News Portal

जाजरकोटमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो

आईतबार मात्र संक्रमित पुष्टी हुनेको संख्या ५३

९१२ पटक

जाजरकोट जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्या १ सय ८७ पुगेको छ । आईतबार जिल्ला अस्पताल, नलगाड, छेडागाड र शिवालयमा गरिएको परिक्षणबाट ५३ जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या १ सय ९७ पुगेको हो ।

आईतबार जिल्ला अस्पतालमा ७० जनालाई गरिएको परिक्षणबाट ३२ जनालाई कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका महामारी फोकलपर्सन कृष्ण केसीले जानकारी दिएका छन् । कोरोना पुष्टी भएका अधिकांश बिरामीहरु सरकारी कार्यालयमा कार्यरत कर्मचारी र जिल्ला सदरमुकाम खलंगाकै नागरीकहरु रहेको केसीले बताए । त्यसैगरी आईतबार शिवालय गाउँपालिकामा २९ जना गरिएको परिक्षणबाट ११ जनालाई कोरोना पुष्टी भएको शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिएका छन् । अध्यक्ष शाहीले दिएको जानकारी अनुसार कोरोना पुष्टी भएका विरामीहरुमा जनप्रतिनीधि, कर्मचारी र सर्वसाधारण नागरिकहरु रहेका छन् ।

छेडागाड नगरपालिकामा आईतबार १३ जनालाई गरिएको परिक्षणबाट ५ जनालाई कोरोना पुष्टी भएको छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक केसीले जानकारी दिएका छन् । शुक्रबार गरिएको परिक्षणबाट ९ जनालाई कोरोना पुष्टी भएपछि आईतबार १३ जनालाई कन्ट्याक्ट ट्रेसिङग परिक्षण गरिएको अधिकृत केसीले बताए । त्यसैगरी नलगाड नगरपालिकाको दल्लीमा आईतबार ११ जनालाई गरिएको परिक्षणबाट ५ जनालाई कोरोना पुष्टी भएको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीकी ल्याब सहायक रिता खत्रीले जानकारी दिएकी छन् । कोरोना पुष्टी भएका ५ जना मध्ये १ जना नगरपालिकाका कर्मचारी, १ जना बैंकका कर्मचारी, १ जना स्वास्थ्यकर्मी र २ जना स्थानीय नागरिक रहेको खत्रीले बताएकी छन् ।

कोरोना संक्रमित बिरामीहरुलाई शास फेर्न गाह्रो हुने, टाउँको दुख्ने, खोकी लाग्ने, रुघा, ज्वरो जस्ता समस्याहरु देखा परेको बताउदै ल्याब सहायक खत्रीले बिरामीहरुको पहिचान गर्नुको साथै उपचारको लागि सरकार जिम्मेवार बन्नुपर्ने भनाई राखेकी छन् । कोरानाका बिरामीहरु पहिचान गर्न प्रयोग गरिएको एन्टीजेन प्रविधिका किटहरु प्रयाप्त मात्रामा उपलब्ध हुन नसकेको खत्रीले बताईन । प्राथमिक स्वास्थ्य केन्द्रमा सय वटा मात्र एन्टीजेन प्रविधिका किटहरु गएको जानकारी दिदै खत्रीले मिल्दोजुल्दो लक्षण भएका गाउँमा धेरै बिरामीहरु भएको तर, विरामीहरुको परिक्षण गर्नका लागि आबश्यकता अनुसारको किटको व्यवस्था हुन नसकेको बताईन् ।

कोरोनाका बिरामीहरुको पहिचान गर्ने मात्र नभएर विरामीहरुको उपचार गर्ने काममा पनि सरकारको सक्रियताको आबश्यक भएको खत्रीले बताएकी छन् । पहिचान भएका कोरोनाका बिरामीहरुलाई उपचार बिनानै होम आईशोलेसनमा पठाउनु झनै जोखिम हुने खत्रीको भनाई रहेको छ ।

जिल्लामा पहिचान भएका १ सय ९७ जना कोरोना संक्रमित विरामीहरु मध्ये जुनीचाँदेका एक जना विरामी सन्चो भएर घर फर्काइएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । बाँकी १ सय ९६ जना संक्रमित विरामीहरु मध्ये जिल्ला अस्पतालको आईशोलेसनमा ७ जना, भेरी नगरपालिकाको आईशोलेसनमा १ जना विरामीलाई राखेर उपचार गरिएको छ भने, १ सय ८८ जना संक्रमित विरामीलाई स्वास्थ्यकर्मीहरुको निगरानीमा होम आईशोलेसनमा राखेर उपचार भईरहेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्