Hamro Sanchar

यस बर्ष लाखे नाँचको समन्वय जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गर्ने

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/५/२ गते
जाजरकोट

प्रत्येक बर्ष जिल्ला सदरमुकाम खलंगामा नाँचिदै आएको लाखे नाँचको यस बर्ष जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गर्ने भएको छ । जिल्लाको इतिहास र प्राकृतिक सम्पदा, कला, संस्कृतिको संरक्षण तथा प्रचारप्रसार गर्ने उदेश्य राखेर नाफा रहित संस्थाका रुपमा दर्ता भएको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले यस बर्ष सदरमुकाम खलंगाको लाखे नाँच संचालन गर्न समन्वय गर्ने भएको छ ।

भक्तपुरबाट आयातित भएता पनि लाखे नाँच जिल्ला सदरमुकाम खलंगाका नेवार समुदायले डेढ सय बर्ष पहिलेदेखि नाच्दै आएको नाँच हो । डेढ सय बर्ष पुरानो जिल्ला सदरमुकाम खलंगाको लाखे नाँचलाई यस वर्ष यही भदौ ४ गते देखि सुरु हुने भएको छ ।

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्वय र स्थानीय नेवार समुदायको आयोजनामा सुरु गर्न लागिएको लाखे नाँच यस वर्ष साउन महिनामा मलमास परेका कारण भदौं ४ गतेदेखि सुरु गर्न लागिएको लाखे नाँच आयोजक समारोह समितिले जनाएको छ । हाँसो, ठटटा, मनोरन्जल, गीत नाँच तथा व्यंगको संयुक्त प्रस्तुती लाखे नाँचलाई यस वर्ष विशेष रुपले जिल्लामा संचालन गरिने आयोजकहरुको भनाइ छ ।

लाखे नाँच मुल समारोह समितिको शनिवार खलंगामा वसेको वैठकले यही भदौ ४ गते खलंगा वजार क्षेत्रमा रहेका विभिन्न पाँच वटा मन्दिरको परिक्रमा गरेर गैरीखालीमा लाखे नाँच प्रदर्शन गर्ने निर्णय गरेको छ । लाखेनाँच व्यवस्थापन समिकिा संयोजक जनक भडेलका अनुसार कर्णाली प्रदेश स्थापना दिवसकै दिन खलंगाको गैरीखालीमा रहेका कालिका मन्दिर, वजुदेवीको मन्दिर, कृष्ण मन्दिर, वाहुनवाडाको रामजानकी मन्दिर र काजीवाडाको राधाकृष्ण मन्दिर परिक्रमा गरेर गैरीखाली स्थित वालमन्दिरको प्रांगणमा पुगेर लाखे नाँच सुरु गर्ने निर्णय गरिएको छ ।

विगत वर्षहरु भन्दा फरक तरिकाले लाखे नाँचलाइ मौलिक, मर्यादित र व्यवस्थित रुपमा सन्चालन गर्न जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको समन्व्य र स्थानीय नेवार तथा अन्य समुदायका व्यक्तिहरुको सहभागितामा पहल अघि वढाइएको संयोजक भडेलले वताएका छन् । उनले लाखे नाँचलाइ व्यवस्थित मर्यादित र आकर्षक वनाउन विभिन्न व्यक्ति र निकायहरुसंग आवस्यक समन्वय गरिएको वताए । विगतका कमिकमजोरीहरुलाइ छोड्द,ै मौलिकतालाई जोगाउदै, लाखे नाँच संचालन गर्न लागेका छौं अध्यक्ष भडेलले भने–‘ सवैको साथ र सहयोग जरुरी रहेको छ ।’

जाजरकोटी राजा उपेन्द्र विक्रम शाहले भक्तपुरका नेवार गोविन्दमान भडेललाई जाजरकोटमा ल्याएर सुरु गरेको लाखे नाँच विगत केहि बर्षहरुमा सरोकारवालाहरुको वेवास्ताका कारण ओझेलमा परेको जनगुनासो छ । जिल्लाको महत्वपुर्ण पुरातात्विक सम्पदा भएकोले यसको संरक्षणमा आफुहरुले आवस्यक समन्वय गरेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए ।

केसीले यस वर्ष लाखे नाँचलाइ सवै समुदायको सक्रियता र सहभागितामा सन्चालन गर्न लागिएको बताए । उक्त नाँचमा जिल्लाका सिंगारु, पैसैरु लगाएतका मौलिक नाँचहरुलाई पनि समावेस गर्न लागिएको केसी वताए । अहिलेको पुस्ताले मौलिक सम्पदा र सँस्कृति जोगाउन पहल र चासो नगरे भोलिका पुस्तालाई इतिहास, संस्कृति र प्रकृतिको खोजी गर्न समस्या पर्ने केसीले वताए । यस वर्षको लाखे नाँचका लागि प्रतिष्ठानका मानार्थ सदस्य शुरेस जंग शाहले प्रतिष्ठान मार्फत केहि सामाग्री किन्न दस हजार सहयोग गरेको पनि अध्यक्ष केसीले जानकारी दिए ।

लाखेनाँच संचालनको लागि स्थानीय युवा र अन्य व्यक्तिहरु सक्रियता पुर्वक लागेको स्थानीय युवा विवश विक्रम शाहले वताए । सम्पदा र सँस्कृतिको माया भएकै कारण स्थानीय युवाहरुले नाँच संरक्षणको चिन्ता गरेको पाइएका छ, उनले भने । खलंगामा लाखे नाँच यस वर्ष भदौ ४ गते देखि भदौ २१ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।


Tagged
प्रतिकृया दिनुहोस्