरुको अवलम्वनवाट सुरक्षित र मर्यादित जीवन प्राप्त गर्न एवं गरिवीको न्यूनीकरण गर्न सहयोग पुर्याई रहेको हुन्छ ।

पितृसत्तात्मक सोचमा आधारित राजनीतिक र सामाजिक शासनका कारण परनिर्भरताको जांतो मुनि पिल्सिएका महिलाहरुले विभिन्न प्रकारका हिंसा, विभेद, शोषण र दुव्र्यवहारहरुको सामना गरिरहेको अवस्थामा हाम्रो शासन प्रणाली र व्यवहारहरु तथा विकासको चरित्रलाई समावेशी वनाउने प्रयासहरु पनि भएको देखिन्छ । तर पनि शासनको स्वरुप मात्रै परिवर्तन गरेर महिलाहरुको जीवनका जोखिमहरु कम हुंदैनन् । विश्व व्यापी रुपमा गरिएका विभिन्न अध्ययनहरुले महिलाहरुको जीवनलाई आत्मनिर्भर, हिंसामुक्त, मर्यादित र अधिकार सम्पन्न वनाउन मुख्य रुपमा आर्थिक तथा सामाजिक सशक्तिकरण अपरिहार्य भएको निश्कर्ष निकालेका छन् ।

मार्च ८ मा संसार भर मनाईने अन्तरराष्ट्रिय महिला दिवशमा हामीहरु महिलाको जीवनमा देखिएका चुनौतीहरु केलाउंदछौं र ती चुनौतीहरुको सामना गर्न सशक्तिकरणका पाईलाहरु चाल्ने प्रतिवद्धता गर्दछौं । महिलाहरुको जीवन रुपान्तरण र परिवर्तनका शंकल्पहरुलाई साकार पार्न शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । मानिसहरुको ज्ञान, धारणा र शीपलाई प्रवद्र्धन र सम्वद्र्धन गर्न जीवन उपयोगी र गुणस्तरीय शिक्षाको सुनिश्चितता विश्व व्यापी लक्ष्य हो । यस लक्ष्यले सवैका लागि समावेशी र समतामूलक गुणस्तरीय शिक्षाका लागि जीवन पर्यन्त सिकाई सुनिश्चित गर्ने मार्ग निर्देशन गर्दछ ।

महिला अधिकारलाई व्यवहारमा संस्थागत गर्ने विश्वव्यापी प्रतिवद्धताहरुमा महिलाहरुको सशक्तिकरण र सशक्तिकरणका लागि शिक्षाको अनिवार्यतालाई स्वीकार गरिएको छ । महिलाहरुको सशक्तिकरणका प्रयासहरुलाई अर्थपूर्ण वनाउन गुणस्तरीय, जीवनउपयोगी र समावेशी शिक्षाले महत्वपूर्ण योगदान दिन्छ । कमजोर महिलाहरुनै दुव्र्यवहार, शिंसा र शोषणको शिकार भैरहेका सत्यहरु प्रकट भैरहन्छन् । पर्याप्त शिक्षा, सूचना र सचेतनाको पहुंचमा रहेका महिलाहरुले न्यून शिक्षा, न्यून सचेतना र न्यून शीप रहेका गरिव र वेरोजगार महिलाहरुको तुलनामा कम जोखिम झेलिरहेको देखिन्छन् । शिक्षाले पछाडी पारिएका सामाजिक समूहका आवश्यकताको परिपूर्ति गर्ने, दीगो र अर्थपूर्ण सामाजिक शान्तिका आधारहरुको निर्माण गर्ने, सवै प्रकारका विपद र झै झगडा सामना गर्ने, जीवन रुपान्तरणका अवसरको श्रृजना गर्ने र अवसर, श्रोत र साधनमा पहुंच वढाउंछ ।

नेपाली समाज जस्तो पितृसत्तात्मक सोचमा जकडिएको समाजमा विगत देखि नै महिलाहरुको सन्दर्भमा गरिवी, अशिक्षा, असहिष्णुता, असहयोगिता आवाश विहीनता, सम्पत्ति विहीनता जस्ताको परिवेश र वातावरण हाम्रा वरीपरी विद्यमान छ । यस्तो अवस्थालाई परिवर्तन गर्न राजनीतिक प्रणालीको विकास मात्रले सम्पूर्णता दिंदैन । लैंगिक मैत्री दीगो विकास, समाजका सवै अंगमा महिलाहरुको पहुंच, सहभागिता र नियन्त्रण स्थापित गर्न महिला सशक्तिकरण आवश्यक रहेको र शिक्षाले महिला सशक्तिकरणको दिशालाई सार्थक वनाउंदछ ।

शिक्षाले एकातिर हिंसा, शोषण, गरिवी, असमानता, वेरोजगारी झेलिरहेका महिलाहरुलाई श्रोत, साधनसंग जोड्दछ भने शिक्षाले पुरुषहरुलाई महिलालाई वस्तु मात्र ठान्ने अभौतिक सोचाईलाई वदल्दै सम्मानजनक जीवनको अर्थ पुरुष महिला समान सहभागिता, समान मर्यादा र निर्णय प्रक्रियामा महिलाको भावना र विचारको कदर गर्ने मानव सोच र सचेतना स्थापित हुन सक्छ ।

शिक्षाले महिलाहरुमा आत्मविश्वास र आत्मवलको विकास गर्दछ । शिक्षाले नै वेरोजगारलाई रोजगारीमा जोड्दछ, शिक्षाले नै हाम्रा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक अभ्यासहरुमा विद्यमान लैंगिक विभेदहरुलाई समयानुकूल रुपमा पहिचान गर्ने र अवैज्ञानिक, तर्कहीन तथा अवैज्ञानिक सोचलाई र व्यवहारलाई त्याग्न उत्प्रेरित र दवाव श्रृजना गर्दछ । शिक्षा मार्फत महिलाहरुले जीवनका अंध्यारापक्षमा मात्र नभै जीवनका उज्याला, आशालाग्दा र विश्वासयोग्य तथा आत्मनिर्भरताका पाइलहरु चाल्न सिक्दछन् । यसले गर्दा उनीहरुलाई निर्णय गर्ने स्थान, श्रोत साधनहरु उपलव्ध भएको स्थान र अधिकारको उपभोग र कर्तव्यको पालना गर्ने सही दिशावोध गराउंदछ । शिक्षाले महिलाहरुको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा अगाडी वढ्ने आत्मगत अवस्था वलियो वनाउंदछ भने वाह्य वातावरणलाई सकारात्मक र कम चुनौतीपूर्ण वनाउंदछ ।

शिक्षाले पारिवारिक र सामाजिक जीवनमा महिलाको योगदान र उनीहरुमा अन्तरनिहीत क्षमतालाई विश्वास गर्ने र मूल्यवोध गर्ने सामाजिक प्रक्रियाको थालनी गर्दछ र यस प्रक्रियालाई क्रमश…अभिवृद्धि गर्दै लैजान्छ । प्रारम्भ गर्दछ । शिक्षाले हाम्रो सामाजिक मनोविज्ञानलाई नै वैज्ञानिक, वस्तुगत र न्यायपूर्ण वनाउन अभिप्रेरित र सकात्मक रुपमा वाध्यकारी वनाउंदछ । महिलाहरुलाई सन्तान उत्पादनका साधन, श्रीमान र परिवारका सहयोगी मात्र नभै समग्र मानव जीवनका वरावर हिस्सेदार वनाउंदै लैजान्छ । जाजरकोट जिल्लाको परिवेशमा आगामी दिनमा महिला सशक्तिकरणका लागि शिक्षाको भूमिकालाई अझ परिणाममूलक वनाउन हामी आफैले तय गरेका कार्यदिशा, रणनीति र प्रतिवद्धताहरुलाई स्मरण गराउंदछु ।

१.श्ौक्षिक नीति र योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमनमा महिला सहभागिता सुनिश्चित गरौं ।
२.वालमैत्री, गुणस्तरीय र समावेशी शिक्षा संस्थागत गर्न वकालत र वहसलाई निरन्तरता दिंउ ।
३.सार्वजनिक शैक्षिक संस्थाहरुलाई स्वार्थकेन्द्रीत प्रयोगशाला र क्रिडास्थल होईन ज्ञानभूमि वनाउं ।
४.शिक्षण सिकाई उपलव्धीको विकासलाई हामी सवैको क्षमता र कार्यकुशलताको सूचक वनाऔं ।
५.जीवन उपयोगी शिक्षा संस्थागत गर्न र समग्र शैक्षिक व्यवस्थापनमा सरोकारवालाको सरोकार वढाऔं ।

विश्व परिवेश र हाम्रो देशको राष्ट्रिय परिवेशमा राजनीतिक, वैज्ञानिक, आर्थिक तथा सामाजिक क्षेत्रमा महिलाहरुको योगदानलाई उच्च सम्मान गर्दै ग्रामीण महिलाहरुमा राजनीतिक परिवर्तनको लाभ पुर्याउन आर्थिक तथा सामाजिक रुपमा सशक्त वनाउन उपयुक्त नीति र कार्यक्रम अगाडी वढाई लक्षित वर्गलाई लाभान्वित वनाउन थप प्रयासहरुको जरुरी देखिन्छ । हामी सवैमा यही मूल्यवोध र कर्तव्यवोधको शुभकामना ।

धन्यवाद ।


Tagged
प्रतिकृया दिनुहोस्