News Portal

छेडागाडमा बालबालिकासंग भलाकुसारी

४७४ पटक

छेडागाड नगरपालिकामा बालबालिकासंग भलाकुसारी गरिएको छ । बाल आवाज सम्बोधन तथा बालमैत्री योजना तर्जुमा गर्न बालबालिकासंग सरोकारवालाहरुले भलाकुसारी गरेका हुन् । नगर बाल अधिकार समितिको आयोजनामा बालबालिकासंग भलाकुसारी गरिएको थियो ।

सेभ द चिल्ड्रेन तथा पॉचतारा युवा संरक्षक मन्च जाजरकोटको आर्थिक तथा प्राबिधिक सहयोगमा आयोजित बालबालिकासंग भलाकुसारी कार्यक्रममा सहभागी बालबालिकाहरुले बिद्यालयमा बिषयगत शिक्षकहरुको अभाव हुनु, प्रयाप्त खेलकुद सामाग्री नहुनु, भौतिक संरचना र गुणस्तरीय शिक्षण सिकाई क्रियाकलापहरु संचालन नहुनु जस्ता विषयमा आवाज उठाएका थिए । बिद्यालयमा शिक्षक, बिद्यार्थीको अनुउपस्थितिको दर बृद्धि हुनु जस्ता सवाललमा केन्द्रित रहेका बालबालिकाहरुले प्रभावकारी रुपमा वडा स्तरीय बाल उद्दार कोष परिचालन हुन नसकेको विषयलाइ उठाएका थिए । समुदाय स्तरमा बाल बिबाह, जातिय बिभेद, बाल हिंसा, बाल श्रम जस्ता बिभिन्न समाजिक बिभेद तथा कुरितीहरु बिद्यमान रहेको सवाललाई उठाएका बालबालिकाहरुले स्वास्थ्य संस्थाहरुबाट प्रभाबकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध नभएको विषयलाई भलाकुसारीमा उठाएका थिए ।

भलाकुसारी कार्यक्रममा बालबालिकाहरुले उठाएका सवालहरुको जवाफ छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर रोकाय, बिषयगत शाखाका प्रमुखहरु र वडा अध्यक्षले दिएका थिए । बालबालिकाका क्षेत्रमा नगपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउदै निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायले बाल अधिकार संरक्षणको लागि आगामि दिनमा नगरपालिकाका सबै शाखाहरुलाई अझ बढि जिम्मेवार बनाईने भनाई राखेका थिए । विद्यालय पूर्बाधार बिकासका लागी नगरपालिकाले सेभ द चिल्ड्रेन तथा पॉचतारा युवा संरक्षक मन्च जस्ता साझेदार निकायहरुसंग सहकार्य तथा समन्वय भइरहेको बताएका निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायले गुणस्तरीय शिक्षण सिकाई क्रियाकलापहरु संचालन गर्न बिद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ र वडाका जनप्रतिनिधीहरुलाई जवाफदेही बनाउन आफु लागि पर्ने वताएका थिए । दिवा खाजालाई व्यवस्थित तरिकाले उपयोग र उपभोग गर्न गराउन बिद्यालय प्रशासनलाई निगरानी गर्नुपर्ने बताउदै निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायले आगामी दिनमा बालबालिकासंगको भलाकुसारी कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति र शिक्षकहरुलाई पनि सहभागि गराउनुपर्ने बताएका थिए ।

शैक्षिक गुणस्तर बृद्धि गर्न सबैको साँझा दाहित्व भएको बताउदै निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायले शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षकहरुले आफ्नो कर्तब्यबोध गर्नुपर्ने बताएका थिए । आफ्नो भुमिका र जिम्ेमवारीलाई पुरा नगर्ने शिक्षकहरुलाई कारबाहीको शुरुवात गरिएको बताउदै नगर शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत खडक केसीले आर्थिक स्रोत साधनको अभावले बिषयगत शिक्षकहरुको व्यवस्थापन गर्न नसकिएको भनाई राखेका थिए । विषयगत शिक्षक दरबन्दीको व्यवस्थापनमा नगर शिक्षा शाखा लागि परेको बताउदै अधिकृत केसीले गुणस्तरीय शिक्षण सिकाईका लागि नगरपालिकाका १३ वटै वडामा वडा शिक्षा समन्वयकर्ताको ब्यबस्था गरिएको बताएका थिए । नगरपालिकामा २ जना शैक्षिक स्रोत ब्यक्तिको ब्यबस्था गरिएको बताउदै अधिकृत केसीले गुणस्तरीय शिक्षाका लागी घर–घरमा पठन संस्कृतिको बिकास गर्न अभिभावकहरुले जिम्मेवारीपूर्बक भुमिका खेल्नुपर्ने भनाई राखेका छन् ।

असिमित आबश्यकताहरुलाई सिमित साधन स्रोतले व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको बताउदै १२ नम्बर वडा अध्यक्ष प्रेम बहादुर खत्रीले वडा कार्यालयले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको बताएका थिए । बाल क्लबको सहभागिता तथा बिद्यालय ब्यबस्थापन समितिसंगको समन्वयमा गुणस्तरीय शिक्षणसिकाई क्रियालाप संचालनमा आफुले जोड दिई रहेको वताउदै अध्यक्ष खत्रीले बाल क्लबबाट हुने अभियानात्मक क्रियाकलापहरुलाई पालिकाका सबै वडाहरुमा लागु गर्नुपर्ने भनाई राखेका थिए । भौतिक संरचना निर्माण तथा उपयोग, शिक्षक तालिमको प्रभाबकारी रुपमा सदुपयोग हुनुपर्नेमा जोड दिदै अध्यक्ष खत्रीले पालिकाका सबै संयन्त्रहरुले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने भनाई राखेका थिए ।

टोल तथा बस्ती स्तर योजना तर्जुमा गोष्ठीमा बालमैत्री पूर्बाधारका योजना तर्जुमा बाल सहभागिता बृद्धि गरिएको बताउदै योजना शाखा प्रमुख माधव बुढाले बिषयगत शाखासंग समन्वय र छलफल गरी काम गरिएको भनाई राखेका थिए ।

बालबालिका सम्बन्धि बनेका ऐन, निमावली र कार्यविधिमा रहेर बालबालिकाका सवालहरु सम्बोधन गर्न नेपाल प्रहरी लागि परेको बताउदै मनाघाट प्रहरी चौकीका प्रमुख कर्ण बहादुर बलामीले बालबालिकाका सवालहरुमा पैसा नलाग्ने नम्बर १०० मा सम्पर्क गर्न सबैलाई अनुरोध गरेका थिए ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत गंग बहादुर रोकायको अध्यक्षतामा आयोजना गरिएकोे कार्यक्रममा नगर शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत खडक केसी, बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधीहरु, वडा अध्यक्षहरु, मनघाट प्रहरी चौकीका प्रमुख, कार्यपालिका सदस्यहरु, बाल अभियन्ता सहित ६० जना सहभागी थिए । ६० जना सहभागी मध्ये ३२ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पॉचतारा युवा संरक्षक मन्च जाजरकोटका कार्यक्रम निर्देशक पुष्पराज खतिवडा र परियोजना संयोजक कुबेर केसीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्