News Portal

जाजरकोटका झण्डै ४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुदै

२७८ पटक

कक्षा १२ को बार्षिक परीक्षा मंगबारदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्धारा संचालन गरिने कक्षा १२ को बार्षिक परीक्षा मंगलबारदेखि सुरु हुने भएको हो ।

जाजरकोट जिल्लाका झण्डै ४ हजार विद्यार्थीहरुले कक्षा १२ को परीक्षामा सहभागी हुने भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सुर्खेतमा कार्यरत कृष्ण प्रसाद श्रेष्ठले दिएको जानकारी अनुसार जाजरकोट जिल्लाबाट नियमित तर्फका ३ हजार १८४ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागीहुने भएका छन् भने, आँशिक तर्फका ८८९ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

जिल्लाका ७ वटा स्थानीय तहका १७ वटा परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा लिने तयारी भई भएको शिक्षा विकास तथा समन्वय इकाई, जाजरकोट प्रमुख रमेश मल्लले जानकारी दिएका छन् । आगामी जेठ ५ गतेसम्म संचालन गरिने कक्षा १२ को परीक्षा संचालनको लागि आबश्यक पर्ने सम्पूर्ण बजेट राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयको खातामा जम्मा गर्ने व्यवस्था भएको इकाई प्रमुख मल्लले जानकारी दिएका छन् । परीक्षा संचालनमा खटिने सुरक्षाकर्मी, प्रश्नपत्र र उत्तर पुस्तिका ढुवानी लगाएत अन्य परीक्षा व्यवस्थापनमा राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई दिएको पैसाले नपुग्ने भन्दै केन्द्राध्यक्षले जनही विद्यार्थीबाट ५०० देखि २ हजारसम्म पैसा उठाउने गरेको कुशे गाउँपालिका–९ का वडा अध्यक्ष शिवराज गिरीले जानकारी दिएका छन् ।

परीक्षा संचालनको सम्पूर्ण व्यवस्थापन सरकारले गर्नुपर्ने बताउदै अध्यक्ष गिरीले परीक्षार्थीबाट पैसा असुली गर्ने कार्यलाई रोक्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । पैसा असुलीबाट जोगिन अध्यक्ष गिरीले परीक्षामा सहभागी हुने सबै विद्यार्थी र अविभावकहरुलाई अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्