Hamro Sanchar

एक अदभुत नारीको अबसान

मायाप्रसाद शर्मा आयाम प्रकाशित : २०८०/४/४ गते
काठमाडौं

विहान उठेर नृत्यकर्म गरेर चिया र तातोपानी पिउने बानी छ, त्यो पिए । श्रीमती रिता लामो समय देखि बिरामीका कारण वेलुका फोन गर्ने बानी कमै छ । विहान सबेरै उठेर फोन गर्ने गर्छु । यो कुरा नजिककालाई मात्र थाहा हुने कुरा भयो । भाई रामदीपले सिता दिदी बिरामी परेकोले नर्भिक हस्पिटलमा लिएको अलि अवस्था किर्टिकल छ रे भन्ने कुरा गरे । मेरा मथिङ्गमा निकै उतार चडावहरु आउने जाने गर्न थाले । कमरेड अध्यक्षलाई भेट्न जाँदा सधै उहाँले भन्ने गरेका कुराहरु तपाईको र मेरो परिवारमा निकै समस्या छ, तपाईको परिवारको अवस्था कस्तो छ । हाम्रो अहिले ठिकै छ तर बेला मौकामा उल्झिने र सुल्झिने गर्छ भन्ने गर्दथे । नर्भिकमै जानेकी भनेर कमरेड जगप्रसाद शर्मा, गोपी अछामी लगायत वरपरका कमरेडहरुलाई फोन गरे तर कसैलाई लाग्यो कसैलाई लागेन । फोन लागेका कमरेडहरुसंग हामी सल्लाह गर्दै थियौ । यत्तिकैमा अर्को दुःखद खवर प्राप्त भयो आज विहान ८ः३३ बजेको समयमा नर्भिक अस्पतालबाट सिता दीदीले हामीलाई छोडेर जानुभयो । मेरो मस्तिक्समा तंरङ्ग पैदा भयो । बिगत र वर्तमानका रिलहरु घुम्न थाले । म कम्युनिष्ट हुँदा देखी प्रत्यक्ष परोक्ष उहाँ र उहाँको काम व्यवहारलाई चिन्दछु । उहाँ एक अदभुत क्षमता भएको नारी हो । हामी जनयुद्धको तयारी गर्दै थियौ । हाम्रो प्रशिक्षण कार्यक्रम बर्दियामा भएको थियो । हामी अव जनयुद्धको अन्तिम तयारीमा पुगेकाछौ । अब त्यहाँ कार्यकर्तालाई पुर्णकालिन, अल्पकालिन र समर्थक भएर काममा लाग्नु पर्नेछ भन्दै सबैका परिवारहरुको अवस्था र स्थितिको बारे बुझ्ने काम भईरहेको थियो । कमरेड अध्यक्ष लगायतका सिनियर कमरेडहरुको क्रमिक रुपमा पारिवारिक अवस्था, स्थिति र परिवेशको बारे कुरा उठे उठाईए । त्यतिबेलाका चर्चित नेताहरु क.प्रचणडको जीवनसंङ्गीनी सिता दाहाल, क.मोहन वैद्य किरणको जीवनसंगीनी शुष्मा वैद्य, क.बाबुराम भट्टराईको जीवनसंगिनी क.हिसिला यमी, क.रामबहादुर थापा बादलको जीवनसंगिनी नैनकला थापा चर्चा बढी थियो सबैलाई मिलायर लिनसक्ने क्षमता उहासंग बढीछ भन्ने सुनिन्थ्यो । उच्च तहका नेताहरुसंग जोडिनु भएका परिवार र उहाँहरुको कामले पार्ने प्रभाव निकै महत्त्वको हुने गर्थ्यो । हामी सबै विश्वास, आत्मियता र जोसका साथ सकारात्मक तंरङ्ग पैदा भएको थियौ । अर्थाद सशक्त उर्जा प्राप्त भएको थियो । त्यसमा पनि पार्टीका नेताका पनि नेता अर्थात मुख्य नेता क.अध्यक्षको बारे अरु कुरा चिन्न र सिक्न आवश्यक हुन्छ र थियो । वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिनु भएकी कमरेड सिता पौडेल २०२८ सालमा क.प्रचण्डसंग शुभविबाह भई सिता दाहालमा परिणत भएको थियो । २०२८ साल देखि पार्टीको विभिन्नका निकायमा रहेको हाल माओवादी केन्द्र सम्बद्ध केन्द्रीय सल्लाहकार समितिको सदस्य रहनु भएकी सिता तीन छोरी र एक छोराको आमा उहाँ लगायत समग्र पार्टी पंती आम नेपाली जनताकी असली आमा हुने संभावना कति छ भन्ने थियो । त्यो क्रमस जीवनले, व्यबहारले मेरो जिज्ञाशालाई अन्तिमसम्म हेर्दा पुरा गरिदियो ।

त्यसपछि जनयुद्धको घोषणा भयो र केही समय छोराछोरी आफन्तको घरमा राखेर भुमिगत हुनु भयो । तर त्यो धेरैदिन संभावना भएन । अध्यक्ष क. प्रचण्डको टाउको भारी हुँदै गयो । रोमियो किलोसेरा टु लगायतका ठुल्ठुला अप्रेशन सुरु हुनथाले । घर, गोठ, वन जंगल धारो यत्रतत्र गिरफ्तार गर्ने यातना दिने झुटा मुद्धा लगाउने हत्या गर्ने क्रम बढिराखेको थियो । कमरेड प्रचण्डको टाउको ढुङ्गा जस्तै साह्रो र सगरमाथा जस्तो अग्लो हुँदैगयो । घोषित मुल्यको व्यवस्था भयो झन सिता दिदीको उचाई र आवश्यकता पनि बढ्दै गयो । हाँलाई मात्र होईन छोराछोरीहरुलाई पनि खोज्न थाले नेताहरुका छोराछोरीहरु भेट्ने बित्तिकै हत्या गर्न थाल्यो । क पोष्टबहादुर बोगटीका छोरा हुन चाहे हितराजका छोरा वा हेमन्त वलिकी छोरी हुन चाहे एकराज भण्डारीका छोरा हुन चाहे गणेश पुनका बुवा हुन यस्तै यस्तै सबैका । अब सेल्टर बदल्ने र आन्दोलनमा लगाउनु पर्ने स्थिती देखाप¥यो । सबै छोराछोरी समेत भुमिगत बनाई आवश्यता अनुसार जिम्मा दिने काम भयो । पार्टीको अवस्था सुदृढ हुनमा सिताको भुमिका अवश्य ऐतिहासिक महत्त्वको छ । पार्टीभित्र अवश्य पनि अन्तरसंघर्ष हुन्छ वर्गसंघर्षको उचाईसंगै अन्तर संघर्ष चल्ने गर्दछ । अन्तर संघर्षको उचित व्यवस्थापन गर्नमा उहाँको भुमिका पनि त्यही उचाईमा रहेको थियो । त्यही भुमिकाले पार्टी बच्यो आन्दोलन बच्यो र परिवर्तनको एजेण्डाहरुले उचाई प्राप्त गरे । कहिले काँही नेतृत्वहरुका बीच देखापर्ने अन्तरविरोध वा परिवारका बीच हुने मनमुटावहरुलाई पनि सहजै हलगर्ने क्षमता भरपुर रुपमा देखा पदर्थ्यो । वहाँकै पहलमा समाधान, सहकार्य र समझदारीको भूमिका कुशलता पूर्वक निर्वाह हुने गर्दथ्यो ।

कुनै पनि आमा बुवालाई आफ्नै काखमा आफुले जन्मेका, हुर्केका, ठुला भएका छोराछोरीहरु मृत्यु भएको सहन पचाउन र खुसी हुन निकै गाह्रो हुन्छ । चाहे जेठी छोरी ज्ञानु दाहाल चाहे छोरा साकार दाहालको मृत्यु नपचाई नहुने सर्त बने । उहाँको शरिरमा रोगले पनि घर गर्न पुगेको थियो । त्यो संसारमा विरलै लाग्ने रोग पार्किनसका कारण दिन प्रतिदिन गल्दै जान थाल्नु भयो । २०६९ साल तीर हाम्रो पार्टीमा अन्तरबिरोध पैदा भएर बिभाजित हुन पुग्यो । हामी फरक धारमा उभिने अवस्था आईलाग्यो । तर पनि हाम्रा छलफल, सहकार्य र संवाद भईरहेकै थिए । २०७२ साल बैशाख १२ गते विनासकारी भुकुम्प गयो । देशलाई छेदविच्छेद पा¥यो । विशेष गरेर देशको मध्य भागमा बढी प्रभाब पारेको थियो । हामी संलग्न भएको पार्टी र क. प्रचण्डले नेतृत्व गरेको पार्टी लगायत ५ पार्टीको संयुक्त कार्यक्रम गर्ने भन्ने निर्णय भयो हामी संयुक्त कार्यक्रम सहित सिन्धुपाल्चोक जिल्लाको छत्रेश्वरी मा.वि.भवन निर्माणमा कार्यको उदघाट्न कार्यकममा जाँदै थियौ । मेलम्चीमा भेट भयो कमरेड अध्यक्ष उहाँसंगै कमरेड सिता पनि हुनु हुन्थ्यो । अध्यक्ष कमरेडले बोलाउनु भयो संगै खाने कुरा भयो । पार्टी आन्दोलनको विभाजनका बारे सिता दिदीले कुरा राख्नु भयो । कमरेड अध्यक्षले मेरो पारिवारिक अवस्था सहित परिचय र स्थितिका बारे कुरा राख्नु भयो । हामी अघिपछि गर्दै छत्रेश्वरी मा बि मा पुग्यौ जहा राजु श्रेष्ठका दुई छेरा लगायत दर्जनौ मरेका थिए धेरै जसो घरहरु भत्तिएका थिए । उद्घाटन कार्यकममा मैले भनेको थिए कमरेड अध्यक्ष भुकुम्ले देशलाई क्षेतबिच्क्षेत पारेको छ यसको हामी पुनर्निर्माणमा जुटेकाछौ अबश्य केही राहत हुनेछ । केहि बर्षयता हामो पार्टी पनि आन्तरिक भुकुम्ले क्षेतबिच्क्षेत भएकोछ । त्यसको मर्मत कहिले हुन्छ वा हुदैन भनेको थिए । पार्टी एकता पनि आजकै दिन देखि शुरु भयो भन्नु भएको थियो । केही महिना पछि साना ठुला दश पार्टीहरुका बीच पार्टी एकता भयो । यसको महत्वपुर्ण देन दीदी सिताकै रहेको थियो । दीदी सिता अँझै पनि पार्टीलाई शुद्धिकरण र जनशक्तिको उचित प्रयोग गर्नका लागि तपाईको सहयोग जरुरी थियो । त्यो अधुरो अपुरो रहन गयो । त्यो हामीले पुरा गर्नेछौ ।

वर्गिय समाजमा धेरै मान्छेको भलाईको काममा लागेको अबश्थामा थोरै मान्छेको मन दुख्नु स्वभाबिक हुन्छ होला । यस्तो घटना कहिल्यै हुदैन कि भनेर खुशियाली हुन पनि सक्छ तर त्यसमा सहमती दिनु वा स्वीकृति दिनु मानबीय हिसाबले न त्यो जायज छ न त्यो उपयुक्त छ । कतिपयका चर्चित हुने नाममा थुतुनु चलाउदा असली नियत पनि उजागर भए । मृत्यु अन्तिम र अनिवार्य सर्त भएको तथ्य सिकाउने अवसर पनि प्राप्त भयो । उच्च बलिदानबाट प्राप्त अधिकार प्रयोग गर्दै आर्यघाटमै पुगेर दुख्ख साटासाट गर्नु भन्दा भाईरल हुन महान् जनयुद्धका बेलामा भएका वलिदानसंग जोड्ने कुरा गर्नु मनासिव होइन । हामीसंग आ आफ्नै साँस्कृतिक मान्यताहरु छन विगतमा हाम्रा दर्जनौ दर्जन घरका सदस्य परिवारका आफन्तहरु सहिद हुदा राज्यले नै कपाल खौरना जुठो बार्न प्रतिबन्ध लगायो । त्यो हाम्रो नयाँ संस्कृतिमा परिणत भयो । के त्यतिबेला मान्छे होइनन त्यसका बारेमा एक शब्द पनि खर्च गर्न नसक्नेहरु अहिले मन्दरुपमा बान्ता गरिरहेछन । प्रचण्ड कमरेड सिता कमरेडको पति र नेता हो । तर तिन करोड नेपाली जनताको अबिभावक हो । हाम्रो नेपाली समाजको वसोवास अनुसार कर्मकाण्ड पनि थरिथरीका छन् । यसमा समय खेर फाल्नु बेकार छ ।

देश र जनताका लागि मृत्युको कप्फन बाँधेर श्रीमानसंगै युद्धमा होमिनु भएकी दिदी सिता दाहाल असाध्यै सरल ब्यत्तित्व हो । साच्चै उहाँमा न कुनै घमण्ड थियो न कुनै रवाफ थियो न कुनै पावरको गन्ध आउथ्यो । बरु कमरेड प्रचण्डलाई बनाउन वा मृत्युको मुखबाट बचाउन सबै भन्दा बढी भुमिका उहाँको नै रहेको थियो । कमरेड सिताको निधनले पार्टी जनता र राष्ट्रका लागि अतुलनिय क्षेति भएकोछ । उहाँमा सिद्धान्त प्रतिको निष्ठा वर्गिय मित्रता उन्नत राजनैतिक चेतना तथा असमित समर्पन उहाका विशेषता हुन । सिता दिदी आफ्ना अतुलनिय योगदानहरु मार्फत चीरकाल सम्म भावी पुस्ताका लागि स्मरणीय र प्रेरणदायी दस्ताबेज भईरहनु हुनेछ । दीदी सिता हामी तपाईको सच्चा योगदानको सदैव अनुसरण गर्नेछौ । अलबिदा दिदी सिता हार्दिक श्रद्धाञ्जली । हार्दिक श्रद्धाञ्जली ।। हार्दिक श्रद्धाञ्जली ।।।

कौशलटार २०८० असार ३०

(लेखकः– राष्ट्रिय सभा सदस्य तथा प्रत्यायोजीत ब्यबस्पन तथा सरकरी आश्वासन समितिका सभापति हुन् ।)

प्रतिकृया दिनुहोस्