Hamro Sanchar

देशलाई सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा माओवादीले नै बढाउछः– मन्त्री बस्नेत

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/५/१८ गते
जाजरकोट

राजनीतिक परिवर्तनको अगुवाई नेकपा माओवादीले गरेको बताउदै नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले देशलाई सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा माओवादीले नै अगाडी बढाउने बताएका छन् । आईतबार जिल्ला सदरमुकाम खलंगामा प्रेस सेन्टर नेपाल, जाजरकोटले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा धारणा राख्ने क्रममा मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र) ले यतिवेला देशव्यापी रुपमा “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान ।” संचालन गरिरहेको जानकारी दिदै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका मन्त्री बस्नेतले आगामी मंसिर महिनाको तेस्रो सातातिर पार्टीले विधान सभाको आयोजना गर्न लागेको जानकारी दिए । पार्टीको विधान सभाले अहिलेको प्रविधिलाई उपयोग गर्न सक्ने प्रविधिमैत्री पार्टी संगठनहरुको संरचना निर्माण गर्ने विधानको व्यवस्था गर्ने बताए । विधान सभा लगतै गरिने विशेष महाधिबेशनबाट नयाँ विचार योजनाको बिकास गर्ने योजनामा पार्टी जुटीरहेको बताए । विशेष महाधिबेशनबाट पारित गरिने विचार योजनाले देशको सामाजिक न्याय र आर्थिक समृद्धिको नेतृत्व गर्ने भनाई राखेका थिए ।

उक्त पत्रकार भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले जाजरकोट जिल्लाबाट अन्तर जिल्ला जोड्ने मध्यपहाडी लोक मार्ग, भेरी करिडोर, छेडाचाँदे हुदै जुम्ला जोड्ने र लुम्बिनी रारा पर्यटकीय राजमार्ग जिल्लाका मुख्य सडकहरु भएको बताउदै उक्त सहडकहरुको कालोपत्रेको काम अगाडी बढिरहेको बताएका थिए । जिल्लाका ७७ वडाहरुमध्ये ७४ वटा वडाहरु सडक संजालमा जोडिएको जानकारी दिदै मन्त्री बस्नेतले सडक संजालमा जोडिन बाँकी जुनीचाँदे गाउँपालिकाको वडा नं.७, बारेकोट गाउँपालिकाको वडा नं. ३ र नलगाड नगरपालिकाको वडा नं. १३ लाई तत्काल सडक संजालमा जोड्ने योजना रहेको भनाई राखेका थिए ।

नेपाल विद्युत प्राधिकरणले जाजरकोट जिल्लाको समाईला र बडावनमा सवस्टेशन निर्माण गर्नका लागि ३ अर्बको ठेक्का खोली निर्माण कम्पनीसंग ठेक्का सम्झौता गरी सकेको जानकारी दिदै मन्त्री बस्नेतले प्रसारण लाईन वितरण गर्न ७० प्रतिशत घरधुरीमा २ बर्ष भित्रै विद्युतिकरण गरीसक्ने योजना रहेको भनाई राखेका थिए । व्यवस्थित संचार सेवाबाट जिल्लालाई सुलभ बनाउन २८ वटा विभिन्न स्थानमा टेलिफोनका टावर निर्माण भईसकेको जानारी दिदै मन्त्री बस्नेतले हाल २१ वटा टावर संचालनमा रहेको बताए । जिल्लाका ७५ प्रतिशत घरधुरीमा खानेपानी उपलब्ध भईसकेको जानकारी दिदै मन्त्री बस्नेतले २५ प्रतिशत घरधुरीमा खानेपानी उपलब्ध गराउने योजना निर्माण गरी बजेट सुनिश्चितताको लागि अग्रसरता जनाउन विषयगत कार्यालयलाई निर्देशन गरेको बताए । जिल्लाको खेतीयोग्य जमिनमा आगामी दुई बर्ष भित्रै सिंचाई सेवा उपलब्ध गराउने गरी आफु लागि परेको मन्त्री बस्नेतले जानकारी दिएका थिए ।

जिल्ला सदरमुकाम खलंगामा अत्याधुनिक भौतिक संरचना सहितको ५० शैयाको जाजरकोट अस्पताल संचालनले स्वास्थ्य सेवामा जिल्लालाई सुगम बनाउनेमा विश्वास व्यक्त गर्दै मन्त्री बस्नेतले जाजरकोट बहुँप्राविधिक शिक्षालय संचालनले जाजरकोट जिल्लाको शैक्षिक अबस्थामा गुणात्मक परिवर्तन ल्याउने बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सुन्तला, ओखर र मौरी जोनले जिल्लाको कृषि व्यवसायिकतालाई नयाँ उचाईमा उठाएको मन्त्री बस्नेतले भनाई राखेका थिए । सुन्तला जोनलाई सुपर जोनमा विकास गर्न परियोजनालाई आबश्यक निर्देशन गरिसकेको मन्त्री बस्नेतले भनाई राखेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्