News Portal

कोरोनाबाट जाजरकोटमा मृत्यु हुनेको संख्या २ पुग्यो

४१ जना सन्चो भएर आजै घर फर्किए

९४६ पटक

कोरोना संक्रमणबाट जाजरकोटमा मृत्यु हुनेको संख्या २ पुगेको छ । सोमबार नलगाड नगरपालिका–११ का एक वडा सदस्यको मृत्यु भएपछि जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो ।

कोरोना संक्रमणबाट भेरी नगरपालिका–४ सिर्जना टोलकी ४५ बर्षिय महिलाको यही बैसाख २२ गते मृत्यु भएको थियो । उपचारको लागि उनलाई नेपालगञ्ज स्थित अञ्चल अस्पतालमा पुर्याईएको थियो । समयमै अस्पताल पुर्याउन नसकेपछि उनको उपचारकै क्रममा नेपालगञ्ज स्थित अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।

त्यसैगरी कोरोना संक्रमणबाट नगरगाड नगरपालिका–११ का वडा सदस्यको सोमबार राति मृत्यु भएको छ । भौगलिक बिकटता, उपयुक्त स्वास्थ्य उपचारको अभावमा वडा सदस्यको मृत्यु भएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहले बताएका छन् । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरबाट नलगाड नगरपालिका पनि उच्च जोखिममा रहेको बताउदै प्रमुख प्रशासकीय अधिकृत सिंहले आगामी जेठ ३ गतेसम्मका लागि नलगाड नगर कार्यपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट प्रदान गरिने सबै सार्बजनिक सेवाहरु बन्द गरिएको जानकारी दिएका छन् । बुधबार सार्बजनिक सुचना प्रकाशित गरेर अधिकृत सिंहले २० जनालाई गरिएको एन्टीजेन परिक्षणबाट नलगाड नगरपालिकामा कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्थानीय नागरिक गरेर ९ जनालाई कोरोना पुष्टी भएको उल्लेख गरेका छन् ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय, जाजरकोटले बुधबार सार्बजनिक गरेको कोभिड–१९ को दैनिक प्रतिवेदनमा ४१ जना संक्रमितहरु सन्चो भएर घर फर्किएको उल्लेख गरेको छ भने, एन्टीजेन विधिबाट परिक्षणबाट आज १२ जनालाई कोरोना पुष्टी भएको जानकारी दिईएको छ । ११ चैत २०७६ देखि २९ बैसाख २०७८ सम्मको दैनिक प्रतिवेदनमा पिसीआर र एन्टीजेन परिक्षणबाट जिल्लामा संक्रमित ५ सय ५५ जना मध्ये २ सय ९ जना सन्चो भएर घर फर्केको उल्लेख गरिएको छ । जिल्लामा हाल सक्रिय संक्रमित ३ सय ३७ जनाको संख्यालाई उक्त दैनिक प्रतिवेदनमा देखाईएको छ ।

पिसीआरका लागि स्वाब संकलन गरिएका ६ हजार ५ सय ८६ जनामध्ये १ सय ६८ जनालाई कोरोना पुष्टी भएको दैनिक प्रतिवेदनले देखाएको छ भने, १ सय ११ जना सन्चो भएर घर फर्केका छन् । ७५ जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । त्यसैगरी एन्टीजेन विधिबाट १ हजार ६१ जनालाई गरिएको परिक्षणबाट ३ सय ६९ जनालाई कोरोना पुष्टी भएको दैनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । सन्चो भएर घर फर्कनेको संख्या ९८ जना रहेको उल्लेख गरिएको दैनिक प्रतिवेदनमा २ सय ६२ जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेको जानकारी दिईएको छ । उपचारका लागि जिल्ला भन्दा बाहिर रिफर गरिएका ९ जना रहेको उल्लेख गरिएको दैनिक प्रतिवेदनमा २ जनाको मृत्यु भएको उल्लेख छ ।

दैनिक प्रतिवेदनमा कोभिड–१९ उपाचारका लागि जिल्लामा रहेको एक अस्पतालमा १ सय ३ वटा आईशोलसन बेड मध्ये अक्सिजन सहितका ३३ वटा बेड र ७० वटा साधारण आइशोलेसन बेड रहेको उल्लेख गरिएको छ । ३ वटा आईसीयु कक्ष रहेको अस्पतालमा १ वटा भेन्टिलेटर कक्षमा १ वटा एचडीयू बेड र ५४ वटा अक्सिजन सिलिण्डर रहेको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्