Hamro Sanchar

विप्लव नेकपाले जाजरकोटलाई दुई जिल्लामा विभाजन

डि–१ को ईन्चार्ज विराजन शाही, सेक्रेटरी धनजीत महर

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/५/१२ गते
जाजरकोट

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जाजरकोट जिल्लालाई दुई जिल्लामा विभाजन गरेको छ । सोमबार बाँकेको नेपालगञ्जमा बसेको दक्षिण कर्णाली व्यूरोको पाँचौ पूर्ण बैठकले जाजरकोट जिल्लालाई दुई जिल्लामा विभाजन गरेको हो ।

पार्टीको आन्तरिक संगठनलई सुदृढ गर्नुको साथै साँगठनिक गतिविधिहरुलाई चलायमान बनाउन जाजरकोट जिल्लालाई दुई जिल्लामा विभाजन गरिएको नेकपा दक्षिण कर्णाली व्युरोले जनाएको छ । पार्टी केन्द्रिय सदस्य तथा दक्षिण कर्णाली व्युरो ईन्चार्ज संगम सीको अध्यक्षतामा बसेको बैठकले जाजरकोट जिल्लालाई दुई जिल्लामा विभाजन गर्नुको साथै डि–१ र डि–२ को नामाकरण गरेको बताईएको छ ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका, भेरी र नलगाड नगरपालिकाको एउटा जिल्ला बनाएर डि–१ नामाकरण गरिएको विराजन शाहीले जानकारी दिएका छन् । सोमबार बसेको बैठकले जाजरकोट डि–१ को ईन्चार्जमा विराजन शाही र सेक्रेटरीमा धनजीत महरलाई जिम्मेवारी ताकेको डि–१ का ईन्चार्ज शाहीले जानकारी दिएका छन् । ईन्चार्ज शाहीले दिएको जानकारी अनुसार जाजरकोट जिल्लाको छेडागाड नगरपालिका, जुनीचाँदे र शिवालय गाउँपालिकाको भुगोललाई समेटेर अर्को जिल्ला बनाउनुको साथै डि–२ नामाकरण गरिएको छ । डि–२ को ईन्चार्ज सुर्यकिरण र सेक्रेटरीमा गोविन्द चन्दलाई जिम्मेवारी ताकेको डि–१ का ईन्चार्ज शाहीले जानकारी दिए ।

समाजवादी मोर्चाको कार्ययोजनालाई पुरा गर्न दक्षिण कर्णाली व्युरोको पाँचौ पूर्ण बैठकलाई स्थगित गर्नु परेको जानकारी दिदै शाहीले बुधबार पाँचौ पूर्ण बैठकलाई पूर्णता दिने बताए । शाहीले दिएको जानकारी अनुसार जाजरकोटको कुशे गाउँपालिकालाई डि–१ मा जोड्ने की, डि–२ मा जोड्ने भन्ने विषयमा बैठकमा आ–आफ्नै रायहरु प्रस्तुत भएतापनि आधिकारिक निर्णय भई सकेको छैन । पाँचौ पूर्ण बैठकलाई पूर्णता दिन बुधबार बस्ने बैठकले कुशे गाउँपालिकालाई कता जोड्ने भन्ने विषयमा आधिकारिक निर्णय गर्ने शाहीले बताएका छन् । आज स्थगित गरिएको बैठक जनआधारित पार्टी, जनआधारित नेता र जनआधारित कार्यकर्ता निर्माण गर्ने विषयमा केन्द्रित भएको जाजरकोट डि–१ का ईन्चार्ज शाहीले बताएका छन् ।


Tagged
प्रतिकृया दिनुहोस्