News Portal

साक्षर जिल्ला घोषणा भएको ७ बर्षपछि भेरी र नलगाडमा १८८ बालिका विद्यालय भन्दा बाहिर

३०१ पटक

जाजरकोट साक्षर जिल्ला घोषणा भएको ७ बर्ष पुरा भएको छ । १५ देखि ६० बर्ष उमेर समुहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि २०७२ साल फागुन २८ गते जाजरकोट जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको थियो । तत्कालिन गृहमन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आथित्यतामा जाजरकोट जिल्लालाई नेपालकै २४ औं साक्षर जिल्ला घोषणा गरिएको थियो ।

साक्षर जिल्ला घोषणा गर्ने वेलामा राष्ट्रिय तथा मातृ भाषामा पढ्न तथा लेख्न सक्ने, मोबाईल र क्यालकुलेटरका अंक तथा अक्क्षर चिन्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्ते पात्रो हेरेर तिथिमिति बताउन सक्ने, अधिकार सम्बन्धिका बिषयबस्तुलाई पढन, लेख्न सक्ने भएपछि साक्षर भएको मान्न सकिने मापदण्ड बनाईएको थियो ।

साक्षर जिल्ला घोषणा भएको सात बर्ष पछि जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकामा १० देखि १४ बर्षसम्मका १८८ जना बालिका बिद्यालय भन्दा बाहिर रहेका छन् । घरको गरिबी, सिजनल बसाई–सराई, बिद्यालय र घरको टाँढा दुरी, कमजोर शिक्षण सिकाई र बुवाको पहिचान नहुनु जस्ता कारणले १८८ जना भेरी र नलगाड नगरपालिकाका बालिका विद्यालय भन्दा बाहिर रहेको बताईएको छ ।

भेरी नगरपालिकाको वडा नं. १, २, ५, ६, ७, ८, ९, १२ र १३ गरी ९ वटा वडाका १२७ जना र नलगाड नगरपालिकाको वडा नं. १, ३, ४, ६, ८, १२ र १३ गरी ७ वटा वडाका ६१ जना १० बर्षदेखि १४ बर्षसम्मका बालिकाहरु विद्यालय भन्दा बाहिर रहेका छन् । केयर नेपालको आर्थिक सहयोगमा शिक्षाका लागि राष्ट्रिय अभियान (ल्ऋभ्) नेपालले भेरी र नलगाड नगरपालिकामा संचालन गरेको एक बर्षिय (द्रुत) संश्लेषित सिकाई कार्यक्रमले विद्यालय भन्दा बाहिर रहेका बालिकाहरुलाई फेला पारेको हो । शिक्षाका लागि राष्ट्रिय अभियान (ल्ऋभ्) नेपालले भेरी नगरपालिकामा २४ र नलगाड नगरपालिकामा १५ जना गरी ३९ जना सहजकर्ता मार्फत विद्यालय भन्दा बाहिर रहेका १८८ जना बालिकालाई दैनिक ३ घण्टा संश्लेषित शिक्षण सिकाई गराई रहेको केयर नेपालका कार्यक्रम विज्ञ नवराज शर्माले जानकारी दिएका छन् । कार्यक्रम विज्ञ शर्माले दिएको जानकारी अनुसार भेरी नगरपालिका र नलगाड नगरपालिकाका १० वटा विद्यालयमा कक्षा ६ देखि ८ सम्म अध्ययनरत आर्थिक तथा सामाजिक कारणले विद्यालय छोड्ने जोखिममा रहेका २५३ जना बालिकाहरुलाई उपचारात्मक शिक्षण सिकाई तथा नेतृत्व सिप विकास मार्फत विद्यालय नियमिततामा जोड दिईएको छ । विद्यालयका शिक्षक मार्फत संचालन गरिएको उपचारात्मक शिक्षण सिकाई संचालन गरिएका विद्यालयहरुमा भेरी नगरपालिकाका बागेश्वरी आधारभुत विद्यालय पिपे, भेरी त्रिवेणी मावि रिम्न, कालिका आधारभुत विद्यालय डिङ्गा, त्रिभुवन आधारभुत विद्यालय रिसाङ र शिव मावि कालेगाउँ रहेका छन भने, नलगाड नगरपालिकाका त्रिभुवन मावि दल्ली, भानुभक्त मावि लहँ, शिवसंकर आधारभुत विद्यालय कल्पत, पञ्चभैयार मावि जिकुवा र निर्मल ज्योति आधारभुत विद्यालय थाप्ला रहेका छन् । भेरी नगरपालिकाका ५ वटा विद्यालयका १४२ जना, नलगाड नगरपालिकाका ५ वटा विद्यालयका १११ जना कक्षा ६ देखि ८ सम्म अध्ययनरत बालिकाहरुलाई उपचारात्मक शिक्षण सिकाई कार्यक्रममा सहभागी गराईएको छ । एक बर्षको लागि संचालन गरिएको कार्यक्रम शैक्षिक सत्र २०८० मा संचालन हुने वा नहुने भन्ने बिषयमा अहिलेनै ठोस निर्णय भई नसकेको कार्यक्रम विज्ञ शर्माले बताएका छन् ।

सात बर्ष पहिले साक्षर जिल्ला घोषणा भएको जिल्लाका सिमित पालिकाका सिमित वडाहरुमा मात्र १८८ जना बालिका बिद्यालय तथा शिक्षाको पहुँच भन्दा बाहिर रहेको भेटिनुले जिल्लाको शैक्षिक अबस्थालाई चिन्ताजनक बनाएको नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाहको भनाई रहेको छ । जिल्लाका सबै पालिका, सबै वडा र सबै टोलमा रहेका बालिका मात्र नभएर बालकहरुको पनि पहिचान गर्ने हो भने, विद्यालय पहुँच भन्दा बाहिर रहेको डरलाग्दो संख्या भेटिन सक्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्