News Portal

प्रदेश सरकारसंग दक्ष जनशक्ति माग गर्ने जिल्ला संकट व्यवस्थापन समितिको निर्णय

८११ पटक

जिल्ला अस्पताल जाजरकोटमा प्राप्त उच्च निर्भरता इकाईका आबश्यक सामाग्री सहितको भेन्टिलेटरको संचालन तथा व्यवस्थापन गर्न तालिम प्राप्त दक्ष जनशक्तिको माग गर्ने जिल्ला संकट व्यवस्थापन समितिले निर्णय गरेको छ । बिहिबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई उच्च निर्भरता इकाईका आबश्यक सामाग्री सहितको भेन्टिलेटर संचालन तथा व्यवस्थापन गर्न तालिम प्राप्त दक्ष जनशक्तिको पदपुर्ती गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

भेरी नगरपालिका–४ सिर्जना टोलकी ४५ बर्षिय कारोना संक्रमित एक महिलाको बुधबार मृत्यु भएपछि जिल्ला संकट व्यवस्थापन समितिको बैठकmे यस्तो निर्णय गरेको हो । नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा उक्त संक्रमित महिलाको बुधबार राती ९ बजेतिर मृत्यु भएको थियो । यही बैसाख १९ गते कोरोना पुष्टी भएकी उक्त महिलाले समयमै उपयुक्त उपचार पाउन नसकेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

त्यसैगरी जिल्ला संकट व्यवस्थापन समितिको बैठकले जिल्लाका सात वटै पालिका, अस्पताल, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरी बलले यस अघि नै निर्माण गरेका क्वारिन्टिन र आइशोलेसन बेडहरुलाई अक्सिजन सहितको सुरक्षित र व्यवस्थित रुपमा प्रयोगमा ल्याउनुको साथै जिल्लामा संक्रमितहरुको बृद्धिदरलाई मध्यनजर गरी थप क्वारिन्टिन र आइशोलेसनको व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । जिल्लाका सबै पालिकाहरुलाई न्युनतम पनि २० बेड क्षमता भएका आइशोलेसनहरु निर्माण गर्न अनुरोध गर्ने बैठकले निर्णय गरेको छ प्रजिअ देवकोटाले भने–‘जिल्लामा तिब्र गति लिईरहेको कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारलाई सहज बनाउन यही बैसाख २५ गते राती १२ बजेसम्म गरिएको निषेधाज्ञालाई आगामी जेठ १ गते राती १२ बजेसम्म थप गर्न बैठकले जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।’

वैठकले जारी निषेधाज्ञाको समयमा दैनिक उपभोग्य वस्तु, स्वास्थ्य सामग्री लगायत अन्य आवश्यक वस्तुहरुको बजारमा कृतिम अभाव, कालोबजारी, मुल्यवृद्धि, अखाद्य वस्तुको मिसावट तथा विक्री वितरण जस्ता कानुन विपरीत कार्य हुन नदिन बजार अनुगमनलाई निरन्तता दिने निर्णय गरेको छ । कोभिड–१९ को दोस्रो लहरमा संक्रमण तीव्र रुपमा फैलिरहेको अबस्थामा निषेधाज्ञा जारी भएका जिल्लाहरुमा जाने यातायातलाई रोक्न कडाई गरिने बैठकले निर्णय गरेको छ । संक्रमित विरामीलाई जिल्ला स्वास्थ्य कार्यालय र भेरी नगरपालिकाको एम्वुलेन्सलाई प्रयोग गर्ने, कोभिड–१९ रहित विरामीहरुको लागि नेपाल रेडक्रस सोसाईटी जाजरकोटको एम्बुलेन्सलाई प्रयोग गर्ने बैठकले निर्णय गरेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या २६९ पुग्यो
बुधबार गरिएको परिक्षणबाट जिल्लामा कोरोना संक्रमित विरामीहरुको संख्या २ सय ६४ जना रहेको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले जनाएको छ । बिहिबार जिल्लाका विभिन्न ठाउँमा गरिएको परिक्षणको रिपोर्ट अझैपनि संकलन हुन नसकेको स्वास्थ्य कार्यालयको भनाई रहेको छ । बिहिबार भेरी नगरपालिकाको स्वास्थ्य शाखाले वडा नम्बर ३ र ४ मा १८ जनामा गरिएको एन्टीजेन परिक्षणबाट ५ जनालाई कोरोना पुष्टी भएको नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्य सहायक यज्ञ गौतमले जानकारी दिएका छन् । बिहिबार भेरी नगरपालिकामा ५ जनालाई कोरोना पुष्टी भएपछि जिल्लामा संक्रमितको संख्या २ सय ६९ जना पुगेको छ । गौतमले दिएको जानकारी अनुसार बिहिबार भेरी नगरपालिका–३ र ४ मा पिसीआर जाँचको लागि १ सय ५ जनाको स्वाब संकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस्