Hamro Sanchar

कविता–प्रेम

–भवानी रावल शाही प्रकाशित : २०८०/४/१० गते
जाजरकोट

खै ! कस्तो प्रेम हो ?
ऊ आफ्नो हुँदैन भन्ने मलाई थाहा छ
मेरो पीडाले उस्को मन छुदैन भन्ने पनि थाहा छ
तर, उस्कै साथ प्यारो लाग्ने
अझ उस्कै बात प्यारो लाग्ने
उसले हृदयमा पुर्याएको आघात प्यारो लाग्ने
खै ! कस्तो आसक्ति ?

म कल्पना गर्छु,
ऊ भन्दा अर्को मेरो दुनियाँ छैन सायद
ऊ बिनाको जीवन, मेरो जीवन हैन सायद
आँखा चिम्लदा होस् या आँखा खोल्दा होस्
निकै ब्यस्ततामा होस् या फुर्सदमा होस्
दुबै समय मलाई उत्सवझैँ लाग्छन् किनकी
कल्पनाका सबै पल, सबै क्षण म उसंगै हराई रहेको
आभास गर्छु
भावातीत बेलूनभित्र प्रणयभाव सजिव राख्न आफै चुमेर श्वास भर्छु । खै ! कस्तो चाहा हो ??

खै ! कस्तो सम्बन्ध ?
न टाढिन सकिने, न जोडिन सकिने
न तोड्न सकिने न जोड्न सकिने
अन्तरात्माका उसका चाहा आफ्नै झैँ लाग्छ
त्यो हातले सजाउने सिउदो मेरो मात्रैझैँ लाग्छ
एक्लै कहिँले हास्दै, कहिले रुदै
कल्पनाले भरिएको मस्तिष्कमा
उसको आकृती सजाउदै,
आफुलाई समर्पित गरिरहेँ
मनमा उब्जिएको द्धन्दमा उसलाई जिताउन आफूले सदैव हारिरहे
खै ! कस्तो अनुराग ??

खै ! कस्तो माया हो ?
उस्को घृणामा पनि मैले माया देख्ने
तिरस्कारमा पनि प्रेम खोज्ने
अपमानमा सम्मान भेट्ने
उसको रिसलाई पनि भावनामा समेट्ने

लाग्छ जीवनभरी यसै गरि बाच्न पाऊँ
मनभित्र उस्लाई मात्रै साच्न पाऊँ
ऊ प्रतिको मेरो प्रेमपुर्ण श्रद्धालाई
अटुट अनि अमर बनाउन पाऊँ
आज मैले तय गरेको गन्तव्यबाट
उसलाई अजङ प्रेम डोरीले कस्न सकुँ

उसको समर्थनमा होस वा बिरोधमा
संयोगमा होस् वा वियोगमा
ऊ प्रती मेरो मगजमा बनेको धारणा
अर्थ नबुझी मैले उसलाई गरेको प्रेम,
यो जीवनभर कहिल्यै पनि नसकियोस ।
कहिल्यै पनि नमेटियोस । बस यही चाहा छ मेरो !!

प्रतिकृया दिनुहोस्