Hamro Sanchar

विरोध र आलोचना गर्न पाउनुनै नेपालको संविधानको सौन्दर्यता भएकोः– नेता बिसीको भनाई

डिजिटल संचार संवाददाता प्रकाशित : २०८०/६/३ गते
जाजरकोट

विरोध र आलोचना गर्न पाउने व्यवस्था गरिनुनै नेपालको संविधानको सौन्दर्यता भएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य तथा जाजरकोट ईन्चार्ज कृष्ण बिसीले बताएका छन् । संविधान दिवस–२०८० को अबसरमा नेकपा (एस) जाजरकोटले आयोजना गरेको पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा केन्द्रिय सदस्य बिसीले यस्तो बताएका हुन् ।

निकै ठुलो संघर्ष र बलिदानबाट नेपालको संविधान जारी भएको बताउदै नेता विसीले संविधान जारी भएको ८ बर्ष वितिसकेको बताए । नेपालको संविधानले गरेको व्यवस्था अनुसार देशमा संघीयता कार्यान्वयनमा आएको चर्चा बिसीले गरेका थिए । संघीयता कार्यान्वयनमा आएपछिनै पूर्वाधार विकासले गति लिएको चर्चा गर्दै जिल्ला ईन्चार्ज बिसीले जनताको अबस्था परिवर्तन गर्नसक्ने नीति तथा कार्यक्रमको आबश्यक भएको बताए ।

संविधानको रक्षा, विकास र कार्यान्वयनका लागि राष्ट्रिय एकता र राष्ट्रिय सहमतिको आबश्यक पर्ने नेता विसीले भनाई राखेका थिए । तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी) बीचको एकतापछि बनेको नेकपाले बृहत कम्युनिष्ट एकताको बिषयलाई अगाडी बढाउन नसकेको बताउदै नेता विसीले पार्टी नेतृत्वको कारण नेकपा सक्लो रहन नसकेकोमा दुःख व्यक्त गरेका थिए । सक्लो नेकपा रहन नसकेता पनि नेतृत्वकै कारण सक्लो एमाले पनि रहन नसकेको नेता विसीले भनाई राखेका थिए ।

संविधानमा यो व्यवस्था भएन त्यो व्यवस्था भएन भनेर टिप्पनी गर्ने, आलोचना त सबैले गर्ने गरेका छौं तर, नागरिक दायित्व र भुमिका पुरा गर्ने विषयमा कोही पनि जिम्मेवार बन्न नसकेको नेकपा (माओवादी केन्द्र) जाजरकोट संयोजक टेक बहादुर रावलले भनाई राखेका थिए । आयोजित पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा नेपाली काँग्रेस जाजरकोट सचिव तेजविक्रम शाह, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य मोती वली, विप्लव नेतृत्वको नेकपा, जाजरकोट ईन्चार्ज विराजन सी, नेपाल पत्रकार महासंघ, जाजरकोट अध्यक्ष बालकुमार शर्माले आ–आफ्नो भनाई सहित संविधान दिवसको अबसरमा शुभकामना मन्तव्य राखेका थिए ।

संविधान दिवसका अबसरमा आफ्नो धारणा राख्दै नेकपा (एस) जाजरकोट अध्यक्ष कमान बहादुर खड्काले हालै सम्पन्न जाजरकोट जिल्ला कमिटीको बैठकले लिएका निर्णयहरुका विषयमा पत्रकारहरुलाई जानकारी गराएका थिए । अध्यक्ष खड्काले सम्पन्न जिल्ला कमिटी बैठकले पास गरेकाे, भ्रष्टाचारका विरुद्ध नेपाल सरकारले देखाएको सक्रियतालाई थप प्रभावकारी बनाउन स्थानीय तहमा हुने गरेका भ्रष्टाचार, अनियमिता विरुद्ध निर्ममताका ्र साथ कदम चाल्न बैठकले जोडदार माग गरेको, जिल्लामा लम्पी स्क्रीनले पशुचौपायमा पुर्याएको क्षेतीप्रति चिन्ता व्यक्त गर्दै उक्त रोगको नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्न र मर्कामा परेका कृषकहरुलाई राहतको व्यवस्था गर्न बैठकले नेपाल सरकारसंग माग गर्ने प्रस्ताव पास गरेको बताए ।

शिक्षक तथा कर्मचारीका व्यवसायिक जायज मागहरुलाई सम्बोधन गर्न बैठकले नेपाल सरकारसंग माग गरेको, जाजरकोट डोल्पा (भेरी करीडोर), मध्यपहाडी लोकमार्ग अन्तर्गत मन्ताभीर, लुम्बीनी रारा राजमार्ग, रणनैतिक सडकको रुपमा रहेका छेड़ा–चाँदे–जुम्ला सडक, धरमपोखरा कचाली–सानाखोला जस्ता महत्वपूर्ण सडकहरु तिव्रताका साथ निर्माण कार्य सम्पन्न गर्न र अलपत्र परेका मोटरपुल चौरजहारी–कुदु जोड्ने भेरी पुल, भेरी करीडोर अन्तर्गत पासागाड, तल्लु वगर लगाएत अन्य ५ वटा पुल साथै कालेखोला (छेडा ६ र जुनीचाँदे ४ जोड्ने) लगायतका महत्वपूर्ण मोटरेवल पुलहरुको निर्माण कार्य सम्पन्न गर्न नेपाल सरकारसंग, खाराखोला छेडागाड, खाराखोला नलगाड भैसेरी, कैना लगायतका मोटरेवल पुल निर्माणका लागि प्रदेश सरकारसंग बैठकले माग गर्ने प्रस्ताव पास गरेको अध्यक्ष खड्काले जानकारी दिएका थिए ।

वर्षादका कारण क्षेति भएका निजी तथा सार्वजनिक पूर्वाधारहरुको पुनर्निमाण, विपद व्यवस्थापन गर्ने कामलाई प्राथमिकतामा राख्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउने बैठकले प्रस्ताव पास गरेको अध्यक्ष खड्काले जानकारी दिदै कोहलपुर जाजरकोट डोल्पा सडक खण्डको छेडामा राती १० बजे पछि गाडी रोक्ने कार्य बन्द गर्न, कोहलपुरा जाजरकोट डोल्पा सडकको बिच बिचमा हुने अनावश्यक चेक जाँच वन्द गर्न जिल्ला भित्र अवैज्ञानिक भाडा दर पुनरावलोकन गरी समय सापेक्ष बनाउन, वर्षादका कारण भत्केका मोटर बाटोहरु छिटो छरितो सुचारु गर्न, चाडपर्वको बेला स्थानीय वितरण केन्द्रहरुमा चामल, नुनको अभाव हुन नदिन, महंगी कालाबजारी नियन्त्रण लगाएत जनसरोकारका विविध विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउने लगाएतका प्रस्तावहरु बैठकले पास गरेको अध्यक्ष खड्काले जानकारी दिएका थिए ।


Tagged
प्रतिकृया दिनुहोस्