News Portal

जाजरकोटमा ८ हजार बढी पशुचौपाया लम्पी स्किन रोगबाट संक्रमित

३ सय ८३ पशुचौपाया मरे

४४६ पटक

जाजरकोटमा जिल्लाभर लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । प्रकोपबाट जिल्लाभरमा ३ सय ८३ वटा पशु चौपाया मरेका छन् ।

पशुचौपायाको घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च ज्वरो आउने, कचेरा लाग्ने, सिगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने र अन्तमा मृत्यु हुने गरेको छ । खेतीपाती भित्र्याउने र लगाउने बेला पशुबस्तु विरामी परेपछि जिल्लाका पशुु पालक किसानहरु चिन्तित बनेका छन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका अनुसार जिल्लाभर उक्त प्रकोवबाट ८ हजार ६ सय ३० वटा पशुचौपाया संक्रमति भएका छन् । छेडागाड नगरपालिकामा ४ हजार ३७ पशुचौपाया संक्रमित छन् भने, ६१ मरेका छन् । त्यसैगरी नलगाड नगरपालिकामा १ हजार २ सय पशुचौपाया संक्रमित छन् भने, ३४ मरेका छन् । भेरी नगरपालिकामा १ हजार १ सय ५ पशुचौपाया संक्रमित भएका छन् भने, १ सय ५ मरेका छन् । शिवालय गाउँपालिकामा २ सय ५० पशुचौपाया संक्रमित भएका छन् भने, २७ मरेका छन् । त्यसैगरी जुनिचाँदे गाउँपालिकामा १ हजार ८ सय ४७ संक्रमित भएका छन् भने, १ सय ४३ मरेका छन् । बारेकोट गाउँपालिकामा १ सय ४० संक्रमित भएका छन् भने, १२ मरेका छन् । त्यसैगरी कुशे गाउँपालिकामा ९० संक्रमित भएका छन् भने, ५ मरेका छन् ।

खेतीपातीको सिजनको वेला लम्पी स्किन रोगबाट विशेषगरी गोरु मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । जोत्ने सिजनको वेला गोरुनै मर्न थालेपछि खेतबारी बाँझो रहने चिन्ताले किसानहरुलाई मुर्छित बनाई रहेको छ ।

उक्त प्रकोप सुरुमा भेरी नगरपालिकामा देखिएको थियो । भेरी नगरपालिकाबाट सुरु भएको रोग जिल्लाका साथै स्थानीय तहमा महामारीका रूपमा फैलिरहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका प्रमुख कलम बहादुर महताराले बताएका छन् । जिल्लाभरी प्रकोप फैलिदै गएपछि प्रकोप नियन्त्रण गर्न जिल्लाका सबै पालिकाका प्राविधिकहरूलाई परिचालन गरिएको छ ।

प्रकोपबाट संक्रमित पशु चौपायामा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागमा गिर्खा देखा पर्ने, उच्च ज्वरो आउने, कचेरा र सिगान बग्ने तथा मुखबाट फिँज निकाल्ने, बाँझोपन हुने र गर्भ तुहिने जस्ता लक्षणहरु देखापर्ने पशु चिकित्सक सुशील ऐरीको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्