News Portal

जाजरकोटमा कोरोना संक्रमितको संख्या ३३७ बाट ३०५ मा झ¥यो

५६५ पटक

जाजरकोटमा कोरोना संक्रमितहरुको संख्या बिहिबार ३३७ जनाबाट ३०५ मा झरेको छ । ३७ जना बिरामीहरु सन्चो भएर बिहिबार घर फर्केपछि ३३७ जना सक्रिय संक्रमितहरुको संख्या घटेर ३०५ मा पुगेको हो ।

जिल्लामा संक्रमितहरु सन्चो भएर घर फर्कने क्रम सुरु भएको छ । बुधबार मात्र ४१ जना सक्रिय संक्रमितहरु सन्चो भएर घर फर्केका थिए भने, बिहिबार ३७ जना सक्रिय संक्रमितहरु सन्चो भएर घर फर्केको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिएका छन् ।

एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट बिहिबार जिल्लामा ३ जनालाई कोरोना पुष्टी भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले बिहिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ । ११ चैत २०७६ देखि ३० बैसाख २०७८ सम्मको दैनिक प्रतिवेदन विवरणमा पिसीआर र एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट जिल्लामा ५५८ जनालाई कोरोना पुष्टी भएको उल्लेख गरिएको छ । पुष्टी भएकाहरुमध्ये २४६ जना संक्रमितहरु सन्चो भएर घर फर्केको दैनिक प्रतिवेदन विवरणमा देखाईएको छ । दैनिक प्रतिवेदन विवरणकानुसार जिल्लामा हाल ३०५ जना सक्रिय संक्रमित बिरामीहरु रहेका छन् ।

स्वाब संकलन गरेर ६ हजार ५ सय ८६ जनालाई गरिएको पिसीआर परिक्षणबाट १ सय ६८ जनालाई कोरोना पुष्टी भएको दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ भने, १ सय ११ जना सन्चो भएर घर फर्केका छन् । ७५ जना सक्रिय संक्रमितले होम तथा अस्पतालको आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । त्यसैगरी १ हजार ९८ जनालाई गरिएको एन्टीजेन परिक्षणबाट ३७२ जनालाई कोरोना पुष्टी भएको दैनिक प्रतिवेदन बिबरणमा उल्लेख गरिएको छ । एन्टीजेनबाट पुष्टी भएकाहरु मध्ये १३५ जना सन्चो भएर घर फर्केका छन् भने, २३० जना सक्रिय संक्रमितहरुले होम तथा अस्पतालको आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् दैनिक प्रतिवेदन विवरणमा भनिएको छ–‘उपचारका लागि जिल्ला भन्दा बाहिर ९ जनालाई रिफर गरिएको छ भने, २ जनाको मृत्यु भएको छ ।’

दैनिक प्रतिवेदन बिबरणमा कोभिड–१९ उपाचारका लागि जिल्लामा रहेको एक अस्पतालमा १०३ वटा आईशोलसन बेड रहेको जानकारी दिईएको छ । अक्सिजन सहितका ३३ वटा र ७० वटा साधारण आइशोलेसन बेड रहेको प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । ३ वटा आईसीयु कक्ष रहेको अस्पतालमा १ वटा भेन्टिलेटर कक्षमा १ वटा एचडीयू बेड र ५४ वटा अक्सिजन सिलिण्डर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिल्लामा जारी गरिएको निषेधाज्ञालाई आम नागरिकहरुले पूर्णरुपमा पालना गरेर मात्र फैलिदै गएको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सकिने प्रजिअ देवकोटाले बिश्वास व्यक्त गरेका छन् । परिक्षणको दायरालाई बढाउनु पर्ने धारणा राख्दै प्रजिअ देवकोटाले दायरा बढाउदा जिल्लामा दैनिक संक्रमितहरुको संख्या बढेता पनि लकडाउन तथा निषेधाज्ञाको पालना गरेरै मात्र संक्रमणलाई रोक्न सकिने भनाई राखेका छन् । स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्नुको साथै निषेधाज्ञाको पालना गर्न सकेमा मात्र कोरोना भाइरससंगको लडाईलाई जित्न सकिने प्रजिअ देवकोटाले दावी गरेका छन् ।

कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिदै गएको बताउदै भेरी नगर स्वास्थ्य शाखामा कार्यरत यज्ञ गौतमले कोरोना पहिचान गर्नु र पुष्टी हुनुले मात्रै पनि गाउँका नागरिकहरुमा सचेतना पैदा गरेको बताए । कोरोना पुष्टी भएका घरपरिवार निकै सचेत र साबधान भएका छन् गौतमले भने–‘पहिचान नगरिएका र पुष्टी नभएका घर परिवारमा ब्यक्तिगत दुरी कायम नगर्ने, मास्क तथा सेनिटाईजरको प्रयोग नगर्ने जस्ता व्यवहारहरु देखा परेका छन् ।’ पहिचान भएका संक्रमितहरुलाई प्रत्यक्ष भेटेर, मोवाईल सेवाबाट दैनिक स्वास्थ्य परामर्श सेवा दिने गरेको गौतमले जानकारी दिए । संक्रमित विरामीहरुले धुम्रपान, मध्यपान जस्ता पेयय पदार्थको सेवन गर्न नहुने, पोषणयुक्त फलफुल, अण्डा, गेडागुढीसंगै दुध, मौरीको मह, नियमित तातोपानी, प्रयाप्त मात्रामा झोलिलो खानेकुराहरु खानुपर्ने जस्ता परामर्श सेवा मोवाईलबाटै दिने गरेको गौतमले जानकारी दिएका छन् । रुघा, सुख्खा खोकी, ज्वरोका लक्षण देखिएका गाउँका बिरामीहरुलाई कोरोना परिक्षण गर्नुको सट्टामा गाउँका मेडिकलहरुले बिरामीहरुलाई टाईटफाईडको औषधी खुवाउने, सलाईन लगाउने गर्नुले झनै बिरामीहरुलाई गाह्रो हुने गरेको गौतमको भनाई रहेको छ ।

छिप्रेनामा १३ जनालाई कोरोना पुष्टी
भेरी नगरपालिका–५ छिप्रेनामा १३ जनालाई कोरोना पुष्टी भएको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले बिहिबार गरेको परिक्षणबाट १३ जनालाई कोरोना पुष्टी भएको हो ।

बिहिबार स्वास्थ्य शाखाले छिप्रेनामा ३२ जनालाई गरेको एन्टीजेन परिक्षणबाट १३ जनालाई कोरोना पुष्टी भएको यज्ञ गौतमले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्