Hamro Sanchar

कर्णाली प्रदेशमा मन्त्रिपरिषद बिस्तार

आर्थिक मामिला तथा योजना मन्त्रीमा, जाजरकोटका सिंह

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/१/७ गते
जाजरकोट

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बिहिबार मन्त्रिपरिषद विस्तार गरेका छन् । यसअघि नेकपा एमालेसँगको सहकार्यमा मुख्यमन्त्री बनेका शर्माले एमाले सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसका तर्फबाट मन्त्रीहरूलाई नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री शर्माले नेपाली कांग्रेसले सिफारिस गरे अनुसार सुर्खेत १ (क) बाट निर्वाचित खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेश सभा (क) निर्वाचित बेदराज सिंह र दैलेख–१ (क) बाट निर्वाचित कृष्ण बिसीलाई मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा सिंह, सामाजिक विकास मन्त्रीमा पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसी नियुक्त भएका हुन् । उनीहरूले बुधबार नै प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनीयतको शपथ लिएर कार्यभार समेत सम्हालि सकेका छन् ।

अर्थमन्त्रीको जिम्मेवारी पाएका सिंह नेपाली कांग्रेस जाजरकोटका सभापति समेत हुन् । निडर र हक्की स्वभावका सिंहले नेपाली कांग्रेसमा लामो योगदान गरेका छन् । बारेकोट गाउँपालिका– ८, सेपुखोलामा २०३७ वैशाख २४ गते जन्मिएका सिंहले स्नातकसम्म अध्ययन गरेका छन् । २०५४ सालमा नेपाल विद्यार्थी संघको क्षेत्रीय अध्यक्ष भएका सिंह २०५५ सालमा भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको इकाई सभापति बनेका थिए । २०५६ सालमा नेपाल विद्यार्थी संघको चौथो अधिवेशनबाट जिल्ला अध्यक्ष बनेका सिंह २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को जिल्ला सहसचिव भएका थिए ।

यस्तै, २०६७ सालमा नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति भएका सिंह २०७२ सालमा जिल्ला सभापति पदमा चुनावी प्रतिष्पर्दा गर्दा जम्मा ४ मतले पराजित भएका थिए । २०७४ सालमा जाजरकोट प्रदेश सभा “क” बाट कर्णाली प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका सिंह पराजित भएका थिए । तत्कालीन बाम गठबन्धनका उम्मेदवार गणेश प्रसाद सिंहले १६ हजार ९११ मत ल्याँउँदा सिंह एक्लैले १२ हजार ८७८ मत प्राप्त गरेका गरेका थिए ।

२०७८ सालमा नेपाली कांग्रेस जाजरकोटको सभापति बनेका सिंह २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्यमा जाजरकोट “क” बाट बाम–लोकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार बनेर निर्वाचित भएका थिए । सिंहले १८ हजार ५४३ मत प्राप्त गरेर विजयी हासिल गरेका थिए । फिन्ल्यान्ड, डेनमार्क, बेल्जियम, स्विडेन, लगायत यूरोपका १३ वटा मुलुक साथै मलेसिया, थाइल्यान्ड र भारत लगायतका देशको पनि भ्रमण गरिसकेका सिंहले अस्त व्यवस्त भएको कर्णालीको अर्थतन्त्रलाई कसरी सुधार गर्छन् भन्ने बिषयमा निकै चासोका साथ हेरिएको छ ।

प्रदेशको केन्द्र भागमा रहेको जाजरकोटबाट मन्त्री सिंहले प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी समालेपछि जिल्लाबासीले खुशी व्यक्त गरेका छन् । प्रदेश सरकारबाट निर्माण गरिने जाजरकोट जिल्लाका मेघा प्रोजेक्टहरुको लागि आबश्यक पर्ने बजेट सुनिश्चितता हुनेमा जिल्लाबासी ढुक्क भएका छन् । जिल्लाको गरिबी हटाउन, बेरोजगारीको समस्यालाई समाधान गर्न मन्त्री सिंहको महत्वपूर्ण योगदान हुनेमा जिल्लाका युवा युवतिहरुले बिश्वास पैदा गरेका छन् । शिक्षा, स्वास्थ्य, कृषि, भेटनरीको सेवालाई सुधार गर्नुको साथै पूर्वाधार विकासमा मन्त्री सिंहले जाजरकोट जिल्लाको लागि महत्वपूर्ण भुमिका खेल्ने शुभेक्षा राखिएको छ ।

प्रतिकृया दिनुहोस्