News Portal

जाजरकोट जिल्लालाई ८४ सालमा बाल बिवाह, बाल श्रम र बाल हिंसा मुक्त जिल्ला घोषणा गर्न साँझा प्रतिवद्धता

४८१ पटक

जाजरकोटका सात वटै पालिकालाई २०८४ सालसम्म बालबिवाह, बाल श्रम र बाल हिंसा मुक्त जिल्ला घोषणा गर्न साँझा प्रतिवद्धता जाहेर गरिएको छ । जिल्ला समन्वय समिति, पालिकाका जनप्रतिनीधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जिल्ला स्थित राजनीतिक दलका प्रमुख, नागरिक समाज, पत्रकार, दातृनिकायका प्रतिनीधि लगाएतका सरोकारवालाहरुले हस्ताक्षर गरेर यस्तो प्रतिवद्धता जाहेर गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, जाजरकोटले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पालिकाका प्रमुख, उप–प्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रमको अन्तमा सन् २०२८ सम्ममा जिल्लाका सात वटै पालिकालाई बालबिवाह, बाल श्रम र बाल हिंसा मुक्त जिल्ला घोषणा गर्ने साँझा प्रतिवद्धता जाहेर गरिएको थियो । सबैले सामुहिक रुपमा हस्ताक्षर गरिएको साँझा प्रतिवद्धतामा बाल अधिकार सुनिश्चितताका लागि ८ वटा बुँदा उल्लेख गरिएको छ । बालवालिका सम्बन्धी सूचना तथा तथ्याङ्क संकलन, रणनीतिक योजना निर्माण तथा बजेट तर्जुमा, बालअधिकार समिति गठन तथा परिचालन, योजना तथा नीति निर्माणमा बाल सहभागिता, बालकल्याण अधिकारीको व्यवस्थापन, बाल बिबाह, बाल श्रम र बाल हिंसा अन्त्य सम्बन्धि सचेतना फैलाउन ज्योतिषी, पण्डित धामी, झाँक्री तथा धार्मिक गुरुको परिचालन लगाएतका बिषयहरुलाई साँझा प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यलय जाजरकोटका जिल्ला न्ययाधीवक्ता रत्न प्रसाद गिरीले बालबालिका, बालश्रम र बालबालिका माथि हुने हिंसा सम्बन्धि कानुनी प्रावधानहरुको कार्यपत्र प्रस्तुत गरेका थिए । बालबालिकाहरुको संरक्षण सबैको साँझा दायित्य भएको बताउदै न्याधीवक्ता गिरीले बाल अधिकारको सवाल स्थानीय सरकारको प्रथामिकतामा पर्नु पर्ने भनाई राखेका थिए ।

त्यसै गरी जिल्लामा भएका बालबालिकाहरुको संरक्षणसंग सम्वन्धि घटना तथा प्रगतिको बिषयमा जिल्ला प्रहरी कार्यलय जाजरकोटका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले प्रतिबेदन प्रस्तुत गरेका थिए । आगामी दिनमा स्थानीय सरकारसंगको सहकार्यलाई प्रभावकारी बनाउने बताएका थिए ।

जिल्ला प्रशासन कार्यालयको आयोजना र सेभ द चिल्ड्रेन, वल्र्ड भिजन इन्टरनेशनल नेपाल, पाँचतारा युवा संरक्षक मंञ्च, जाजरकोट र पहाडी क्षेत्र विकास अभियान, जाजरकोट लगाएतका अन्य संघ संस्थाको सहयोगमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । बालबालिकाका क्षेत्रमा जिल्लामा गरिएको काम र बाल विवाह नियन्त्रण तथा रोकथामका लागि गरिएका प्रयासको विषयमा जानकारी गराईएको थियो ।

सरोकारवाला सबैले हस्ताक्षर गरिएको साँझा प्रतिवद्धताको पूर्ण पाठ यस्तो रहेको छः–
जाजरकोट जिल्लामा बालविवाह, बालश्रम तथा बाल बालिका माथी हुने हिंसा अन्त्यका लागि

सार्वजनिक प्रतिवद्धता २०७१८

बालविवाह, बालश्रम तथा बाल बालिकामाथी हुने हिंसा सामाजिक र कानूनी अपराध भएको तथ्यलाई मनन् गर्दै यस्ता कुरीतिहरुको अन्त्यका लागि मिति २०७१८ फागुण २६ गतेका दिन जाजरकोट जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिहरु, सम्पूर्ण सरोकारवालाहरु सम्मिलित बालबिवाह, बाल श्रम र बाल बालिकामाथी हुने हिंसा अन्त्यका लागि स्थानीय तहका जनप्रतिनिधी र सरोकारवालाको भूमिका बिषयक अन्तक्रिया कार्यक्रममा सहभागी हामी तपशिलका निकायका प्रमुख तथा प्रतिनिधीहरु निम्न बुँदामा सार्वजनिक प्रतिवद्धता गर्न सहमत भएका छौं ।

तपशिल
१. बालबालिका सम्बन्धी सूचना तथा तथ्यांकलाई संकलन गरी अध्यावधिक गर्ने र प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिनेछौं ।
२. जिल्लाका सबै स्थानीय तहले साझा रणनीतिक योजना तथा बजेट निर्माण गरी उक्त बजेट बालबालिकाकै लागि खर्च गर्न अभियान सञ्चालन गर्ने छौं ।
३.नगरपालिका र गाउँपालिका स्तरीय बालअधिकार समिति तथा वडा स्तरीय वडा बालअधिकार समितिहरु गठन गरी क्रियाशिल बनाउने छौं ।
४.प्रत्येक आर्थिक वर्षको योजना निर्माण प्रक्रियामा बालबालिकाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै बाल संरक्षण, सहभागिता लगायतका क्षेत्रमा लगानी बृद्धि गर्न प्रतिबद्ध छौ ।
५.स्थानीय तहमा बालकल्याण अधिकारीको व्यवस्थापन गर्न पहल गर्नेछौं ।
६.वालविवाह गर्न वा गराउन संलग्न हुने, भोज भतेरमा सहभागी हुने वा सूचना लुकाउने, मेलमिलाप गर्ने, गराउने जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी, अधिकारकर्मी तथा सर्वसाधारणको नाम सार्वजनिक गर्दै सामाजिक वहिष्कार गरी कानून अनुसार कारवाहीको लागि पहल गर्न प्रतिबद्ध छौं ।
७. बालविवाह, बालश्रम र बाल बालिका माथी हुने हिंसा अन्त्यका लागि धामी झाँक्री, ज्योतिषी, पण्डित लगायतका धार्मिक अगुवालाई सचेतीकरण गर्न संगठित गर्दै परिचालन गर्न प्रतिबद्ध रहदै बालविवाह गर्न गराउन संलग्नलाई राज्यबाट दिइने सेवा सुविधा रोक्न सकिने जानकारी गराउदै सचेत रहन आम नागरिकलाई सूचित गर्नेछौं ।
८.बालविवाह, बाल श्रम र बाल हिंसा निषेधित वडा, पालिका घोषणा गर्न स्थानीय तहको नेतृत्वमा बिभिन्न अभियान मूलक कार्यक्रमहरू सञ्चालन गर्दै सन्न २०२८ मा जाजरकोट जिल्लालाई बालविवाह, बाल श्रम र बाल हिंसा मुक्त जिल्ला घोषणा गर्नेछौं ।

प्रतिकृया दिनुहोस्