News Portal

जाजरकोटमा कोरोना सक्रिय संक्रमित ४३०

८९८ पटक

नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको दोस्रो लहरले जाजरकोटमा व्यापक रुप लिएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या बुधबार बिहानसम्म ४ सय ३० जना पुगेको छ ।

संक्रमणको दोस्रो लहर चले पश्चात जिल्लाका विभिन्न ठाउँमा गरिएको एन्टीजेन परिक्षणबाट ३ सय ५५ जनालाई कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय, जाजरकोटका महामारी फोकलपर्सन कृष्ण खत्रीले जानकारी दिएका छन् । खत्रीले दिएको जानकारी अनुसार पिसीआर परिक्षणबाट ९१ जनालाई कोरोना पुष्टी भएको छ । एन्टीजेन र पिसीआर परिक्षणबाट कोरोना पुष्टी भएका ४ सय ४६ जना मध्ये १६ जनालाई (एन्टीजेन र पिसीआर) दोहोरो परिक्षणबाट कोरोना पुष्टी भएको जानकारी दिदै खत्रीले जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ४ सय ३० रहेको बताए ।

भरपर्दो टेलिफोन सेवा नहुनु र ईन्टरनेट सेवाले काम नगर्दा कतिपय पालिकाबाट दैनिक रिपोर्ट संकलन गर्न गाह्रो भईरहेको खत्रीले भनाई राखेका छन् । कतिपय पालिकाबाट नियमित रुपमा संक्रमितहरुको पहिचान, पुष्टी र उपचारको दैनिक रिपोर्ट प्राप्त भएता पनि कतिपय पालिकाबाट दैनिक रिपोर्टहरु प्राप्त हुन नसकेकोमा खत्रीले दुःख व्यक्त गरेका छन् ।

संक्रमणको आशंका गरिएका बिरामीहरुलाई गरिएको परिक्षणबाट ७० देखि ८० प्रतिशत बिरामीलाई कोरोना पुष्टी भएको जानकारी दिदै खत्रीले आम नागरिकमा गरिएको परिक्षणबाट ३५ देखि ४० प्रतिशतमा कोरोना पुष्टी भएको बताए । झण्डै ४० प्रतिशत नागरिकलाई पुष्टी भएको कोरोना परिक्षणको दायरालाई जिल्लामा बढाउन नसकिएको खत्रीले जानकारी दिए । किटको अभावले जिल्लामा प्रयाप्त मात्रमा कोरोना संक्रमितहरुको परिक्षण तथा पहिचान हुन नसकेको खत्रीले बताए । नयाँ भेरियन्ट सहितको कोरोना दोस्रो लहरसंगको लडाईमा राज्यको सम्पूर्ण शक्ति सामेल हुनुपर्ने भनाई राख्दै खत्रीले परिक्षण गर्नका लागि प्रयाप्त मात्रामा किटको व्यवस्थापन गर्न नसक्नुमा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनीधिको कम्जोरी रहेको औल्याए । कोरोना संक्रमित बिरामीहरुमा लगातार सुख्खा खोकी लाग्ने र शास फेर्न गाह्रो हुने लक्षण देखा परेको बताउदै फोकलपर्सन खत्रीले अक्सिजन सहितका ३३ वटा आईशोलेसन बेड रहेको जिल्ला अस्पतालमा १७ जना बिरामीलाई अक्सिजन सहितको आईशोलेसन बेडमा राखेर उपचार भईरहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयको दैनिक प्रतिवेदन सार्बजनिक
जिल्ला प्रशासन कार्यालय, जाजरकोटले मंगलबार कोभिड–१९ को दैनिक प्रतिवेदन सार्बजनि गरेको छ । २०७६ चैत ११ गतेदेखि यही बैसाख २८ गतेसम्म जिल्लामा गरिएको परिक्षण, उपचार, डिस्चार्ज, रिफर, हाल उपचार भईरहेका बिरामीहरुको संख्या उल्लेख गरेर कोभिड–१९ को दैनिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालयले सार्बजनिक गरेको हो ।

गत बर्ष ११ चैत २०७६ देखि २८ बैसाख २०७८ सम्म जिल्लामा ७ हजार ५ सय ४१ जनालाई गरिएको परिक्षणबाट ५ सय ४३ जनालाई कोरोना पुष्टी भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटद्धारा मंगलबार सार्बजनिक गरिएको दैनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । पिसीआर र एन्टीजेन विधिाट गरिएको परिक्षणबाट १ सय ६८ जना संक्रमितहरु सन्चो भएर घर फर्केका छन् भने, ३ सय ६६ जना सक्रिय संक्रमितहरुलाई उपचार भईरहेको दैनिक प्रतिवेदनले बोलेको छ । उक्त प्रतिवेदनमा १ जना संक्रमितको मृत्यु र ८ जना संक्रमितलाई रिफर गरिएको देखाईएको छ ।

पिसीआर विधिबाट ६ हजार ५ सय ६ जनालाई गरिएको परिक्षणबाट १ सय ८६ जनालाई कोरोना पुष्टी भएको थियो सार्बजनिक प्रतिवेदनमा भनिएको छ–‘१ सय ११ जना संक्रमित सन्चो भएर घर फर्केका छन् भने, हाल ७५ जना सक्रिय संक्रमित विरामीलाई होम तथा अस्पतालको आईशोलसनमा राखेर उपचार भईरहेको छ ।’

त्यसैगरी एन्टीजेन बिधिबाट १ हजार ३५ जनालाई गरिएको परिक्षणबाट ३ सय ५७ जनालाई कोरोना पुष्टी भएको थियो भने, ५७ जना संक्रमित सन्चो भएर घर फर्केका छन् । २ सय ९१ जना सक्रिय संक्रमितलाई होम तथा अस्पतालको आईशोलेसनमा राखेर उपचार भईरहेको छ । उपचारको लागि जिल्ला बाहिर रिफर गरिएका संक्रमित विरामीहरुको संख्या ८ जना देखाइएको दैनिक प्रतिवेदनमा १ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा कोभिड–१९ उपाचारका लागि जिल्लामा रहेको एक अस्पतालमा १ सय ३ वटा आईशोलसन बेड मध्ये अक्सिजन सहितका ३३ वटा बेड र ७० वटा साधारण आइशोलेसन बेड रहेको उल्लेख गरिएको छ । ३ वटा आईसीयु कक्ष रहेको अस्पतालमा १ वटा भेन्टिलेटर कक्षमा १ वटा एचडीयू बेड र ५४ वटा अक्सिजन सिलिण्डर रहेको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्