Hamro Sanchar

नेकपा (माओवादी केन्द्र) जाजरकोटबाट गठबन्धन संयन्त्रको अबधारणा सार्वजनिक

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१/६ गते
जाजरकोट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जाजरकोले गठबन्धन संयन्त्रको अबधारण सार्वजनिक गरेको छ । पार्टी कार्यालय खलंगामा मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर नेकपा (माओवादी केन्द्र), जाजरकोटले गठबन्धन संयन्त्रको अबधारणा सार्वजनिक गरेको हो ।

यही बैसाख ३ र ४ गते बसेको पार्टीको समिक्षात्मक बैठकले लिएका निर्णयहरुको सार्वजनिकीकरण गर्न नेकपा (माओवादी केन्द्र), जाजरकोटले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । पत्रकार भेटघाट कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति, जाजरकोट संयोजक टेक बहादुर रावलले बैठकले लिएका निर्णयहरु पढेर पत्रकारहरुलाई जानकारी गराएका थिए भने, जिल्ला ईन्चार्ज गगन बहादुर खड्काले बैठकले लिएका निर्णयहरुको महत्त्व तथा औचित्यता प्रकास पारेका थिए ।

पार्टीले गत फागुन महिनाको अन्तिम साताबाट संचालन गरेको “विकास र समृद्धिका लागि पार्टी सुदृढिकरण अभियान” संचालन गरिरहेको जानकारी दिदै संयोजक रावलले उक्त अभियान आगामी जेठ महिनाको अन्तिम सातासम्म संचालन गरिने जानकारी दिएका थिए । यतिवेला अभियान मध्यकालिन अबस्थामा पुगेको जानकारी दिदै संयोजक रावलले अभियानको मध्यकालिन समिक्षा गर्नुको साथै अभियानलाई अझ बढि समृद्ध बनाउन बैठक बसेर केही आबश्यक निर्णय गरेको बताएका थिए । अभियानको निरन्तरतामै सत्ता गठबन्धन दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुसंग छलफल गरी गठबन्धन दलहरुको संयन्त्र निर्माण गर्ने पार्टीले निर्णय गरेको संयोजक रावलले जानकारी दिएका थिए । संघ र कर्णाली प्रदेश सरकारबाट आगामी आर्थिक बर्ष २०८०÷०८१ मा विनियोजन गरिने बजेट तथा तर्जुमा गरिने योजनालाई जिल्लाका सात वटै पालिकामा सन्तुलित तरिकाले व्यवस्थापन तथा सिफारिस गर्न पार्टीले आन्तरिक संयन्त्र गठन गरेको संयोजक रावलले जानकारी दिएका थिए । जिल्ला सदरमुकाम खलंगा भित्रका प्रशासनिक काममा नागरिक सहजता पैदा गर्न निश्चित व्यक्तिलाई बैठकले जिम्मेवारी दिएको संयोजक रावलले जानकारी दिएका थिए । संयोजक रावलले दिएको जानकारी अनुसार अभियान अवधिभर पार्टीले अभियानका योजनालाई निरन्तरता दिने भएको छ ।

गत मंसिर ४ गतेको प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवारका पक्षमा “संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन” भनेर जनतासंग भोट मागेको नेकपा (माओवादी केन्द्र) जाजरकोट जिल्ला ईन्चार्ज गगन बहादुर खड्काले बताएका थिए । निर्वाचनको वेलामा जनतासंग जाजरकोटको परिचयलाई बदल्ने संकल्प र प्रतिवद्धताहरु जाहेर गरिएको बताउदै ईन्चार्ज खड्काले संघीयता, परिवर्तन, सुशासन, आर्थिक विकास, सामाजिक रुपान्तरण, सार्वजनिक सेवा र विकास जस्ता बिषयहरुमा नीतिगत प्रतिबद्धताहरु जाहेर गरिएको बताए । उनले चुनावमा कृषि, भूमि, दीगो भूव्यवस्थापन र जैविक तथा पारस्थितिकीय प्रणाली, पशु पंक्षी विकास, पर्यटन, सहकारिता र वित्तिय सेवा जस्ता आर्थिक विकास, सडक, सिंचाई, सामुदायिक पूर्वाधार, खानेपानी, सरसफाई तथा स्वच्छता, संचार सेवा, विद्युत, वन तथा वातावरण र विपद व्यवस्थापन जस्ता भौतिक पूर्वाधार विकास र शिक्षा, स्वास्थ्य, लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुशासन प्रवद्र्धन र संस्थागत क्षमता विकास जस्ता सामाजिक विकासका क्षत्रमा कार्यक्रमिक प्रतिवद्धताहरु जतासंग व्यक्त गरिएको भनाई राखेका थिए । नीतिगत र कार्यक्रमिक प्रतिवद्धताप्रति मतदाताहरुले विश्वास गरेर दिएको भोटबाट बाम–लोकतान्त्रिक गठन्धनका साँझा उम्मेदवारहरुले चुनाव जितेको चर्चा गर्दै ईन्चार्ज खड्काले चुनाव जितेका गठबन्धका साँझा केही उम्मेदवारहरुले संघ र प्रदेश सरकारका मन्त्रालयको जिम्मेवारी समालि सकेको र केहीले समाल्ने प्रतिक्षा सुचीमा रहेको बताए ।

निर्वाचनको वेला जनतासंग व्यक्त गरिएका नीतिगत र कार्यक्रमिक प्रतिवद्धताहरु केवल नेकपा (माओवादी केन्द्र) पार्टीका मात्र नभएर चुनावी गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीका पनि भएको हुदा उक्त प्रतिवद्धा पुरा गर्न सबै पार्टीका नेताहरु लागि पर्नुपर्ने ईन्चार्ज खड्काले भनाई राखेका थिए । उक्त नीतिगत र कार्यक्रमिक प्रतिवद्धताहरुलाई पुरा गर्न तत्काल नेकपा (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र नेकपा (एस) संग आबश्यक छलफल गरी गठन्धनको संयन्त्र निर्माण गर्ने योजनामा रहेको ईन्चार्ज खड्काले भनाई राखेका थिए ।

पत्रकारहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै ईन्चार्ज खड्काले यतिवेला जाजरकोट जिल्लाका स्थानीय तहहरुमा अनियमित्ता, भ्रष्टाचार, ढिला सुष्ति मौलाउदै गएको चर्चा गर्दै यस बिषयमा निर्भिकतापूर्वक कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका थिए । उपभोक्ता समितिद्धारा निर्माण कार्य अगाडी बढाईएको योजनामा उपभोक्ता समितिले केही नाफा खाएर ठेकेदारलाई, ठेकेदारले पनि केही नाफा खाएर कामदार तथा मजदुरलाई योजना निर्माणको जिम्मा लगाएका विषयमा, आबश्यकता भन्दा बढि फाजिल दरबन्दीमा कर्मचारी नियुक्ति गरेर पालिकालाई भर्तिकेन्द्र बनाएको बिषयमा कलम चलाउन ईन्चार्ज खड्काले पत्रकारहरुलाई अपिल गरेका थिए । नक्कली फोटा पेश गरेर विद्यालय भवनको भुक्तानी लिएका विषय, कर्मचारीहरुले खाएको घुसको पीडालाई सहन नसकेर सुसाइट नोटहरु लेखिएका बिषयमा कलम चलाउन ईन्चार्ज खड्काले पत्रकारहरुलाई अनुरोध गरेका थिए । अध्यापन अनुमति पत्र नभएकालाई नियुक्ति दिएर शिक्षकको तलव खुवाएका विषयमा, करार नियुक्तिमा राखेका आफ्ना मान्छेहरुका जागिर बचाउन शिक्षक सेवा आयोगसंग पदपुर्तिका माग नगरेका बिषयमा, गाउँ तथा नगर सार्वजनिक खरिद ईकाइ बिना औषधि, मोटरसाईकल, ल्यापटप, कम्प्युटर लगाएतका सामाग्रीहरु सिधै कार्यालयले खरिद गरी कमिशन खाने, कमिशनकै चक्करमा श्रोत व्यवस्थापन र निर्माण कार्य सुनिश्चितता बीना आयोजनाका डिपीआर बनाएका बिषयमा व्यापक रुपमा कलम चलाउन ईन्चार्ज खड्काले पत्रकारहरुलाई आग्रह गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) ले लिएको तत्कालिन नीति तथा कार्यक्रम, सरकार संचालनका चुनौति र अबसरका विषयमा पार्टीको आधिकारिक धारण नेकपा (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज काली बहादुर मल्लले राखेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्