Hamro Sanchar

सहमति अनुसारनै सत्ता गठबन्धन चल्छः– मन्त्री ज्वाला

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/५/३० गते
जाजरकोट

सहमति अनुसारनै पाँच बर्षको लागि सत्ता गठबन्धन चल्ने भौतिक पूर्वाधार तथा यातयात मन्त्री प्रकाश ज्वालाले बताएका छन् । सनिवार जिल्ला सदरमुकाम खलंगामा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

नेकपा (एकीकृत समाजवादी ) पार्टी, जाजरकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्दै मन्त्री ज्वालले अहिलेको बाम–लोकतान्त्रिक गठबन्धन सरकार नेताहरु बीचमा भएको भद्र सहमति अनुसारनै चल्ने भनाई राखेका थिए । आलोपालोको माध्यामबाट बाम–लोकतान्त्रिक गठबन्धन पाँच बर्षसम्म चल्ने बताउदै मन्त्री ज्वालाले संविधानको रक्षा, स्थिरता र समृद्धिको नारा दिएर बाम–लोकतानित्रक गठबन्धन गरेर चुनाव लडेको स्मरण गराएका थिए ।

प्रचण्ड नेतृत्वको बर्तमान सरकारले भ्रष्टाचार सुन्य सहनशिलताको सिद्धान्तलाई आत्मसाथ गरेको बताउदै मन्त्री ज्वालाले अनुसन्धानबाट देखिएको दोषी कोही पनि उम्किन नपाउने भनाई राखेका थिए । एकपछि अर्को गर्दै क्रमश सबै भ्रष्टाचारका फाईलहरु खोल्ने तयारीका साथ सरकार अगाडी बढिरहेको मन्त्री ज्वालाले भनाई राखेका थिए ।

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव समेत रहेका मन्त्री ज्वाला पार्टी जिल्ला कमिटिको बैठक बसाल्न आफु जाजरकोट आईपुगेको बताएका थिए । सम्पन्न पार्टी केन्द्रिय समितिको बैठकले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म १० औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिदै मन्त्री ज्वालाले १० औं महाधिवेशनको तयारी गर्न यतिवेला सबै जिल्ला कमिटीका बैठकहरु बस्नुको साथै पार्टी सदस्यता वितरण तथा नविकरणका कामलाई अगाडी बढाई रहेको जानकारी दिएका थिए । पार्टीको आगामी १० औं महाधिबेशनले समाजवादी व्यवस्थाको स्पष्ट मार्गचित्र कोर्ने जानकारी दिदै मन्त्री ज्वालाले १० औं महाधिवेशनको पूर्व तयारी स्वरुप पार्टीले आगामी असोज महिनाबाट देशव्यापी रुपमा समाजवादी राष्ट्रिय जागरण अभियान संचालन गर्ने तयारी गरेको बताए ।

कर्णाली राजमार्ग, सुर्खेतदेखि हिल्सा जोड्ने फाष्ट ट्रयाक, भेरी करिडोर, लम्बिनी–रारा जोड्ने सडक कर्णाली प्रदेशका लाईफ मार्ग भएको बताउदै मन्त्री ज्वालाले उक्त सडकहरुको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेर बजेट सुनिश्चितताको लागि अर्थमन्त्रालयलाई अनुरोध गरेको जानकारी दिएका थिए । जाजरकोट जिल्लाको कुशेदेखि जुम्ला जोड्ने सुरुङ्ग मार्ग सरकारको प्राथमिकतामा परेको जानकारी दिदै मन्त्री ज्वालाले यसै बर्ष सरकारले सम्भाव्यता अध्ययन गर्ने तयारी गरेको जानकारी दिए । मध्यपहाडी लोकमार्ग अन्तरगत जाजरकोट खण्डको ट्रयाक खोल्न बाँकी रहेको मान्ताभीर र रुकुमपश्चिम र जाजरकोट जोड्ने भेरीपुलको निर्माण कार्यलाई तत्काल कार्यान्वयनमा ल्याउने मन्त्री ज्वालाले प्रतिवद्धता व्यक्त गरेका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्